ताजा खबर

नेपालले भारतसँग खेल्ने

काठमाडौ, २०७२ असार १६,

नेपाली राष्ट्रिय फुटबल टिमले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ। यी दुई दक्षिण एसियाली प्रतिद्वन्द्वी दुई वर्षयता पाँचौंपल्ट भिड्न लागेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएएफ) को प्रस्तावअनुसार मैत्रीपूर्ण खेल हुन लागेको मंगलबार जनाएको छ। खेल १४ भदौमा भारतमा हुनेछ। खेल स्थलको भने टुंगो लागेको छैन। एन्फाले मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिप २०१५ को तयारीका रूपमा लिएको छ र उसले साफको नवौं संस्करण पुस ८ देखि १९ सम्म भारतको त्रिवेन्द्रममा हुनेछ।

नेपाल र भारत विश्वकप २०१८ र एसियन कप २०१९ को संयुक्त छनोटको रूपमा रहेको प्ले–अफमा फागुन–चैतमा प्रतिस्पर्धा गरेका थिए। गुवाहाटीमा २८ फागुनमा भएको पहिलो लेगमा भारत २–० ले विजयी भएको थियो भने दशरथ रंगशालामा ३ चैतमा सम्पन्न दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएको थियो।

त्यस नतिजासहित भारत अहिले विश्वकप र एसियन कप छनोटको समूह चरणमा प्रतिस्पर्धा गरिरहेको छ।

दुई वर्षअघि काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा समूह चरणको भेटमा नेपालले भारतलाई २–१ ले हराएको थियो। त्यसपछि मंसिर, २०७० मा सिलिगुडीमा भएको मैत्रीपूर्ण खेलमा भने भारतले २–० को जित निकालेको थियो। सर्वाधिक चारपल्टको साफ च्याम्पियन भारत फिफा वरीयताको १ सय ४१ औं स्थानमा छ। नेपाल वरीयताको १ सय ८३ औंमा रहेको छ। साफको १८ वर्षे इतिहासमा कहिल्यै सेमिफाइनल पार नगरेको नेपाल दक्षिण एसियाली वरीयतामा श्रीलंका (१ सय ८६) भन्दा मात्र अगाडि छ।

नेपाल र भारत हालसम्म १७ पल्ट खेलेका छन्। नेपालले दुई खेल मात्र जितेको छ। ११ खेलको नतिजा भारतको पक्षमा रहे। टाइब्रेकरमा गएकोसहित दुई खेल बारबरीमा टुंगिएका थिए। सन् १९९३ मा भएको दक्षिण एसियाली खेलकुदमा २–२ को बराबरीपछि भारतलाई टाइब्रेकरमा हराएर नेपालले स्वर्णपदक जितेको थियो। त्यसयता राष्ट्रिय टिमले उपाधि जित्न सकेको छैन।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *