ताजा खबर

कृषिमन्त्री पराजुलीद्वारा पदबाट राजीनामा

काठमाडौं, २०७२ असार १७,

धान दिवसका अवसरमा मुलपानीका स्थानीय महिलामाथि अभद्र व्यवहार गरेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन् । बिहीबार बिहान एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर उनले आफुले मन्त्री पदबाट राजीनामा दिएको अध्यक्षलाई जानकारी गराएका छन्। अध्यक्षलाई राजीनामा पत्र बुझाएपछि पूर्वमन्त्री पराजुली प्रधानमन्त्रीसामु राजीनामा बुझाउन बालुवाटार गएको बुझिएको छ ।

कृषकले मंगलबार मुलपानीमा गरेको कार्यक्रममा प्रमुख अतिथि बनेर गएका पूर्वमन्त्री पराजुलीले स्थानीय महिलामाथि दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गर्दै गरेका तस्बिर सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो । एमाले अध्यक्ष केपी ओलीले बुधवार उनीसँग स्पष्टीकरण लिएका थिए । त्यस्तै, एमालेको भ्रातृ संस्था अनेरास्ववियुले पराजुलीको पुत्ला जलाउँदै मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको थियो । सदनदेखी सडकसम्म उनको आलोचना भएको थियो । उनले महिलामाथि गरेको दुरव्यवहारका तस्विर अहिले पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

स्रोत : नया पत्रिका

Related posts