ताजा खबर

नेपालको दोस्रो हार

काठमाडौ, २०७२ असार १४,

नेपाली राष्ट्रिय क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमणमा दोस्रो हार बेहोरेको छ । इङलिस काउन्टीको टिम ग्लोसेस्टरसायरको सेकेन्ड ११ ले नेपाललाई सोमबार ट्वान्टी–२० अभ्यास खेलमा ४ विकेटले पराजित गर्‍यो ।

कप्तान पारस खड्काले नटआउट ७३ रन बनाएपछि टस हारेर ब्याटिङ गर्न आएको नेपालले बाथ क्रिकेट क्लब मैदानमा ४ विकेट गुमाई १ सय ७० रन बनायो । घरेलु टिमले १ ओभर अगाडि लक्ष्य पूरा गर्‍यो ।

पारसले ५४ बलको इनिङ्समा ९ चौका र २ छक्का प्रहार गरे । ओपनर सुवास खकुरेललाई दोस्रो ओभरमै ३ रनमा रनआउटका रूपमा गुमाएको नेपालबाट सागर पुनले २२, ज्ञानेन्द्र मल्लले १४ र शरद भेषावकरले १२ रन बनाए । प्रदीप ऐरी ६ बलमा १ चौका र १ छक्का प्रहार गरी १६ रनमा नटआउट रहे । पारसले सागरसँग तेस्रो विकेटका लागि ४९ र शरदसँग चौथो विकेटका लागि ६५ रन जोडे ।

ग्लोसेस्टरसायरका विदेशी खेलाडी पिट ह्यान्डसोम्बले ५४ रन बनाएपछि इङलिस टिमले नेपालको चुनौती समाप्त गरेको थियो । गत वर्ष अस्ट्रेलियाको बिग बास लिगमा शतक बनाएका अस्ट्रेलियन खेलाडी ह्यान्डसोम्बले ३५ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै एम हामोन्डले ३८ रन बनाए । नेपालबाट करण केसीले ३ विकेट लिए । तर उनले त्यसका लागि ४ ओभरमा ४४ रन खर्चे । सोमपाल कामी, सागर र वसन्त रेग्मीको नाममा १–१ विकेट रहे । यस खेलमा एक अम्पायर नेपालका शैलेन्द्रराज नेपाल थिए ।

इंग्ल्यान्ड भ्रमणमा मिडलसेक्स ११ सँग पहिलो खेलमा १४ रनले पराजित नेपालले फ्रि फोरेस्टरलाई २४ रनले हरायो । नेपालले सोमबार राति नै बाथ क्रिकेट क्लबसँग अर्को अभ्यास खेल खेल्नेछ ।

लक्ष्य विश्व वरीयता

ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा प्रवेश पाउने उद्देश्यसाथ नेपालले नेदरल्यान्ड्ससँग चार खेल खेल्दै छ । जुलाई ९ देखि आयरल्यान्ड र स्कटल्यान्डमा हुने विश्व ट्वान्टी–२० छनोटका लागि नेपाल र नेदरल्यान्ड्स दुवैले यस खेललाई तयारीका रूपमा लिएका छन् ।

नेपालको अर्को लक्ष्य भनेको ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरीयतामा छिर्नु नै हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले तोकिएको अवधिमा ८ खेल खेल्ने राष्ट्रलाई वरीयतामा राख्छ । अहिलेसम्म नेपालले ४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेदरल्यान्ड्ससँगको शृंखला पूरै भएमा नेपाल विश्व वरीयतामा छिर्नेछ ।

गत वर्षको मार्चमा बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा नेपाल र नेदरल्यान्ड्सले स्मरणीय प्रदर्शन गरेपछि आईसीसीले जूनको अन्त्यमा नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । नेपालले विश्व ट्वान्टी–२० मा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । आयोजक बंगलादेशसँग पराजित भएको नेपाल झीनो रनरेट अन्तरमा दोस्रो चरणमा पुग्न सकेको थिएन । सोही प्रतियोगितामा आयरल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स दोस्रो चरणमा पुग्ने एक्लो एसोसिएट राष्ट्र बनेको थियो । नेदरल्यान्ड्सले दोस्रो चरणमा इंग्ल्यान्डलाई पनि पराजित गरेको थियो ।

एसियाली क्रिकेट परिषद्को पहलपछि नेपाल हङकङसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न श्रीलंका गएको थियो । तर वर्षाले एक खेलमात्र भएको थियो । जनवरीमा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले नेदरल्यान्ड्समाथि ऐतिहासिक जित हात पारेको थियो ।

तर मंगलबार हुने शृंखलामा नेदरल्यान्ड्सलाई दाबेदार मानिएको छ । नेपालसँग यसअघि भएको दुवै ट्वान्टी–२० खेलमा नेदरल्यान्ड्सले जितेको थियो । भर्खरै पपुवा न्युगिनीसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा डच टोलीले १ मा विजय र अर्कोमा पराजय भोगेको थियो ।

इंग्ल्यान्डमा चार अभ्यास खेलेको नेपाली टिम मंगलबार बिहानै नेदरल्यान्ड्स लाग्नेछ । इंग्ल्यान्डबाट आधा घन्टाको दूरीमा नेपाली टिम एमस्ट्राडम पुग्नेछ र पहिलो खेल मंगलबार नै हुनेछ ।

स्रोत : कान्तिपुर

Related posts