दिननाथ बराल
पोखरा २०७२ असार १७,
पोखरामा काठ तस्करी बढेको छ । पोखरामा काठको माग बढे पछि स्थानीय रुपमा उत्पादन भएको काठ करीब १० प्रतिशत जसोले पनि माग पुरा गर्न नसके पछि केहि व्यापारीहरुको कारणले गर्दा यहाँ काठको तस्करी बढेको हो । पछिल्लो क्रममा पोखरा क्षेत्रमा काठको तस्करी बढेको जिल्ला वन कार्यालय कास्कीका प्रमुख माधव प्रसाद बरालले बताए ।
जिल्ला वन कार्यालय कास्कीले भारतबाट सालको काठ सहितकोे एउटा ट्रक र कास्कीको मिजुरेडाँडाको गोर्जे भन्ने ठाँउबाट चापको काठ सहित मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ । ग १ ख ४०६१ नम्बरको मिनि ट्रक सहित चापको काठ वन कार्यालयले जफत गरी यसको मुद्धा अदालतमा विचाराधिन अबस्थामा रहेको प्रमुख बरालले बताए । त्यसै गरी कार्यालयले यही असार ३ गते भारतबाट सालको काठ लियर पोखरा आएको ना ३ ख १६४४ नम्बरको ट्रकलाई सालको काठ सहित नियन्त्रणमा लिएको हो । दुबै ट्रकमा ल्याएका काठहरु विना अनुमति ओसार पोसार गरेकोले उनीहरुलाई काठ दस्करीको अभियोगमा अनुसन्धान जारी रहेको बरालले बताए । उनले भने “१० हजार भन्दा माथि कार्रवाही गर्नु पर्ने अबस्थामा हामीले मुद्धा दायर गर्नको लागि अदालतमा पेश गर्दछौं अन्यथा हामीले कार्यालयबाटै कार्रवाही गर्दछौं ।”
वन कार्यालयले पोखरा क्ष्ोत्रमा काठ दस्करी बढेको कारणले गर्दा जिल्ला वन कार्यालयको ढाँचा र छोडपुर्जि विना निकासि भएका वन पैदावरहरु जोसुकैले जहाँसुकै पनि पक्राउ गरी कार्यालयलाई जानकारी गराउन माग गरेको छ । वनपैदावर र प्रयोग भएका सवारी साधनहरुलाई समेत जफत गर्न सकिने भएकोले यस्ता गतिविधि नगर्न कार्यालयले आग्रह समेत गरेको प्रमुख बरालले बताए । काठ ओसार पोसार गर्दा वन कार्यालयबाट निकासिको सहमति पत्र सहित सम्बन्धित सामुदायिक बनको इृजाजत पत्र भएको हुनुपर्ने छ । निजि नम्बरी आवादीका रुख काठहरुको सम्बन्धमा सम्बन्धित जमिनको लालपुर्जा, कार्यालयबाट निकासि ईजाजत पत्र लिएको हुनुपर्ने छ । सरकारी वन क्षेत्रको वन पैदावारको हकमा सोझै जिल्ला वन कार्यालयबाट निकासि ईजाजत पत्र लिएको हुनुपर्दछ ।
अन्य सार्वजनिक स्थलमा भएका रुखहरुको हकमा सम्बन्धित संस्थाबाट जिल्ला वन कार्यालयमा सम्पर्क गरी मुल्याङकन गराई सरकारी रुख हटाउने मापदण्ड २०७१ को कार्याविधि अनुरुप लिलाम बढाबढको प्रकृया पुरा गरी निकासिको लागि वन कार्यालयबाट निकासि ईजाजतपत्र लिएको हुनु पर्नेछ ।
यसै विच पोखरा क्षेत्रमा काठ दस्करी बढेको तथा वन जंगल जथाभावी रुपमा फडानी भएकोले त्यसलाई नियन्त्रण गर्ने उद्धेश्यले विहिबार पोखरामा कास्कीका सुरक्षा निकायहरुसंग छलफल भएको छ । अझै पनि केहि ठाँउमा वन फडानी तथा अतिक्रमण भएकोले त्यसलाई संरक्षण गर्ने उद्धेश्यले सुरक्षा निकायहरुसंगको छलफल कार्यक्रम आयोजना गरीएको कार्यालयका प्रमुख बरालले बताए ।
प्रमुख बरालका अनुसार कास्कीमा उत्पादन भएको काठले करीब १० प्रतिशत मात्र माग पुरा गर्ने गरेको छ । पोखरा क्षेत्रमा नेपालको तराई, भारत हुदै मलेसिया देखि समेत काठ भित्रिने गरेको उनले बताए । कास्कीमा करीब ४५ प्रतिशत जसो वन क्षेत्रले ढाकिएको बरालले बताए । मासिक लाखौं क्युविक फिट काठ पोखरामा माग भएको उनले बताए ।