दाङ, २०७२ असार १७,
रुकुम भुइबाङका कर्म पुन एक्लैले पोहोर साल यार्सा संकलनबाट ५० हजारभन्दा बढी आम्दानी गरे। पोहोर सालको आम्दानीले यसपालि पनि उनको मन यार्सातिरै तानियो। चैत अन्त्यतिर यार्सा खोज्न उनी रुकुम र डोल्पाको सिमानामा पर्ने मैकोटस्थित हिमाल चढे।
यार्सा खोज्न समुन्द्री सतहदेखि ४ हजार ५ सय २३ मिटर उचाइमा रहेको जाउला भन्ज्याङ पुगेपछि कर्म एकाएक बिरामी परे। हिमाली ठाउँ। अत्यधिक चिसो। श्वासप्रश्वासमा समस्या देखियो। टाउको दुख्ने र ज्वरो आउने समस्याले उनी त्यहाँ टिक्नै सकेनन्। चिसोले थलिएपछि उनलाई सहयात्रीहरुले घर ल्याइपुर्याेए। साताअघि घर ल्याइएका कर्मको औषधिमूलो भैरहेको थियो तर अवस्था नाजुक भैसकेकाले भोलिपल्टै मृत्यु भयो।
‘हिमाली ठाउँ अत्यधिक चिसोले बिरामी परेर आएका रहेछन्,’ कर्मको मृत्युबारे अनुसन्धान गरेका रुकुम रन्मामैकोट प्रहरी चौकीका प्रहरी जवान कुलबहादुर थापाले नागरिकसँग भने, ‘त्यही बिमारकै कारण मृत्यु भएको हो।’ कर्म केही वर्षयता लगातार यार्सा संकलन गर्न हिमाल उक्लिरहेका थिए। यसपाला भने हिमाली यात्रा सुखद् बनेन। मनग्य कमाउने लोभले यार्सा संकलनका लागि हिमाल चढेका २५ वर्षीय कर्मको धेरै कमाउने सपना भताभुंग भएसँगै मोलेको जोखिमले ज्यानै गयो।
कर्म मात्रै हैन, हिमाली बुटी यार्सा संकलनका लागि जानेहरुले ज्यानकै बाजी लगाउनु पर्छ। रुकुमकै अर्का एक वृद्धले पनि यस वर्ष ज्यान गुमाउनु पर्योा। ५० नाघेका ती वृद्ध पनि यार्सा संकलनका लागि हिमाल उक्लिएका थिए। बुढ्यौली उमेर। हिमाल चढ्नुको ‘सकस’ले उनी गल्दै गए। त्यसमाथि बढी उचाइमा अक्सिजनको अपर्याप्तताले उनको श्वास प्रश्वासमा समस्या आयो। मुटु ठिहिर्यारउने चिसो उस्तै। ती वृद्धको उतै मृत्यु भयो। ‘ती व्यक्तिको नाम खुलेको छैन,’ प्रहरी जवान थापा भन्छन्, ‘उनको पनि चिसो र अक्सिजनको अपर्याप्तताका कारण श्वासप्रश्वासको समस्याले मृत्यु भएको खुलेको छ।’
उनीहरु मात्रै हैनन् प्रहरीका अनुसार यार्सा संकलनका लागि मैकोटस्थित हिमाल चढेका कतिपय अस्वस्थ बनेर घर फर्किसकेका छन् भने केही उतै बिमारले थलिएका छन्। ‘यार्सा संकलनका लागि गएकाहरु अरुमा पनि चिसोका कारण ज्वरो आउने, टाउको दुख्ने समस्या भएको खबर आएको छ,’ थापा भन्छन्, ‘केही त बिरामी अवस्थामै फर्केकाहरु पनि छन्।’
यार्साकै लागि हिमाल उक्लेका रुकुम मैकोटका खिरी पुन धन्न जोगिए। सख्त बिरामी परेपछि साथीहरुले बोकेर घरमा ल्याइएका उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ। अत्यधिक चिसोका कारण उनलाई पनि ज्वरो आउने र टाउको दुख्ने समस्या सुरु भएको थियो। यार्सा संकलनको काम सुरु गरेको केही दिनमै बिरामी परेका उनी शिविरमै थलिएका थिए। ज्यान जोगिएकोमा भाग्यमानी ठान्ने उनले भने, ‘पैसाभन्दा ज्यानै ठूलो हो। धन्न ज्यान जोगियो यसैमा खुसी छु।’
यार्सा संकलनका लागि हिमाल चढ्ने संकलकहरुलाई मुख्य चुनौती हिमाली चिसो बन्ने गर्दछ। बस्ती छोडेर हिमाल उक्लेकाहरुलाई हिमाली चिसोले समात्छ। सामान्य अवस्थाबाट उक्त चिसोमा घुलमिल हुन नसक्दा अधिकांश संकलकहरु बिरामी पर्ने गर्दछन्। चिसोकै कारण रुकुममा बर्षेनी संकलकहरुले ज्यान गुमाइरहेका छन्। यस वर्ष दुई जनाको ज्यान गएको मैकोटस्थित हिमालमा गत वर्ष पनि रोल्पाका दुई जना यार्सा संकलकले ज्यान गुमाएको प्रहरीले जनाएको छ। उच्च हिमाली क्षेत्रमा अक्सिजनको अपर्याप्तताका कारण संकलकहरुलाई श्वासप्रश्वासमा समस्या हुने गर्दछ। यसमा लागेकाहरु भन्छन्, ‘हत्केलामा ज्यान राखेर हिमाल चढ्नु पर्छ।’
स्वास्थ्यसँगै यार्सा संकलनका लागि भौतिक सुरक्षाको चुनौती पनि हुने गरेको छ। हिमाली क्षेत्रमा हुने लुटपाटको जोखिमले संकलक तथा यार्सा व्यापारीहरु असुरक्षित रहने गर्दछन्। यस वर्ष भने रुकुममा यार्सा संकलकमाथि ‘तस्कर आक्रमण’को घटना नभए पनि गत वर्ष दुई लुटेरा समूहबीच एकअर्कामाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी गोविन्द थपलिया बताउँछन्। उनका अनुसार यार्सा संकलक तथा व्यापारीलाई लुट्ने तयारीका साथ हिमाल उक्लिएका दुई समूहबीच झडप भएको थियो। झडपका क्रममा अत्याधुनिक हतियार समेत प्रयोग भएको थियो। घटनामा प्रयोग गरिएको एम—१६ नामक अत्याधुनिक हतियारको गोली लागी सिन्धुपाल्चोक बाह्रबिसेका हर्कबहादुर लामा मारिएका थिए। लामा लुटेरा समूहका रहेको थपलियाले जानकारी दिए। ‘लुट्नकै लागि हिमाल उक्लेका बेला दुवै समूहको भेट भएपछि आक्रमण भएको थियो,’ थपलियाले भने, ‘घटनामा प्रहरीले एम–सिक्सटिन बन्दुकको गोलीसहितका हतियार बरामद गरेको थियो।’
उनीहरुबीच पुरानो दुश्मनीका कारण झडपको स्थिति सिर्जना भएको थपलियाले बताए। आक्रमणमा संलग्न १० जनामध्ये ४ फरार रहेको र फरार मध्येका १ जनालाई प्रहरीले केही दिनअघि मात्रै यार्सा संकलन क्षेत्रबाट समातेको छ। थपलियाले भने, ‘अरु तीन जना भने अहिले पनि फरार छन्।’
उक्त घटनाकै कारण भागाभाग मच्चिदा केही यार्सा संकलकहरु हराएको र पछि केहीको शव फेला परेको थियो। सो आक्रमणलाई मध्यनजर गर्दै यस वर्ष प्रहरीले यार्सा संकलन क्षेत्रमा व्यापक सुरक्षा रणनीति अपनाएको बताइएको छ। रुकुमका प्रत्यक सीमा क्षेत्रमा सुरक्षा पोस्ट स्थापना गरिएको जनाउँदै डिएसपी थपलियाले संकलन क्षेत्रमै प्रहरी खटाइएको जनाए।
यस वर्ष प्रहरीले यार्सा संकलन क्षेत्रमै १६ जना प्रहरी खटाएको छ। यार्सा संकलन अवधिभरका लागि मात्रै प्रहरी खटाइएको हो। यार्सा संकलन क्षेत्र पुपाल, अरबिजा र पुर्वाङ गरी तीन स्थानमा सुरक्षाका लागि प्रहरी बसेको छ। त्यहाँ खटिएका प्रहरीले यार्सा संकलक तथा व्यापारीहरुको सुरक्षा रेखदेख गर्दछन्। ‘व्यापारीहरु यार्सा खरिदका लागि मोटो रकम बोकेर हिमाल उक्लेका हुन्छन्,’ थपलियाले भने, ‘उनीहरु जतिबेला पनि लुटिन सक्ने भएकाले आउजाउका क्रममा स्कर्टिङ समेत गर्ने गरिएको छ।’ यार्सा संकलनका क्रममा तस्करहरुको ठूलो चलखेल हुने भन्दै थपलियाले संकलकहरुबाटै यार्सा खोसेर लैजाने र आँफूले बेचविखन गर्ने सम्मका घटनाहरु समेत हुने गरेको बताए।
रुकुमको मैकोट यार्सा संकलनको प्रमुख गन्तव्य हो। वर्षेनी सात हजारको हाराहारीमा यार्सा संकलनका मैकोट पुग्ने गर्दछन्। रुकुमसँगै, राप्तीका रोल्पा, सल्यान, तथा रुकुमसँग सीमा जोडिएका डोल्पा, बागलुङ जिल्लाबाट यार्सा संकलनका लागि सर्वसाधारण त्यहाँ पुग्ने गरेको प्रहरी बताउँछ। यसअलावा सिन्धुपाल्चोकबाट समेत संकलकहरु त्यहाँ पुग्ने गरेको डिएसपी थपलियाले बताए। गत वर्ष ७ हजार ५ सय संकलकहरु यार्सा संकलनका लागि पुगेको भए पनि यस वर्ष भने संकलकको संख्या कम भएको प्रहरीले बताएको छ। चैत अन्त्यदेखि असार मसान्तसम्म यार्सा संकलन गर्ने गरिन्छ। यार्सा संकलनका लागि हिमाल उक्लेका संकलकहरु अब फर्कने बेला भैसकेको प्रहरीले बताएको छ।
स्रोत : नागरिक