ताजा खबर

बाढीले बर्सेनि उठिबास

मोरङ,  २०७२ असार १६,

बरडंगामा बक्राहा खोलाले ८ सय ५० मिटर तटबन्ध भत्काएको तीन वर्षभन्दा बढी भएको छ। तर नियन्त्रण र पुनर्निर्माणको भरपर्दो उपाय नअपनाइएकाले समस्या बर्सेनि दोहारिने गरेको छ। बरडंगा मात्र होइन, मोरङका दर्जनभन्दा बढी गाविस वर्षा सुरु हुनासाथ बक्राहाको बाढीका कारण प्रभावित हुन्छन्।

बक्राहा खोलामै मधुमल्ला नजिक बस्ती होचो र खोलाको सतहमाथि भएकाले जुनसुकै बेला बस्तीतर्फ जान सक्ने खतरा छ। नियन्त्रणको भरपर्दो काम नगरिएकैले मंगलबार मध्यराति बक्राहा खोलाले धार परिवर्तन गरी मधुमल्ला गाविसका विभिन्न वडामा पसेको छ।

वर्षाका बेला बक्राहाले मोरङको उत्तरी गाउँदेखि दक्षिणी सीमासम्मका बासिन्दालाई प्रभावित पार्ने गरेको छ। ‘गाउँभन्दा खोलाको सतह माथि भएकाले सधैं समस्या हुने गरेको छ,’ मधुमल्ला ८ का चित्र गौतमले भने, ‘हरेक वर्ष क्षति भइरहेको छ तर नियन्त्रण काम प्रभावकारी नहुँदा ढुक्कसँग बस्न सकेका छैनौं।’

समस्याबारे विभागलगायत माथिल्लो निकायमा पटकपटक जानकारी गराए पनि पर्याप्त बजेट नआएकाले नियन्त्रण काम प्रभावकारी हुन नसकेको जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगर प्रमुख भिलानन्द यादवको भनाइ छ। ‘हरेक वर्ष समस्या दोहोरिने गरेको छ,’ उनले भने, ‘तर साधन, स्रोत अभावमा सोचेजस्तो काम गर्न सकिएको छैन।’

बक्राहाले पूर्वी र उत्तरी मोरङका बासिन्दालाई उठिबास गराएको यो पहिलोपटक होइन। यसअघि पनि पटकपटक क्षति पुर्‍याउँदै आएको छ। मधुमल्ला ८ का धनबहादुर बोहराका अनुसार बर्सेनि विस्थापित हुनेको संख्या बढिरहेको छ। बजेट अभाव देखाउँदै मर्मतसम्भार हुन नसक्नु अनि भएको काम पनि प्रभावकारी नहुनुले समस्या दोहोरिने गरेको स्थानीयवासीले बताए।

०५१ मा ओपेक फन्डअन्तर्गत ९१ करोड रुपैयाँ लागतका बक्राहा खोलामा तटबन्ध निर्माण भएयता अहिलेसम्म तटबन्धलगायत संरचनाको भरपर्दो मर्मतसम्भार र पुनर्निर्माण हुन नसकेको डिभिजन प्रमुख यादवले जनाए। द्वन्द्वकालमा खोलाको मुहानमा रहेका रुखहरू व्यापक कटान भएको, चुरेक्षेत्रमा स्काइभेटर लगाएको, जंगल फडानी गरिएकोलगायत कारण माथिल्लो क्षेत्रबाट ढुंगा गिटी बालुवा खोलामा थुप्रिँदै गएपछि खोलाको सतह बढेर खतरा उत्पन्न भएको यादवले बताए। बक्राहा खोलाको सतह बस्तीभन्दा अढाई मिटर अग्लो छ। तटबन्ध र खोलाको सतह एकैनासको छ। ‘यो अति खतरापूर्ण अवस्था हो,’ यादवले भने।

‘ढुंगा गिटी बगाएर खोलाको सतह बढ्दै गयो, थुप्रिएको बालुवा गिटी निकाल्ने काम भएन,’ जल उत्पन्न डिभिजनका इन्जिनियर सरोज कार्कीले भने, ‘यसका साथै तटबन्धलगायत संरचनाको जुन हिसाबले मर्मतसम्भार गर्नुपर्ने थियो बजेट अभावमा हुन सकेन, अहिले संकट निम्त्याएको छ।’

करिब ५० किलोमिटरभन्दा बढी रहेको बक्राहाको तटबन्धमा एक दुई स्थानमा मात्र होइन, जताततै जोखिम छ। मधुमल्ला र बरडंगाबाहेक गोविन्दपुर, मल्दैया टोल, बबियाबिर्ता, बेलबारी, कोसी हरैचालगायत अन्य थुप्रै ठाउँमा तटबन्ध भत्काएर वा ओभरफ्लो भएर खोलो बस्ती पस्ने खतरा छ। तर नियन्त्रणको उपाय नाम मात्र भएको स्थानीयवासी बताउँछन्।

जलउत्पन्नका डिभिजन प्रमुख यादवले आवश्यक बजेट नआउँदा बक्राहा खोला नियन्त्रणमा कठिनाई भएको बताए पनि प्रभावित क्षेत्रका बासिन्दाले आएको बजेट पनि नियन्त्रणमा लाग्न नसकिरहेको बताउँदै आएका छन्। आएको बजेट खोला नियन्त्रणमा लाग्नुको साटो केही टाढाबाठा र कर्मचारीको मिलेमतोमै स्वाहा हुने गरेको स्थानीयको आरोप छ।

बक्राहा खोलालाई पूर्ण रूपमा नियन्त्रण गर्न अहिले ४० करोड बजेट आवश्यक रहेको प्राविधिकको भनाइ छ। बर्सेनि बक्राहाको नाममा करोडौं रकम माग गर्ने गरिए पनि बजेट अति न्यून आउने गरेको छ। यस वर्ष ५० लाख रुपैयाँ बक्राहा खोला नियन्त्रणका लागि आएको थियो। जसमध्ये आधा रकम गत वर्षकै ठेक्कामा भुक्तानी दिनुपरेको र आधा रकमले गोविन्दपुरलगायत स्थानमा स्पर निर्माण गर्दा सकिएको यादवले बताए।

बक्राहा खोलामा थुप्रिएको बालुवा, गिटी र ढुंगा निकालेर तटबन्ध दह्रो नबनाएसम्म बाढीको क्षति कम गर्न कठिन हुने प्राविधिकको भनाइ छ। यसका साथै जलाधार क्षेत्रमा समेत रुखबिरुवा रोपेर बालुवा गिटी बग्ने कामसमेत रोकिएमात्र बक्राहा नियन्त्रण सम्भव हुने यादवले बताए। ‘हरेक वर्ष बक्राहाले संकट निम्त्याउँछ, नियन्त्रणका लागि थामथुम काम हुन्छ समस्या ज्युँका त्युँ रहन्छ,’ उनले भने। झन्डै ५० करोड रुपैयाँ बराबरको बक्राहा खोला नियन्त्रणको क्रमागत गुरुयोजना स्वीकृत भइसकेको लामो समय भइसक्दा पनि सरकारी स्तरबाट न्यून बजेट मात्र आउने गरेको छ।

जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक निरन्जनदेव पाण्डेले सीमित स्रोतसाधनका कारण बक्राहामा आवश्यकताअनुसार बजेट दिन नसकिएको बताए। उनले भने, ‘तत्काल समस्या समाधान गर्न के गर्नुपर्छ भनेर निर्देशन दिइसकिएको छ, दीर्घकालीन रूपमा समाधान खोज्न समय नै लाग्ने रहेछ।’ उनले मर्मतसम्भारका लागि हरेक वर्ष बक्राहा खोलामा रकम जाने गरेको बताउँदै आवश्यकताको अनुपातमा रकम कम जाने गरेको स्विकारे।

तत्कालको समस्या समाधानका लागि तारजालीको व्यवस्थापन भइरहेको बताउँदै उनले दीर्घकालीन समस्या समाधानका लागि विभागबाट पनि छिट्टै टोली पठाइने जनाए।

स्रोत : कान्तिपुर

Related posts