काठमाडौं, २०७२ असार १७,
नेपाल उद्योग वाणिज्य महासंघको भावी अध्यक्षका दुई प्रत्यासीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका भवानी राणा र भाष्करराज राजकर्णिकारले उम्मेदवारी फिर्ता लिएका हुन् । यससँगै अब महासंघको भावी अध्यक्षमा पशुपति मुरारका सर्वसम्मत चयन हुने पक्का भएको छ । राणाले गुलरिया उद्योग वाणिज्य संघ र राजकर्णिकारले नेपाल विज्ञापन संघका तर्फबाट महासंघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । तर, भावी अध्यक्ष सर्वसम्मत रूपमा मुरारकालाई बनाउने सहमति भएपछि दुवैजनाले उम्मेदवारी फिर्ता लिएका हुन् । राणालाई वरिष्ठ उपाध्यक्ष दिने र राजकर्णिकारको अनुभवलाई समेत महासंघले स–सम्मान उपयोग गर्ने गरी सहमति जुटेपछि उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । दुवै उम्मेदवारले बुधबार आफ्नो मनोनयन फिर्ता लिएको महासंघको प्रमुख निर्वाचन अधिकृत गोविन्द पाण्डेले जानकारी दिए । ‘उहाँहरू दुवैजना (राणा र राजकर्णिकार) ले आफ्नो मनोनयन फिर्ता लिनुभएको छ,’ उनले भने, ‘अब महासंघको अध्यक्षका लागि हुने निर्वाचनमा एकजना मात्रै उम्मेदवार हुनुहुन्छ ।’ तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचार मुद्दामा पक्राउ परेपछि महासंघको अध्यक्ष पद रिक्त छ । महासंघको १८ असारमा हुने विशेष साधारणसभाले नयाँ अध्यक्ष चयन गर्नेछ । दुवै उम्मेदवारले मुरारकालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्न आ–आफ्नो उम्मेदवारी फिर्ता लिएको उनीहरूले बताए । उनीहरूले संस्थागत एकता र निजी क्षेत्रको हितका लागि उम्मेदवारी फिर्ता लिएको बताए ।
स्रोत : नया पत्रिका