एजेन्सी नयाँदिल्ली, २०७२ असार १७,
यसै साता भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले जिम्बावे भ्रमणका लागि अजिन्का रहानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी सुम्पिएको थियो । आइसिसी बरियताको दोस्रो स्थानमा रहेको भारतका नयाँ कप्तान रहानेले आफूलाई कप्तान बनाइँदा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन् । ‘मलाई कप्तानको जिम्मेवारी दिँदा अनौठो लाग्यो,’ भारतीय एजेन्सीसँग रहानेले भने, ‘बोर्डले कप्तानमा मेरो नाम घोषणा गर्दा अचम्म लागेको थियो ।’ टोलीभित्र केही सिनियर खेलाडी रहँदारहँदै आफूलाई ठूलो जिम्मेवारी किन दिइयो भन्ने उनले प्रश्न गरेका छन् । ‘मलाई नै किन कप्तान बनाइएको हो, त्यो थाहा पाउन सकिएन, टोलीमा मभन्दा पनि सिनियर खेलाडी छन्,’ उनले भने, ‘भारतको कप्तान बन्छु भनेर सोचेकै थिइनँ ।’ जिम्बावे भ्रमण बंगलादेशमा भोगेको पीडा झुलाउने अवसरका रूपमा रहेको उनले जनाए ।
गत महिना बंगलादेश भ्रमणमा भारतले एकदिवसीय क्रिकेट सिरिज २–१ ले गुमाएको थियो । ‘यो हाम्रो लागि एक अवसर पनि हुन सक्छ, हामीले बंगलादेशमा निकै नराम्रो खेल्यौँ,’ रहानेले भने, ‘मलाई विश्वास छ, हामी जिम्बावेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्छौँ ।’ जिम्बावेमा अहिलेसम्म क्रिकेटमा प्राप्त अनुभव प्रयोग गर्ने उनले बताए । ‘यस क्षेत्रमा मैले जे सिकेको छु, त्यो जिम्बावेमा प्रयोग गर्छु,’ उनले भने, ‘भारतबाट मैले लगातार पाँच वर्ष क्रिकेट खेलिसकेको छु ।’ सिनियर खेलाडीलाई आराम दिँदा युवाले अवसर प्राप्त गरेको रहानेको भनाइ छ । ‘पाँच सिनियर खेलाडीलाई आराम दिइएको छ, यस अवस्थामा जिम्मावेमा युवा खेलाडीले अवसर प्राप्त गर्नेछन्,’ उनले भने, ‘युवा खेलाडीले मलाई निराश बनाउँदैनन् ।’ नियमित एकदिवसीय कप्तान महेन्द्रसिंह धोनीबाट आफूले धेरै कुरा सिकेको उनले बताए ।
स्रोत : नया पत्रिका