बर्लिन, २०७२ असार १७ ,
फिफा अध्यक्ष सेप ब्लाटरले आफूलाई भष्टाचारी प्रमाणित गर्न चुनौती दिएका छन् । फिफामा भएका भ्रष्टाचार र आर्थिक लेनदेनका विषयमा आफूले गल्ती नगरेको ब्लाटरले स्पष्ट पारेका छन् । ‘एफबिआई र स्विट्जरल्यान्ड प्रहरीले मलाई भ्रष्टाचारी प्रमाणित गर्नुपर्यो,’ बुधबार जर्मन म्यागेजिन वुन्टेसँग कुराकानी गर्दै ब्लाटरले भने, ‘मलाई पनि थाहा छ, अनुसन्धान कसरी भइरहेको छ ।’
गत शुक्रबार ब्लाटरले अप्रत्याशित रूपमा फिफा अध्यक्षबाट राजीनामा नदिएको प्रतिक्रिया दिँदै सनसनी मच्याएका थिए । २ जुनमा जुरिचमा केवल अध्यक्षबाट पछाडि मात्र हटेको उनको भनाइ छ । ७९ वर्षीय ब्लाटरले भ्रष्टाचारका सम्बन्धमा कसैसँग नडराउने र पछि नहट्ने चेतावनी दिएका छन् । ‘कसैले मलाई भ्रष्टाचारी अध्यक्ष भनी प्रश्न गर्दा त्यसको जवाफ दिन सक्छु,’ उनले भने, ‘व्यक्तिलाई भ्रष्टाचारी भन्नुअघि प्रमाणित गर्नुपर्छ, त्यसपछि मात्र भ्रष्टाचारीको ट्याग दिने हो ।’
जर्मन पत्रिकासँगको अन्तर्वार्तामा ब्लाटर निकै आक्रोशित देखिए । उनले कसैले भ्रष्टाचारी प्रमाणित गरे आफ्नो टाउको काटेर फ्याँक्नेसम्मको अभिव्यक्ति दिएका छन् । ‘म फेरि भन्छु, जब मलाई कसैले भ्रष्टाचारी प्रमाणित गर्छ, तत्कालै आफ्नो टाउको काट्छु,’ उनले भने, ‘तर, मलाई थाहा छ, त्यो दिन आउनेछैन ।’
४ दशक फिफामा रहँदा आर्थिक चलखेल नगरेको उनले दोहोर्याएका छन् । फिफामा इमानदारीका साथ काम गरेकै कारण आफूमाथि कसैले औँला उठाउन नसकेको उनले बताए । ‘मलाई कसैले पनि भ्रष्टाचारी भन्न सक्दैनन् किनभने मैले भ्रष्टाचार गरेकै छैन,’ ब्लाटरले भने ।
एफबिआईको अनुसन्धानमा ब्लाटर बाहिर नै छन् । तर, फिफाकै १९ सदस्यमाथि छानबिन भइरहेको छ । तीन पदाधिकारीद्वारा दुई दशकदेखि भ्रष्टाचार गरेको आरोप एफबिआईले लगाएको छ । एसिया र अफ्रिकन फुटबल संघका पदाधिकारीले व्यापक भ्रष्टाचार गरेको एफबिआईले जनाएको छ । अमेरिकन र पश्चिमेली अन्तर्राष्ट्रिय मिडियाले फिफामा कार्यरत कर्मचारीलाई भ्रष्टाचारी बनाउने अभियान चलाएको आरोप ब्लाटरले लगाएका छन् ।
यसका साथै वर्तमान अवस्थासँग आफू लड्न तयार रहेको उनले जनाए । ‘अहिलेको अवस्थासँग म परिचित छु, यो स्थिति सिर्जना हुनको पछाडि विदेशी एजेन्सीको हात प्रमुख मान्छु,’ ब्लाटरले भने, ‘लन्डन र अमेरिकाले विश्वकप फुटबल गर्न नपाएकै कारण उनीहरूले फिफालाई निराश बनाए ।’
स्रोत : नया पत्रिका