ताजा खबर

नेदरल्यान्ड्ससँग पराजित 

काठमाडौ, २०७२ असार १६,

नेदरल्यान्ड्ससँगको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल मंगलबार १८ रनले पराजित भएको छ। यससँगै डच टोलीले ४ खेलको शृंखलामा अग्रता लिएको छ।

टस जितेर पहिला ब्याटिङ गर्न आएको नेदरल्यान्ड्सले एमस्टेलभिन स्थित भीआरए मैदानमा ५ विकेट गुमाई १ सय ३४ रन बनायो। कप्तान पारस खड्काले नटआउट ४५ रन बनाए पनि नेपालले ७ विकेट गुमाई १ सय १६ रनमात्र बनाउन सक्यो।

पारसले ४२ बल खेली १ चौका र १ छक्का प्रहार गरे। उनको यो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो छक्का प्रहार पनि हो। ओपनरका रूपमा ल्याइएका उपकप्तान ज्ञानेन्द्र मल्लले २४ रन बनाए। ज्ञानेन्द्र र पारस ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ सय रन बनाउने नेपालको पहिलो खेलाडी बने।

राजेश पुलामी १३ र शरद १० रनमा आउट भए। ओपनर सुवास खकुरेल २ र तेस्रो नम्बरमा पठाइएका विनोद भण्डारी ५ रनमा आउट भएका थिए। इनिङ्सको अन्त्यतिर प्रदीप ऐरी ६ र करण केसी २ रनमा आउट भए। वसन्त रेग्मी १ रनमा नटआउट रहे। सुवास र विनोदलाई आउट गरेका डच बलर एहसान मलिकले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। यसअघि नेदरल्यान्ड्सबाट ओपनर स्टेफन मिबर्गले नटआउट ६७ रन बनाएका थिए। नेपाली बलरका अगाडि खुलेर खेल्न नसकेका उनले ६० बल खेली ६ चौका र १ छक्का प्रहार गरे। मिचेल रिप्पोन २५ बलमा २५ रन बनाई नटआउट रहे। वसन्त रेग्मीले ४ ओभरमा २४ रन दिएर २ विकेट लिँदै नेपालबाट उत्कृष्ट बलिङ गरे। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरिरहेका करण केसीले १ विकेट लिए। २ खेलाडी रन आउट भए। करणसँगै पहिलो आधिकारिक खेल खेलिरहेका अविनाश कर्णले ४ ओभरमा १८ रनमात्र खर्चे। पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपालको यो तेस्रो हार हो। नेपालले बुधबार नेदरल्यान्ड्ससँगको शृंखलाको दोस्रो खेल खेल्नेछ।

अघिल्लो दिन नेपालले इंग्ल्यान्डमा बाथ क्रिकेट क्लबमाथि ६ विकेटको विजय हात पारेको थियो। इंग्ल्यान्ड भ्रमणमा चार खेल खेलेको नेपालले २ मा विजय हात पार्‍यो भने २ मा पराजय भोग्यो। इंग्ल्यान्ड भ्रमणमा मिडलसेक्स ११ सँग पहिलो अभ्यास खेलमा १४ रनले पराजित नेपालले त्यसपछि फ्री फोरेस्टलाई २४ रनले पराजित गरेको थियो। मंगलबार नै ग्लोसेस्टरसायरको सेकेन्ड ११ सँग नेपाल ४ विकेटले पराजित भएको थियो।

विनोद भण्डारीले ६९ रन बनाएपछि नेपालले १ सय ५७ रनको लक्ष्य १७.२ ओभरमा पूरा गरेको थियो। उनले ६ चौका र ४ छक्का प्रहार गरे। ओपनर सुवास खकुरेललाई खाता खोल्नुअगाडि गुमाएको नेपालबाट अनिल मण्डल ७ र शरद भेषवाकर २९ रनमा आउट भए। राजेश पुलामी २७ र प्रदीप ऐरी १३ रनमा नटआउट रहे। प्रदीपले विजयी छक्का प्रहार गरेका थिए। यसअघि पहिला ब्याटिङ गरेको बाथले ८ विकेट गुमाई १ सय ५६ रन बनाएको थियो। नेपालबाट करण केसी र प्रदीप ऐरीले २–२ विकेट लिएका थिए। नेपाली टोली अभ्यास खेल सकिए लगत्तै १४ घण्टा लगाएर बस यात्राबाट नेदरल्यान्ड्स लागेको थियो।

स्रोत  : कान्तिपुर

Related posts