ताजा खबर

के होला इयूको भविष्य ?  

इयू भविष्य अन्योलमा

२०७२  असार १६,

ग्रिसमा हुने जनमतसंग्रहमा ‘नो’ भन्ने पक्षले जिते ग्रिस स्वत: इयूबाट बाहिरिनेछ । इयूको इतिहासमा यस्तो विभाजन पहिलोपटक हुनेछ । यसले अन्य देशलाई पनि इयूबाट छुट्टिने सम्भावना बढाउनेछ ।

बेलायतमा पनि इयूमा रहने–नरहने विषयमा २०१७ मा जनमतसंग्रह हुँदै छ । अहिले ग्रिस अलग भएमा त्यतिवेला बेलायतमा पनि ‘नरहने’ पक्षले जित्न सक्ने सम्भावना बढ्नेछ ।

ग्रिस इयूबाट अलग्गिएलगत्तै फ्रान्स र जर्मनीमा इयूको भविष्यबारे जनमतसंग्रह गर्नुपर्ने अवस्था आउन सक्छ । यसो भएमा इयू विघटन हुने सम्भावना झन् बढ्नेछ ।

ग्रिसलाई ऋणदाताका प्रस्ताव

कर प्रणाली नयाँ बनाउनुपर्नेछ । १ जुलाईबाट लागू गर्ने त्यो प्रणालीमा तीन दर हुनेछन् । यसले वर्षमा कुल गार्हस्थ उत्पादन एक प्रतिशतले बढाउनेछ ।

रेस्टुराँ, क्याटरिङ र फास्ट फुडका लागि कर दर २३ प्रतिशत तोकिनुपर्नेछ । आधारभूत खाना, बिजुली, पानीका लागि १३ प्रतिशत कर लगाउन सकिनेछ । औषधि, स्वास्थ्य उपचार, पुस्तक र रंगमञ्चका लागि ६ प्रतिशत ।

छिटो सेवानिवृत्त हुन दिन पाइनेछैन । सेवानिवृत्त हुने उमेर हद २०२२ सम्ममा ६७ पुर्‍याउनुपर्नेछ ।

पेन्सन लिइरहेकाले स्वास्थ्य उपचारका लागि चार प्रतिशतबाट बढेर ६ प्रतिशत खर्चनुपर्नेछ ।

ऋणदाताका प्रस्ताव स्वीकार गर्ने–नगर्ने विषयमा ५ जुलाईमा ग्रिसमा जनमतसंग्रह हुँदै छ, नगर्ने पक्षले जितेमा ग्रिस इयूबाट छुट्टिने निश्चितप्राय: छ

किन जनमतसंग्रह ?

युरोपेली युनियन तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले ल्याएका प्रस्ताव र ग्रिक सरकारको चाहनामा ठूलो भिन्नता छ । यो प्रस्तावलाई जनताको सहमतिविना अस्वीकार गर्न नसकिने भन्दै सिरिजा पार्टीको सरकारले जनमतसंग्रहको घोषणा गर्‍यो ।

जनमतसंग्रहको प्रश्न के ?

ऋणदाताको प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्न जनमतसंग्रहको प्रश्न हुनेछ । प्रधानमन्त्री एलेक्सिस सिप्रासले जनतासँग जनमतसंग्रहमा ‘नो’मा भोट गर्न भनेका छन् । अधिकांश जनता उनको पक्षमा देखिएको सर्वेक्षणहरूले देखाएका छन् ।

कसले जिते के हुन्छ ?

जनमतसंग्रहमा ‘नो’ले जिते इयूको प्रस्ताव अस्वीकार हुनेछ । यसो भएमा युरोपेली सेन्ट्रल बैंक (इसिबी) ले ग्रिसलाई सहयोग गर्न छाड्नेछ । र, ग्रिसमा युरो चल्न पनि छाड्नेछ । ग्रिसले नयाँ मुद्रा चलाउनुपर्नेछ । यो इयू विघटनको संकेतका रूपमा बुझ्न सकिनेछ ।

ग्रिसलाई कसको समर्थन ?

ग्रिसका प्रस्ताव अन्तिम समयसम्म पनि युरोपेली मुलुकले अस्वीकार गरेका छन् । तर, ग्रिसलाई रुसको साथ छ । इयूबाट छुट्टिए ग्रिसलाई सहयोग गर्न आफू तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही समयअघि नै भनिसकेका छन् ।

बाँकी विश्वलाई यसको के प्रभाव ?

ग्रिस युरोपेली युनियनबाट छुट्टियो भने विश्वकै अर्थतन्त्रमा समस्या देखिन सक्छ । इसिबी, आइएमएफ र युरोपका अधिकांश देशले ग्रिसलाई ऋण दिएका छन् । यसले युरोपको अर्थतन्त्रमा सोझो प्रभाव पार्नेछ । जसले कालान्तरमा विश्वलाई नै प्रभावित पार्नेछ ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *