अरनिको राजमार्गको ठाउँठाउँमा पहिरो

काठमाडौ, २०७२  असार १६,

अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्म ३० किमि क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ। गत साउनमा सुनकोसी थुनिने डाँडा खसेको स्थानमा पहिरो सुरु भएको छ। मंगलबार रातिको पहिराले राजमार्ग अवरुद्ध छ। माटोको लेदो बगिरहेकाले सडकको डोजरलाई पनि पहिरो हटाउन कठिन भएको छ।

राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको खागदाल खोलामा आएको बाढीले मोटरेबल पुललाई क्षति पुर्‍याएको छ। प्रहरीका अनुसार बाढीसहितको लेदो पुलमाथिबाट बगेको थियो। ‘केही घर र पुलको साइटमा क्षति पुगेको छ,’ प्रहरी निरीक्षक मञ्जिल मुकारुङले भने।

सीमा जोड्ने बाह्रबिसे सडक खुलाउन डेढ सातादेखि प्रयास भइरहेको छ। सडक डिभिजन बाह्रबिसे साइटका सबइन्जिनियर श्रवण मण्डलका अनुसार थप मेसिन उपलब्ध नभए जुरे पहिरो हट्न सक्ने अवस्था छैन। जुरे अवरोधका कारण बाह्रबिसे र सीमा क्षेत्रमा यातायात ठप्प छ।

‘बाह्रबिसे–तातोपानी खण्ड सडकको मितेरी पुलबाट दुई किमि पश्चिममा डोजर पुगेको छ,’ मण्डलले भने, ‘वर्षात् नरोकिएकाले काम गर्न अप्ठेरो भएको छ।’ २६ किमि सडकको बोर्डरल्यान्ड, सखुवा, नयाँ पुल, झ्यालेभिर, चाकु, डाकलाङ, हिन्दी, लार्चा, दसकिलो, घट्टेखोला, कोदारी र लिपिङमा पहिरो गएको छ। सीमाको सडक पहिरोले छियाछिया पारेपछि भूकम्प आएदेखि नै चीनसँगको व्यापार ठप्प छ।

स्रोत : कान्तिपुर

Related posts