२०७२, असार १५,
सरकारी जग्गा अतिक्रमणबाट जोगाउन कटारी नगरपालिकाले सार्वजनिक जग्गा सीमांकनको काम सुरु गरेको छ । नगरपालिकाले सोमबार वडा नं ५ को धार्मिक क्षेत्र त्रिवेणीधामआसपासको १० बिघाभन्दा धेरै जग्गामा सीमांकन गरेको छ । नगरपालिकाले सर्वदलीय/सर्वपक्षीय टोली, नापी कार्यालय र प्रहरीको टोलीको उपस्थितिमा सार्वजनिक जग्गाको सीमांकन गरेको हो । त्रिवेणी क्षेत्रको सरकारी जग्गामा स्थानीयले वर्षौंदेखि अतिक्रमण गरी भोगचलन गर्दै आएकाले सीमांकन गरिएको नगरपालिकाका अधिकृत तथा सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक डम्बरु दाहालले बताए ।
सरकारी संयन्त्र कमजोर हुँदा स्थानीयले दिनदिनै जग्गा अतिक्रमण गर्दै आएका थिए । टोलीले सीमांकन गरी अतिक्रमण क्षेत्रमा लगाइएको मकैबाली नष्ट गरिदिएको छ । दोस्रो नगरपरिषद्को निर्णयअनुसार वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत सार्वजनिक जग्गा संरक्षण सुरु गरिएको अधिकृत दाहालले बताए । उनका अनुसार अतिक्रमण रोकी सो क्षेत्रमा स्थानीयको मागबमोजिम रंगशाला, पार्क, आयमूलक भवन बनाउनुका साथै वृक्षरोपण गरिनेछ । कटारी नगरपालिकाभित्र यकिन तथ्यांक नभए पनि अन्दाजी दुई सय बिघा सार्वजनिक जग्गा अतिक्रमणमा परेको नगरपालिकाले जनाएको छ । नगरका ६ स्थानमा रहेको सार्वजनिक जग्गा संरक्षण गरिने नगरपालिकाको योजना छ । नगरमा रहेको सार्वजनिक जग्गाको पहिचान गरी सर्वसम्मत निर्णयका आधारमा पक्रिया पुर्याएर जग्गा संरक्षण सुरु गरिएको कांग्रेसका नगर सभापति गोपी पराजुलीले बताए । अतिक्रमण गरी भोगचलन गर्दै आएका स्थानीयले भने नगरपालिकाले समय नै नदिई संरक्षणका नाममा बाली फाँडिदिएको बताएका छन् ।
स्रोत : नया पत्रिका