ताजा खबर

‘जबरजस्ती संविधान ल्याए जलाइन्छ’

वीरगन्ज, २०७२ असार१७,

संघीय समाजवादी फोरम नेपालले चार दलले बहुमतको आडमा जबरजस्ती संविधान जारी गरे जलाउने चेतावनी दिएको छ। वीरगन्जमा बुधबार आयोजित कार्यकर्ता भेलामा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने, ‘चार दलले जबरजस्ती संविधान जारी गर्छन् भने त्यो संविधान मधेस र पहाडका गल्लीगल्लीमा जलाइन्छ।’

उनले संघीयताविरोधी संविधान नेपाली जनताले कदापि नस्वीकार्ने बताए। उनले भने , ‘मधेस आन्दोलनबाट प्राप्त उपलब्धि संघीयता र समावेशी रक्षाका लागि हामी जुनसुकै हदसम्म जान तयार छौं।’ संघीयता समाप्त पार्ने षड्यन्त्रअनुसार नै मंगलबार राति संविधानसभाको बैठकमा चार दलले मस्यौदा पेस गरेको उनको आरोप छ।

पार्टीका वरिष्ठ नेता अशोक राईले पनि संविधानसभामा पेस भएको मस्यौदा संघीयताविहीन र एकल जातीय भएकाले त्यस आधारमा बन्ने संविधान स्वीकार्य नहुने बताए ।

यसैबीच मधेसवादी दलहरूले वीरगन्जमा बुधबार संविधानको मस्यौदा जलाएका छन्। संघीय समाजवादी फोरम नेपाल र सद्‌भावना पार्टीले वीरगन्जको घन्टाघरचोकमा मस्यौदा जलाएका हुन्। चार दलले बहुमतको आडमा पहिचानबिनाको संघीयतासहितको संविधान बनाउने षड्यन्त्र गरेको भन्दै उनीहरूले मस्यौदा जलाएका हुन्।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *