ताजा खबर

पहिरोले केरौंजामा ६० घर बगायो, स्थानीयले गाउँ छाडे 

गोरखा, २०७२  असार १४,

भारी वर्षापछि झरेको पहिरोले ६० वटा घर बगाएपछि उत्तरी गोरखाको केरौंजा गाविसका स्थानीयवासीले आज गाउँ छाडेका छन् । गाउँमाथिको पहाडको ढिस्को झरेपछि केरौंजाको वडा नम्बर १, २, ३ र ४ का ४७५ घरधुरी उच्च जोखिममा छन् । भूकम्पले भत्काएको घरको भगनावशेष नजिकै त्रिपाल टाँगेर अस्थायी रूपामा बसोबास गर्दै आएका भूकम्पपीडित पहिरोले गाउँ पुर्ने खतरा बढेपछि गाउँ छाडेर अन्यत्रै बस्न सुरु गरेको स्थानीयवासी सुकबहादुर गुरुङले बताए । गत शुक्रबार भारी वर्षापछि झरेको पहिरोले ६० वटा टहरो बगाएको थियो । ‘भूकम्पले जोगिएको घर पहिरोले लग्यो’ उनले भने, ‘माथिबाट झरेको पहिरोले ६० घर गण्डकीमा पु¥यायो ।’ गाउँबाट विस्थापित भएका गाउँलेहरू आजदेखि मल्तीडाँडा, बंलाचोक डाँडा, गिटेन, जोङगंग, गन्चुकतिर बसेका छन् । गाउँ नजिकैबाट गहिरोगरी पहिरो गएकाले बस्तीहरू जोखिममा रहेको गुरुङले बताए ।

हालै गएको भूकम्पले केरौंजा क्षेत्रमा रहेको जमिन चिराचिरा भएको थियो । लगातार पानी परेपछि चिरा परेको जमिन पहिरो गएको स्थानीयवासी बताउँछन् । गत वैशाख १२ गतेदेखि सानो, ठूलो पहिरो झरिरहेकाले वल्लो गाउँदेखि पल्लो गाउँसम्म जानसक्ने अवस्था नरहेको गुरुङको भनाइ छ । पहिरोले राहत सामग्रीको रूपमा पाएको चामल, दाल, नुन, चिनीलगायतका सामग्रीसमेत बगाएको छ । ‘एकपछि अर्को विपद् आइलाग्यो’ स्थानीयवासी कान्छा गुरुङले टेलिफोनमा भने, ‘बालबालिका र वृद्धवृद्धालाई जोगाउन मुस्किल प¥यो ।’ पहिरोको उच्च जोखिममा गाउँ रहेकाले प्रहरीले सुरक्षित स्थानमा जान स्थानीयवासीलाई आग्रह गरेको छ । केरौंजा पुगेर प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानीयवासीलाई राखेको प्रहरी नायब उपरीक्षक अर्जुन चन्द ठकुरीले बताए । ‘साना, ठूला पहिरो झरिरहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छौँ’ उनले भने, ‘स्थानीयवासी सुरक्षित स्थानमा गइसके ।’ पहिरोले स्थानीय रानीवन सामुदायिक वन पनि नष्ट गरेको छ । पहिरोले बुढीगण्डकी आसपासका गाविस क्षेत्रमा रहेका गाउँहरू उच्च जोखिममा छ । भूकम्पले चिरा परेको जमिनमा लगातार पानी परेपछि पहिरो बगेको स्थानीयवासी बताउँछन् । पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले अन्यत्र सार्ने तयारी गरिरहेको जनाएको छ ।

स्रोत : रातोपाटी

Related posts