ताजा खबर

लगातार चर्चामा टेलर

२०७२ असार १४,

“संगीतलाई नि:शुल्क बाँड्नु हुँदैन” भन्ने अमेरिकी गायिका टेलर स्वीफ्ट गत साता एप्पलसँगको जुँगाको लडाइँमा माथि परेपछि थप चर्चित भइन् । गतवर्ष नै उनले संगीतकर्मीलाई पर्याप्त पारिश्रमिक नदिएको भन्दै डिजिटल म्युजिक सर्भिस स्पोटिफाईबाट आफ्ना सबै गीतको क्याटलग फिर्ता ल्याएकी थिइन् । केही संगीतकर्मी स्वयंले टेलरलाई लोभी पनि भने, कतिले अवसरवादी पनि ।

१४ वर्षको उमेरमै व्यावसायिक गायिका बनिसकेकी टेलर संगीत बजारकी उम्दा प्रतिभा हुन् । सन् २००६ मा आफ्नै नामको पहिलो एल्बम निकालेपछि कन्ट्री सिंगरका रूपमा रातारात चर्चामा आएकी टेलरले गतवर्षको अन्त्यतिर पाँचौं एल्बम ‘१९८९’ ल्याइन् । गिनिज बुक्समा समेत चार रेकर्ड दर्ता गर्न सफल टेलरले समग्र अवार्ड भएका ४ सय २१ मनोनयनमध्ये २ सय ७ मा अवार्ड हात पारेकी छन्— सात ग्रामी, १२ बिलबोर्ड म्युजिक,

११ कन्ट्री म्युजिक र आठ एकेडेमी अफ कन्ट्री म्युजिक अवार्ड ।

यतिबेला उनी ‘१९८९ वल्र्ड टुर’ मा छिन् । आइतबार मात्रै लन्डनमा कन्सर्ट गर्ने क्रममा टेलरलाई टेनिसकी नम्बर एक खेलाडी सेरेना विलियम्सले स्टेजमै साथ दिएकी थिइन् । विम्बल्डनको तयारीमा व्यस्त सेरेनाले समय निकालेर हायड पार्कको स्टेजमा टेलरसँगै उक्लिएर हात हल्लाउन भ्याइन् । फोब्र्सको वार्षिक रिपोर्टमा विश्वका प्रभावशाली महिलाको सूचीमा ६५ औं नम्बरमा आएकी टेलर संगीतको लडाइँमा पछिल्लो पटक एप्पलसँग भिडेपछि धेरैको साथ पाइन् ।

एप्पलले तीनमहिने नि:शुल्क ट्रायल भन्दै नयाँ स्ट्रिमिङ सर्भिस एप्पल म्युजिक ल्याउन लागेपछि, ट्वीटरमा ६ करोड फलोअर्स रहेकी टेलरले रुष्ट हुँदै एप्पल जस्तो ठूलो कम्पनीका विरुद्धमा ‘टु एप्पल, लभ टेलर’ शीर्षक लामो विरोधपत्र लेख्दै भनेकी थिइन्, ‘हामी तिमीसँग फ्रीमा आईफोन माग्दैनौं भने कृपया तिमी पनि हामीसँग फोकटमा गीत/संगीत नमाग ।’ खुलापत्रको केही घण्टापछि नै एप्पलले निर्णय फिर्ता लिन बाध्य भएको थियो ।

२५ वर्षे गायिका यदाकदा मिडियामा आउने गलत समाचारप्रति पनि आगो ओकल्ने गर्छिन् । पछिल्लो समय ओकेले उनको सम्बन्धका बारेमा अड्कलबाजी छापेपछि उनले त्यो म्यागाजिनको विश्वसनीयतामा प्रश्न उठाइदिएकी थिइन् ।

यतिबेला भने म्युजिकल टुरमा रहेकी टेलरलाई सेरेनाबाहेक पनि मार्था हन्ट, केन्डल जेनर, कार्ली क्लोस, गिगी हाडिड लगायत चर्चित सेलिब्रिटीले स्टेजमै पुगेर उत्साहित मात्रै बनाएनन्, सँगै फोटो पनि खिचाएका थिए ।

आखिर यति बेला चर्चा नै टेलरको जो छ ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *