एजेन्सी एडमन्टन, २०७२ असार १८,
साबिक विजेता जापानले महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि रक्षाका लागि अमेरिकाको सामना गर्ने भएको छ । क्यानडामा सञ्चालन भइरहेको महिला विश्वकपको सेमिफाइनलमा बुधबार जापान र अमेरिकाले आ–आफ्नो प्रतिद्वन्द्वीलाई स्तब्ध पार्दै फाइनलको स्थान पक्का गरेका हुन् । जापानले इंग्ल्यान्डलाई २–१ ले हरायो । दुईपटकको विजेता अमेरिकाले जर्मनीमाथि २–० को जित निकाल्यो । साबिक विजेता जापान भाग्यमानी रह्यो । इंग्लिस डिफेन्डर लाउरा बासेटले खेलको अन्तिम इन्जुरी समयमा आफ्नै पोस्टमा गोल गर्दा जापान २–१ ले विजयी भएको हो । अन्तिम इन्जुरी समय सकिन केही सेकन्ड मात्र बाँकी रहेको अवस्थामा लाउराले आत्मघाती गोल गरिन् । खेलको खेलको ३३औँ मिनेटमा जापानले पेनाल्टी गोल गर्दै १–० को अग्रता लियो । सो पेनाल्टी निकै विवादास्पद रह्यो । जापानिज स्ट्राइकर मियामालाई डिबक्स लाइनभन्दा बाहिर इंग्लिस डिफेन्डरले लडाएकी थिइन् । तर, रेफ्रीले जापानको पक्षमा पेनाल्टी अवसर प्रहार गर्न दिए । खेलको ४०औँ मिनेटमा इंग्ल्यान्डले पनि पेनाल्टी गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्यायो । इंग्ल्यान्डकी स्टेफ होगटनले १–१ का लागि पेनाल्टी प्रहार गरिन् ।
स्रोत : नया पत्रिका