मिदान, २०७२ असार १६,
इन्डोनेसियाको मिदान सहरस्थित रिहाइसी क्षेत्रमा सेनाको हर्कुलस विमान खस्दा कम्तीमा एक सयजनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । घनाबस्तीमा रहेको घरमै विमान खसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान छ । उद्धार जारी छ । स्थानीय टिभी च्यानलका अनुसार दुई घर र एउटा गुडिरहेको गाडीमा विमान खसेको थियो । विमान खसेलगत्तै त्यो क्षेत्रमा आगो फैलियो । इन्डोनेसियाली सेनाका प्रवक्ता फौद बसायाले विमान उडान भरेलगत्तै दुर्घटनामा परेको बताएका छन् । विमानमा चालक दलकासहित कम्तीमा पनि १२ सदस्य रहेको उनले जानकारी दिए । विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो क्षेत्रमा १० वर्षअघि पनि यस्तै विमान दुर्घटना भएको थियो । सेप्टेम्बर २००५ मा भएको त्यो दुर्घटनामा बोइङ–७३७ परेको थियो । दुर्घटनामा एक सय ४३ जनाको मृत्यु भएको थियो
स्रोत : नया पत्रिका