काठमाडौ, २०७२ असार १४,
थाइल्यान्डको बैंककमा भइरहेको एससीजी जुनियर एसियाली ब्याडमिन्टन च्याम्पियनसिपको टिम इभेन्टमा सोमबार नेपाल पराजित भएको छ । जापानले नेपाललाई ५–० ले पराजित गरेको नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । उक्त खेलमा अरू नेपाली खेलाडीको तुलनामा दीपेश धामीले उत्कृष्ट प्रदर्शन गरेको उनले जानकारी गराए । अघिल्लो दिन टिम इभेन्टमा नेपालले मंगोलियालाई ५–० ले हराउँदै विजयी सुरुआत गरेको थियो । त्यसमा दीपेशले पुरुष सिंगल्स, शिक्षा श्रेष्ठले महिला सिंगल्स, दीपेश र नीरविक्रम देवकोटाले पुरुष डबल्स, शिक्षा र सुनैना मुखियाले महिला डबल्स तथा नीर र सुनैनाले मिक्स डबल्स स्पर्धामा जित हात पारेका थिए ।
स्रोत : कान्तिपुर