नेपालको कमजोर ब्याटिङ

काठमाडौं, २०७२ असार १८,

नेपाली सिनियर क्रिकेट टोली अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताकै खराब इतिहास लेखाउनबाट बचेको छ । नेदरल्यान्डसँगको बुधबार भएको दोस्रो अभ्यास खेलमा नेपाल १०३ रनको विशाल अन्तरले पराजित भयो । लजास्पद हार बेहोरेको नेपाली टोली टी–२० क्रिकेटकै न्यून योगफलबाट बचेको हो । १७३ रनको लक्ष्य पछ्याएको नेपाल एक समय २९–७ को दयनीय स्थितिमा थियो । टी–२० संस्करणमा नेदरल्यान्डको नाममा सबैभन्दा कम रन बनाएको कीर्तिमान छ । गत वर्ष श्रीलंकाविरुद्ध नेदरल्यान्डले ३९ रन मात्र बनाएको थियो । नेपालको सुरुवाती सात विकेट सस्तैमै खसेपछि नेदरल्यान्डका बलर हौसिएका थिए । उनीहरू नेपाललाई ३९ रनभन्दा कम योगफलमा अलआउट गर्ने प्रयासमा थिए । तर, सोमपाल कामी र शरद भेसवाकरले आठौँ विकेटका लागि २० रन जोड्दै नेपालको नाममा रेकर्ड बन्ने सम्भावनालाई टारे । दुवै ब्याट्सम्यानले नेपाललाई जित दिलाउन सकेनन् । नेदरल्यान्डले नेपालाई १७.४ ओभरमा ६९ रनमै अलआउट गर्‍यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १२, शरदले १८ तथा सोमपालले १४ रन बनाएका थिए । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सो इनिङमा नेपालका ब्याट्सम्यानले पाँचपटक मात्र बललाई बाउन्ड्री कटाए । ज्ञानेन्द्रले तीन चौका, सोमपालले एक चौका र शरदले एक छक्का प्रहार गरेका थिए । नेदरल्यान्डका लागि स्वार्टले सर्वाधिक ७६ रन बनाए । कुपरले ४६ बलमा ६६ रनको योगदान दिए ।

स्रोत : नया पत्रिका

Related posts