ग्रिसका सबै बैंक बन्द              

एथेन्स, २०७२ असार १५,

कर्जामा डुबेको ग्रिस सरकारले एक साताका लागि सबै बैंकिङ कारोबार बन्द गरेको छ । ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले ६ जुनसम्म मुलकभरका सबै बैंक बन्द गर्ने घोषणा गरेका छन् । सरकारले एटिएम कारोबारमाथि कडा नियम लागू गरेको छ । एटिएमबाट एक दिनमा केवल ६० युरो झिक्न पाउने सरकारले निर्देशन दिएको छ ।

एक सातासम्म ग्रिसमा स्टक एक्सचेन्ज पनि बन्न रहनेछ । ग्रिसले ३० जुनभित्र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई १२ हजार करोड युरो तिर्नुपर्छ । ग्रिस सरकारले आइएमएफलाई समयभित्र तिर्न नसक्दा युरोजोनबाट बाहिरिनेछ । ग्रिस युरोजोनको सदस्यबाट बाहिरिँदा त्यसको असर विश्व अर्थतन्त्रमै पर्ने विश्लेषकहरूले बताएका छन् ।

विदेश पनि रुपैयाँ पठाउन नपाउने

स्थानीय व्यक्तिले घर वा बैंकमा रहेको आफ्नो रुपैयाँ बाहिरी मुलुकमा जम्मा गर्न पाउने छैनन् । सरकारले ग्रिसको आर्थिक स्थिति सुधार गर्नका लागि स्थानीय व्यक्तिलाई बाहिर जम्मा नगर्न भनिएको छ ।

आपत् परेको अवस्थामा व्यक्तिले सरकारलाई जानकारी गराउनुपर्छ । बैंकिङ कारोबार गर्न सरकारसँग अनुमति लिनुपर्ने जनाएको छ ।

इसिबी पछाडि हटे

युरोपियन सेन्ट्रल बैंक (इसिबी) को सहयोगपछि सरकार आर्थिकस्तर उकास्ने योजनामा थियो । तर, ऋणमा नराम्रोसँग डुबेपछि इसिबीले पनि सहयोग नगर्ने घोषणा गर्‍यो । युरोजोनका सदस्य आर्थिक संकटमा परेको अवस्थामा इसिबीले इमरजेन्सी कोषबाट सहयोग गर्छ । यसअघि इसिबीले इमरजेन्सी कोषबाटै ग्रिसलाई सहयोग गरेको थियो । तर, यसपटक ग्रिस र युरोजोनबीचको वार्ता असफल भएपछि इसिबीले सहयोग नगर्ने घोषणा गरेको बिबिसीले जनाएको छ । इसिबीको निर्णयसँगै ग्रिसको बैंकले थप आर्थिक संकट बेहोर्नुपर्नेछ । आइएमएफका निर्देशक क्रिस्टिन लेगार्डले ग्रिस र युरोजोनबीच असफल नभएको बताए ।

अब जनमतसंग्रहमाथि नजर

ग्रिसले ६ दिनका लागि सबै बैंक बन्द गरेपछि विश्वको सेयर बजारमा नराम्रो प्रभाव परेको छ । ६ जुलाईपछि प्रधानमन्त्री सिप्रासले राहत प्याकेजको जनमतसंग्रह हुने घोषणा गरेका छन् । त्यस दिन ग्रिसका जनताले युरोजोनमा रहने कि नरहने पक्षमा मतदान गर्नेछन् । युरोजोनमा नरहने जनमतसंग्रह हुँदा ग्रिसमा युरो चल्ने छैन ।

प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री सिप्रासले आफ्ना नागरिकलाई बैंकमा जम्मा रकम, कर्मचारी तथा पेन्सन व्यवस्था सुरक्षित रहेको जनाएका छन् । प्रधानमन्त्री सिप्रासले ट्विटरमा भने, ‘तपाईंहरूले बैंकमा जम्मा पार्नुभएको रकम सबै सुरक्षित छ, सरकारले कुनै ठोस निर्णय नगर्दासम्म धैर्यसाथ बस्नुहोला ।’ बैंकबाट रुपैयाँ झिक्न नपाउँदा नागरिक भयभीत भएका छन् । यस सम्बन्धमा सिप्रासले भने, ‘अहिले सरकार आर्थिक संकलनमा लागेको छ, हामीले हाम्रो रुपैयाँ बाहिर नजाओस् भन्ने चाहेका छौँ ।’

सेयर बजारमा असर

इसिबीले ग्रिसलाई आर्थिक सहयोग नगर्ने भएपछि त्यसको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको छ । युरोप तथा एसियाको सेयर बजारमा व्यापक गिरावट आएको बिबिसीले उल्लेख गरेको छ । बिबिसीअनुसार लन्डनको सेयर बजारमा २ प्रतिशतले गिरावट आएको छ । जापानमा सोमबार तीन प्रतिसतले सेयर बजारमा गिरावट आएको क्युडोले जनाएको छ । यसैगरी चीनमा ३.३ र हङकङमा २.६ प्रतिशतले गिरावट आएको बिबिसीले जनाएको छ । यता अस्ट्रेलिया, दक्षिण कोरिया तथा थाइल्यान्डको अवस्था पनि राम्रो छैन ।

स्रोत : नया पत्रिका

Related posts