ताजा खबर

खुल्यो एसियाली पूर्वाधार बैंक   

काठमाडौं, २०७२ ,असार १५,

एसियाली मुलुकको विकासमा लगानी जुटाउन चीनको अगुवाइमा स्थापना हुन लागेको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को विधानमा (आर्टिकल अफ एग्रिमेन्ट) हस्ताक्षर भएको छ । चीनको राजधानी बेइजिङमा सोमबार भएको कार्यक्रममा बैंकका ५७ संस्थापक मुलुकले सम्झौतापत्रमा हस्ताक्षर गरे । बैंकको नेपाल पनि संस्थापक हो । नेपालका तर्फबाट अर्थमन्त्री डा.रामशरण महतले सम्झौतापत्रमा हस्ताक्षर गरे । बैंक पुसभित्रमा सञ्चालनमा आइसक्ने बताइएको छ । ६० धारा रहेको सम्झौतापत्रमा बैंकका प्रत्येक संस्थापक सदस्यको सेयर, नीति निर्माण, व्यवसाय तथा सञ्चालन प्रणाली र संगठन संरचनालगायतलाई समेटिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, सम्झौतामा सबैभन्दा पहिले अस्ट्ेरलियाले हस्ताक्षर गरेको थियो । बैंकको मुख्यालय बेइजिङमा रहनेछ । बैंकको अधिकृत पँुजी १ खर्ब र सय अर्ब अमेरिकी डलर चुक्ता पुँजी छ । सय अर्ब चुक्ता पुँजीमा ७५ प्रतिशत एसियाली र २५ प्रतिशत गैरएसियाली मुलुकको लगानी रहनेछ । संस्थापकले आफ्नो मुलुकको अर्थतन्त्रको आकारका आधारमा बैंकको सेयर खरिद गर्नेछ ।

नेपालले सदस्य बन्दा १ करोड डलर तिर्नुपर्नेछ । सदस्यका लागि हरेक वर्ष २० लाखका हिसाबले पाँच वर्षमा १ करोड डलर तिर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । संस्थापक भएकाले नेपालको पूर्वाधारमा लगानीको स्रोत जुटाउन सजिलो हुनेछ । चीन, भारत र रसियाको बैंकमा सबैभन्दा बढी सेयर छ । ३ मुलुकको क्रमश: ३०.३४, ८.५२ र ६.६६ प्रतिशत सेयर रहनेछ । चीनको २६.०६, भारतको ७.५ र रसियाको ५.९२ प्रतिशत भोटिङ सेयर रहेको सिन्ह्वाले जनाएको छ । चिनियाँ उपअर्थमन्त्री सी याओविनले चीनले नियोजित रूपमा ‘भिटो पावर’ प्रयोग गर्न बढी सेयर नराखेको प्रस्ट पारे । ‘चीनले नियोजित रूपमा भिटो पावर प्रयोग गर्न बढी सेयर लिएको होइन, नियमले दिएको स्वाभाविक सेयर हो,’ उनले भने, ‘अन्य मुलुक सदस्य बन्न आएका हाम्रो भागमा परेको सेयर उनीहरूलाई दिन तयार छौँ ।’ हस्ताक्षर समारोहमा चीनका अर्थमन्त्री लोउ जिवेईले नयाँ बैंकलाई प्रभावकारी र पारदर्शी रूपमा सञ्चालन गर्न उच्च व्यवस्थापकीय अभ्यास र नीति प्रयोग गरिने बताए ।

चीनले एसियाली मुलुकको पूर्वाधारमा लगानी गर्ने विश्व बैंक, एसियाली विकास बैंक जस्तै छुट्टै बहुपक्षीय बैंक स्थापना गर्न लागेको हो । बैंक स्थापना भएका नेपालजस्ता अतिकम विकसित तथा विकासशील मुलुकले पूर्वाधार विकासमा ऋण तथा अनुदान लिन सजिलो हुने बताइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले करिब २ वर्षअघि एसियाली मुलुकबीच सडकजस्ता पूर्वाधारको माध्यमबाट एक–आपसलाई जोड्न पूर्वाधार लगानी बैंक स्थापनाको प्रस्ताव गरेका थिए । बैंकले एसियाली क्षेत्रको पूर्वाधार विकास र आर्थिक विकासमा सहयोग पुग्ने परियोजनामा लगानी गर्नेछ ।

स्रोत : नया पत्रिका

Related posts