काठमाडौ, २०७२ असार १८,
चीनले आफ्नो भूभागमा रहेका तीन सयभन्दा बढी कन्टेनर दुई दिनभित्र छुटाउन नेपाललाई ‘अल्टिमेटम’ दिएको छ । बाह्रबिसे–तातोपानी खण्ड सडक खुलाएर कन्टेनर छुटाउन
ढिलाइ भएपछि ल्हासास्थित वाणिज्यदूत हरिप्रसाद बस्यालमार्फत चीनले ‘अल्टिमेटम’ दिएको हो ।
कन्टेनर छुटाउन भन्दै चिनियाँ अधिकारीहरू गत शनिबार खासा आएका थिए । सडक अवरुद्ध भएपछि नेपालको अनुरोधमा उनीहरूले केही दिन पर्खने बताएका थिए । सातासम्म सडक नखुलेपछि आफूहरू जोखिम मोलेर खासामा बस्न नसक्ने जनाउँदै अधिकारीहरू ४० किमि टाढास्थित कुती फर्केका थिए । उनीहरू हाल त्यहीँ बस्दै आएका छन् । भूकम्पपछि चीनको खासा बजारको बस्ती दुई महिनाअघि नै अन्यत्र स्थानान्तरण गरिसकिएको छ । उनीहरू कन्टेनर छुटाउन मात्र खासा आउने तयारीमा कुतीमा बसेका हुन् । ‘चिनियाँ अधिकारीले शुक्रबार कन्टेनर छाड्ने प्रक्रिया सुरु गर्न भनेका छन्,’ वाणिज्यदूत बस्याललाई उद्धृत गर्दै तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले भने, ‘सडक खोल्न नसक्दा कन्टेनर ल्याउन सकिएन ।’
बाह्रबिसे–तातोपानी खण्ड सडकको पहिरो हटाउँदै डोजर डेढ साता लगाएर बिहीबार मितेरीपुल पुगेको छ । माथिल्लो भागको पहिरो हटाएलगत्तै राजधानीबाट ९९ किमि नयाँ पुलमा ठूलो पहिरो गएको छ । ‘डाँडै झरेको छ,’ सडक डिभिजन बाह्रबिसे साइट कार्यालयका सबइन्जिनियर श्रवण मण्डलले भने, ‘वर्षा नरोकिएकाले उक्त पहिरो हटाउन एक/दुई दिन लाग्न सक्छ ।’ उक्त पहिरोबाट मितेरी पुल पुग्न १४ किमि पार गर्नुपर्छ । चिनियाँले आफ्नो भूभागमा भन्सार जाँच गरेका १ सय ८१ कन्टेनर सडकमा छन् । जाँच गर्न बाँकी लोड गरिएको १ सय ४० कन्टेनर छन् । चिनियाँले दिएको जानकारी अनुसार खासा गोदाममा करिब डेढ सय कन्टेनरजति सामान छन् । झन्डै २ अर्बभन्दा बढीको सामान सडक र खासा गोदाममा रहेको अनुमान छ । सडक खोलेर सामान छुटाउन भन्सार, अध्यगमन र नेपाल हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीले सीमा क्षेत्रमा चिनियाँ अधिकारीसँग भेटेका थिए । व्यवसायी र सडकको पहलमा तातोपानी क्षेत्रमा नयाँ ठाउँबाट सडक बनाएर कन्टेनर ल्याउने प्रयास गरिएको छ । सीमापारका अध्यक्ष विष्णुबहादुर खत्रीले भने, ‘ठूलो जोखिम मोलेर पहिरो पन्छाएका छौं । स्थानीय घट्टे खोलामा नयाँ ठाउँबाट सडक बनाइएको छ । थप पहिरो आएर सडक छोपेपछि समस्या थपिएको छ ।
खासा क्षेत्रमा रहेको कन्टेनरको व्यापारिक सामानको अवस्था यकिन हुन सकेको छैन । रमितेमा पार्किङ गरिएका कन्टेनर भूकम्प पछिको पहिराले छियाछिया छन् । कन्टेनर भित्रका सामान सडकमा छरिएका छन् । ‘एउटै व्यवसायीले लाखौं रुपैयाँ घाटा बेहोर्नुपर्ने अवस्था छ,’ अध्यक्ष खत्रीले भने, ‘जतिसक्दो कन्टेनरहरू नेपाल भित्र्याउने कोसिस गरिरहेका छौं ।’ उनकै नेतृत्वमा सीमासम्मको सडक पन्छाइएको थियो ।
स्रोत : कान्तिपुर