आन्तरिक पर्यटक बढ्दै

पोखरा, २०७२ असार १५,

लेकसाइड सुनसान भएकाबेला पामे आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको छ। तालको किनारमा रहेको पामेको परिचय केही समयपहिला बगर मात्र थियो। अहिले गर्मी बढेसँगै लेकसाइडका व्यवसायीदेखि वरपरका बासिन्दा पामे पुग्न थालेका छन्। तालको छेउमा बसेर माछाको स्वाद लिन र गर्मी बिर्सन यस ठाउँ गन्तव्य बन्न थालेको छ।

तालको छेउमा बसेर माछा खान पाइने कारण यहाँ आएको हेसि छोटुनले बताईन। तीन जना साथिसहित आएकी उनले भनिन्, ‘यहाँको वेस्ट त माछा हो, ठाउँ पनि अन्तभन्दा शान्त र शीतल छ।’

सहरको भीडभाडबाट केही पर जान चाहने पर्यटक र बिदा मनाउनेका लागि यो स्थान उपयुक्त बन्दै गएको छ। सानादेखि ठूलासम्मका ६ थरीभन्दा बढी माछाका परिकार यहाँ पाइन्छ।

माछालाई विभिन्न स्वादमा पस्कने कारण यहाँको माछा फरक भएका हुन्। यहाँ दैनिक सयौं पर्यटक माछा खानका लागि आउने गर्छन्। ग्राहक बढेपछि यहाँ रेस्टुरेन्ट बन्ने क्रम बढेको छ। ५० वटाभन्दा बढी रेस्टुरेन्ट खुलेका छन्। तिनले सबैभन्दा बढी माछा नै बेच्छन्। पोखरा, ह्याङ्जा, लेखनाथबाट मात्र होइन यहाँ छिमेकी जिल्लाबाट समेत मानिस आउने गर्छन्।

गर्मीमा बेलुका साइक्लिङ गर्ने र इभिनिङ वाक गर्नेको समेत यो गन्तव्य बनेको छ। खाएर सजिलै घर फर्कन सकिने कारण यो ठाउँ उपयुक्त भएको विक्रम थापाले बताए। भने, ‘मोटरसाइकल नभए ट्याक्सी पाइन्छ, हिँड्दै गए पनि १ घण्टामा पोखरा पुगिन्छ।’ शुक्रबार, शनिबार र बिदाको दिन यहाँ ग्राहकको भीड बढ्ने गरेको सम्धिनी रेस्टुरेन्टका सुदीप नापितले बताए। भने, ‘ताजा माछा र यसको फरक स्वादका कारण यहाँ ग्राहक बढेका हुन्, अहिले त माछा पुर्‍याउनै गाह्रो छ।’

भूकम्पपछि झन् यहाँ भीड बढेको उनको अनुभव छ। माछा र बियरको व्यापार यहाँ बढ्दो रहेको व्यवसायीहरू बताउँछन्। साथीको समूह, प्रेमी/प्रेमिकादेखि परिवारसमेत यहाँ माछाको स्वाद लिन आउँछन्।

स्रोत : कान्तिपुर

Related posts