ताजा खबर

फेरि आइटमको लहर           

२०७२  असार १७,

केही समयअघि नेपाली फिल्ममा आइटम डान्सले निकै ठाउँ लिएको थियो । ‘एटिएम’ताका बनेका लगभग सबै फिल्ममा कुनै न कुनै बहानामा आइटम डान्स हालिएको थियो । अलि धेरै एक्सपोज, शब्द पनि दुईअर्थी लाग्ने तथा अश्लीलतालाई प्रश्रय दिई तयार पारिएका आइटम डान्सले दर्शक ओइर्‍याउँछ भन्ने भ्रम निकै व्याप्त थियो । तर, बीचमा फिल्म व्यापारमा आएको गिरावट तथा आइटमजन्य गीतप्रति बढेको दर्शकको वितृष्णाका कारण पछिल्लो समय कथामा अधिक माग भए मात्र आइटम डान्स राख्ने गरिएको छ । आइटम डान्स गर्ने नृत्यांगना तथा हिरोइनको सूची लामो छ । लुटमा समावेश उध्रेको चोली..पछि सुष्मा कार्की केही समय आइटम गर्लका रूपमा कहलिइन् । यद्यपि, लुटअघि नै उनी के यो माया हो, ब्याच नम्बर १६ लगायतका फिल्ममा प्रमुख भूमिकामा प्रस्तुत भइसकेकी थिइन् । तर, उनलाई लुटको सोही गीतले धेरै चर्चामा ल्यायो । त्यसपछि पनि सुष्माले बाउन्सर, राजनीति, बिन्दास–२, नोटबुकलगायतका थुप्रै फिल्ममा आइटम डान्स गरिन् । तर, पछिल्लो समय उनको आइटम सेलाएको छ । आइटम डान्सभन्दा बढी उनी अभिनय नै गर्न चाहन्छिन् ।

‘आइटम डान्स ग्ल्यामरस हुने भएकाले दर्शकले इन्जोय गर्छन्,’ राजनीति फिल्ममा सुष्माको आइटम डान्स समावेश गरेका निर्देशक वसन्त निरौला भन्छन्, ‘फिल्मलाई मनोरञ्जक बनाउनका लागि आइटम डान्सले मद्दत गर्दछ ।’ आफू आइटम डान्सको पक्षमा रहेको उनी बताउँछन् । अर्का निर्देशक मधसूदन भट्टराई पनि आइटम डान्सले फिल्ममा छुट्टै रौनक थप्ने बताउँछन् । आफ्नो निर्देशनमा बनेको सुकुलगुन्डा फिल्ममा रिया श्रेष्ठको आइटम डान्स समावेश गरेका उनले भने, ‘म त स्क्रिप्टको मागअनुसार नै गीत राख्ने गर्दछु । सुकुलगुन्डामा मात्र होइन, डेस्टिनेसन काठमाडौंमा पनि आइटम डान्स छ ।’ आइटम डान्सले फिल्मको व्यापारमा राम्रै सहयोग गर्ने गरेको अनुभव निर्माता माधव वाग्लेको छ । ‘लुट हिट हुनुमा आइटम डान्सको पनि साथ छ,’ उनी भन्छन्, ‘तर, जबरजस्ती आइटम भने राख्नु हुँदैन, फिल्म बिग्रिन्छ ।’

माधवको अर्काे फिल्म मिसन पैसा रिलोडेडमा पनि आइटम डान्स थियो । आइटम डान्समा राम्रै दखल भएका हिरोइनमा पर्छन्– प्रियंका कार्की, निशा अधिकारी, रेखा थापा, सुष्मा कार्की, रिमा विश्वकर्मा, नम्रता श्रेष्ठ, रिया श्रेष्ठ, पूजना प्रधान, जिया केसीलगायत । प्राय: प्रमुख भूमिका निर्वाह गर्दै आएका उल्लेखित अधिकांश हिरोइनले कतिपय फिल्ममा भने आफूलाई आइटम डान्समा मात्र सीमित राखेका छन् ।

हत्तपत्त बाहिरी ब्यानरको फिल्ममा अभिनय गर्न नचाहने रेखा थापाले मौनता श्रेष्ठको भगवान सबैको फिल्ममा खल्लास बोलको आइटम डान्स गरेकी छिन् । यद्यपि, सो फिल्ममा रेखा प्रमुख भूमिकामा छिन् । त्यसैगरी, उनले आफ्नो मान्छे आफ्नै हुन्छ फिल्ममा पनि काला कृष्णजी बजाऊ मुरली बोलको आइटम गरेकी थिइन् । तर, पछिल्लो समय भने उनी आइटम डान्स गर्न मन पराउँदिनन् । जतिसुकै धेरै पारिश्रमिक दिए पनि उनलाई आइटम डान्स गर्न इच्छा लाग्दैन रे । ‘म आइटम मात्र त गर्दिनँ,’ उनी भन्छिन्, ‘भगवान सबैको र आफ्नो मान्छे आफ्नै हुन्छमा पनि प्रमुख हिरोइन छु । त्यसैले कथाअनुसार गरेकी थिएँ । बेग्लै आइटम भने गर्दिनँ ।’

निशा अधिकारीले मायाज बार र मुखौटामा एक–एकवटा आइटम डान्स गरेकी छिन् । ती फिल्ममा निशा पनि प्रमुख भूमिकामा छिन् । प्रियंका कार्की भने यो मामलामा अलि नरम छिन् । उनी आइटम मात्र भए पनि गर्न पछि पर्दिनन् । उनले मिसन पैसा रिलोडेड, हसियालगायतका फिल्ममा आइटम डान्स गरेकी छिन् । कतिपय गीतमा प्रियंका आफैँले कोरियोग्राफी पनि गर्ने गरेकी छिन् । नम्रता श्रेष्ठ अधकट्टीको हे नम्रतामा प्रस्तुत भइन् । रिमा विश्वकर्माले डब्बु क्षेत्रीको राहदानी फिल्ममा आइटम डान्स गरेकी छिन् । त्यसैगरी, मेनुका प्रधानले निखिल उप्रेतीको भैरव फिल्मको एउटा आइटम गीतमा डान्स गरेकी छिन् । आइटम गीत गर्दिनँ भन्दै फुइँ गर्नेहरू पनि बग्रेल्ती छन् । पूजना प्रधानले म तिमीविना मरिहाल्छु फिल्मको नौनी नौनी नौनी बोलको आइटम गीतमा आफूलाई प्रस्तुत गरेकी थिइन् । त्यसैगरी उनले छेस्को फिल्ममा नाचूँ नाचूँ लाग्छ किन बोलको आइटम डान्स गरेकी छिन् । सधैँ चर्चामा रहने गरेकी सुमिना घिमिरेले स्टारको मेरो चोली बोलको गीतमा गरेको आइटमले त बजारै तताएको थियो ।

नेपाली फिल्ममा आइटम डान्स राख्ने चलन नयाँ होइन । दुई दशकअघि नै शम्भु प्रधानले सम्पत्ति फिल्ममा मिठो मिठो मायाले सोच्दै छ बोलको निकै ग्ल्यामर गीत समावेश गरेका थिए । त्यसपछि पनि उनले सुनचाँदीमा सारंगा श्रेष्ठलाई हे संगीतामा नचाए भने सरस्वती फिल्ममा गौरी मल्ललाई लाली जोबन..फरिया छोटो भएछ मैले के गर्नेमा ग्ल्यामरस रूपमा प्रस्तुत गरेका थिए । त्यसैगरी, सूर्य बोहोराको अग्निपरीक्षामा हामलाई पनि मायाले हेर पार्वती बोलको आइटम गीत समावेश गरेका थिए । सो गीत निकै चर्चित भएको थियो । पहिलाका अधिकांश फिल्ममा स्क्रिप्टको मागअनुसार नै आइटम गीत राख्ने गरिएको देखिन्थ्यो । तर, पछिल्लो समय छेउ न टुप्पो गरी आइटम डान्स राख्ने गरेको बग्रेल्ती देखिन्छ । नामै उल्लेख गरेर किन आँखी बन्नु ? आइटम डान्सका कारण क्षणिक चर्चा तथा दीर्घकालीन रूपमा आलोचना खेप्ने गरेका नृत्यनिर्देशक, आइटम गर्ल तथा निर्देशक पनि थुप्रै छन् ।

लक फिल्ममा राखिएको आँखा झिमिक्कै मालसामान गायब मात्र होइन एटिएमको चरचर चिरियो जवानी बोलको गीत पनि निकै आचोलित भएको थियो । लकको सो आइटममा सम्झना प्याकुुरेलले आफूलाई बिन्दास तवरले प्रस्तुत गरेकी छिन् भने एटिएमको उक्त गीतमा जिया केसी, सविना कार्की र सोनिया शर्माले आफूलाई खुलाउन कुनै कसर बाँकी राखेका छैनन्, साथमा छन्– दिनेश थापा । आइटम डान्सका कारण आलोचित हुँदै ‘फेजआउट’कै स्थितिमा पुगेकी अभिनेत्री हुन्– जिया केसी । उनको रिङरोड फिल्मको अंगुर हुँ म अंगुर बोलको आइटमले पनि निकै गाली खाएको थियो । श्री ५ अम्बरेमा गरेको आइटम डान्सले आफूलाई आइटम गर्लका रूपमा स्थापित गराउने आशा राखेकी रिया श्रेष्ठको ‘हिस्स बूढी हरिया दाँत’ भयो । त्यसैगरी, नन्दिता केसीले ‘लाइफमै फस्ट टाइम’ भन्दै जंगबहादुरको कोटमा आइटम डान्स गरेकी छिन् । तर, सो फिल्म कहिले रिलिज हुन्छ, यकिन छैन । एकताकाकी व्यस्त हिरोइन जेनिशा केसी बुधबार रातिसम्म आइटम डान्समा व्यस्त भइन् । उनी लक्ष्य फिल्मको नाचिदिन्छु दामी छमछमी बोलको आइटम गीतमा कोरियोग्राफर रामजी लामिछानेको इशारामा आफूलाई प्रस्तुत गरिरहेकी थिइन् । स्क्रिप्ट राइटर सुशील पंगेनीले लेखेको सो गीत आफूलाई निकै मन परेकाले मिहिनेतका साथ डान्स गरेको उनले बताइन् । यो आइटम आफ्ना लागि नौलो अनुभव भएको दाबी उनको छ । आइटम गरेर पछुताएका हिरोइन पनि थुप्रै छन् । नाम लिएर फेरि किन घाउ बल्झाउनु र ?

स्रोत : नयापत्रिका

Related posts