ताजा खबर

भन्सार खुलेको ४० वर्षपछि पहिलो राजस्व  

पोखरा, २०७२ असार १७,

मुस्ताङको एक भन्सार कार्यालयले खुलेको ४० वर्षपछि पहिलोपल्ट राजस्व संकलन गरेको छ। लोमान्थाङमा २०३२ सालमा खोलिएको नेचुङ भन्सार कार्यालयमा कर्मचारी नबस्दा अहिलेसम्म एक पैसा राजस्व संकलन भएको थिएन।

सीमा प्रशासन कार्यालय लोमान्थाङका प्रमुख कृष्णराज ढकालले यसपालि भन्सारले पहिलोपटक करिब एक लाख रुपैयाँ राजस्व संकलन गरेको बताए। अघिल्लो सातादेखि तिब्बतको डामकोलामा चलेको व्यापार मेलाबाट सामान किनेर फर्केका नेपाली व्यापारी र सर्वसाधारणले उक्त राजस्व तिरेका हुन्।

‘पहिलोपटक राजस्व संकलन भएको छ। ४० वर्षअघि स्थापना भएको भन्सारको राजस्व अहिलेसम्म शून्य थियो,’ उनले भने, ‘यसपटक भन्सार कार्यालयमा कर्मचारी खटिएपछि राजस्व उठाउन सम्भव भएको हो।’

नेपाल र तिब्बतको सिमाना लोमान्थाङबाट करिब ११ किलोमिटर पर चिनियाँ भूभागमा अघिल्लो सोमबारदेखि एक सातासम्म व्यापार मेला चलेको थियो। त्यही मेलामा गएर फर्किने स्थानीयले ल्याएको सामानबाट भन्सार महसुल असुल गरिएको हो। उक्त मेलामा घरायसी सामान, लत्ताकपडा किनबेच भएको थियो। घोडासमेत किनबेच हुने मेला हेरेर फर्केकाहरु बताउँछन्। नेपालीलाई कडाइका साथ चेकजाँच गरेर मेलामा जान दिइएको थियो।

सीमा प्रशासन प्रमुख ढकालका अनुसार नेपालले दैनिक उपभोग्य वस्तु लगायतका सामान पुर्याडउन नसक्दा लामो समयसम्म माथिल्लो मुस्ताङ क्षेत्रका बासिन्दाले तिब्बतबाटै घरायसी सामान ल्याए। भन्सारमा कर्मचारी नहुँदा राजस्व तिर्नु परेको थिएन। नाकाबाट सामान आयात हुने देखेर सरकारले चार दशकअघि नै त्यहाँ भन्सार कार्यालय खोलेको थियो। तर कर्मचारी बस्दैनथे।

‘बाह्रै महिना कर्मचारी बस्न असम्भव छ। त्यसैले सकेसम्म आउनै मान्दैनथे। आएका पनि लेक लाग्ने डरले बस्दैनथे,’ ढकालले फोनमा भने, ‘त्यही भएर नाम मात्रको भन्सार थियो।’ भन्सार कार्यालयमा चारजनाको दरबन्दी छ।

अहिले व्यापार मेलाको मौका पारेर तिब्बतले नाका खोलेर नेपाली व्यापारी र स्थानीयलाई जान दिएको हो। भन्सारमा अब नियमित रुपमा कर्मचारी बस्ने पनि उनले जानकारी दिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले मोटरबाटो पुग्नुअघि माथिल्लो भेगका बासिन्दाले तिब्बतबाट दैनिक उपभोग्य वस्तुदेखि भेडाच्यांग्रा समेत आयात गर्ने गरेको बताए। नेपालबाट थोरै परिमाणमा ऊन, पस्मिना छाला निर्यात हुन्थ्यो। तर दुवै देशले भन्सार महसुल उठाएका थिएनन्।

माथिल्लो मुस्ताङका बासिन्दा इन्द्रधारा विष्टका अनुसार केही दशकअघिसम्म तिब्बतबाट नुन, उन, भेडाच्यांग्रा नेपाल आयात हुन्थ्यो। नेपालीले त्यसको सट्टामा अन्नपात दिन्थे। चीनले तिब्बतको विकासलाई प्राथमिकता दिएर काम गर्न थालेपछि नेपालीसँग अन्न साट्न रोकिएको छ।

‘अहिले तिब्बतबाट मात्र आयात हुन्छ। नेपालबाट निर्यात गर्ने केही छैन’ विष्टले भने, ‘च्यांग्राको छाला, पस्मिना, यार्सागुम्बा मात्र निर्यात हुने हो। त्यो पनि पर्याप्त नभएपछि नेपालतर्फको निर्यात लगभग ठप्प छ।’

स्रोत : नागरिक

Related posts