‘पुनर्निर्माण’ दूत भए हमाल  

काठमाडौं, २०७२ असार १७,

अभिनेता राजेश हमाल ‘बिल्डिङ ब्याक राइट’ नामक पुनर्निर्माण अभियानका सद्भावना दूत घोषित भएका छन्। हमाललाई दूत घोषणा गर्दै भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्ने उद्देश्यका साथ बुधबार काठमाडौंमा उक्त अभियानको थालनी गरिएको हो। हमालले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको हातबाट दूतको प्रमाणपत्र ग्रहण गरे।

‘भवनहरु प्राविधिक र वातावरणीय रुपमा उत्कृष्ट र हाम्रो संस्कृतिलाई प्रतिविम्बित गर्ने खालको हुनुपर्छ,’ दूत घोषणापछि हमालले भने, ‘निर्माण क्षेत्रमा बालबालिकाको प्रयोग भइरहेको हुनसक्छ त्यसैले कस्तो खाले श्रम प्रयोग भइरहेको छ र अधिकार तथा न्याय पक्षलाई ख्याल गरिएको छ कि छैन, त्यसमा पनि ध्यान दिन जरुरी छ।’

‘बिल्डिङ ब्याक राइट’ स्वयंसेवीहरुले चलाएको एउटा अभियान हो, जसले जनता, अन्तर्राष्ट्रिय दातृ निकाय र नेपाल सरकारलाई सांस्कृतिक सम्पदा, आचारसंहिता र पर्यावरण पक्षमा समेत ध्यान दिँदै सुरक्षाको पूर्ण व्यवस्थासहित पुनर्निर्माण कार्य चलाउन उत्प्रेरित गर्नेछ।

‘सही कदम र सही जीवनशैलीमा आधारित छ यो अभियान, कतिपयले अहिले यी कुरामा चिन्ता गर्नु बेकार छ भन्लान्, तर आचारसंहिता र सांस्कृतिक पक्षलाई पालना गर्नु यो नै सही समय हो,’ अभियानका सहसंस्थापक होमराज आचार्यले भने।

हमालले आचार्यको कुरामा सहमति जनाए। ‘हामी भन्दैछौं, हामी भविष्यमा मजबुत भएर उभिनेछौं, तर होइन हामी आज र अहिलेदेखि नै जुर्मुराउन आवश्यक छ। पुनर्निर्माणका गतिविधि तत्काल थाल्नुपर्छ।’

प्रमुख अतिथि वामदेवले भने, ‘यो अभियानको निकै खाँचो छ। पुनर्निर्माण कार्यलाई तीब्रता दिइनुपर्छ।’ कार्यक्रममा पूर्वमन्त्री अर्जुननरसिंह केसी, एकीकृत माओवादीका नेता राम कार्की, अभिनेत्री सुष्मा कार्की, राजेन्द्र खनाल, किशोरकुमार झालगायत पनि उपस्थित थिए। अभियान ठिक रहेको तर यसलाई राजनीतिक रुपले पनि सन्तुलित बनाउन आवश्यक रहेको नेता कार्कीले बताए।

स्रोत : नागरिक

Related posts