एजेन्सी म्याड्रिड, २०७२ असार १४,
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू रियल म्याड्रिडमै खुसी रहेको जनाएका छन् । स्पेनिस दैनिक पत्रिका मार्काले पोर्चुगिज स्ट्राइकर रियलमा खुसी नभएको समाचार सम्प्रेषण गरेपछि रोनाल्डोले सो भनाइ सार्वजनिक गरेका हुन् । ‘म रियलमै खुसी छु,’ रोनाल्डोले भने, ‘पछिल्लो केही सिजिन मैले रियललाई उत्कृष्ट योगदान दिएको छु ।’ गत सिजनमा रियललाई ठूलो उपाधि दिलाउन नसक्दा प्रशिक्षक कार्लो एन्सेलोटीले पद गुमाएका थिए । रियलले एन्सेलोटीको स्थानमा राफेल बेनेटिजलाई ल्याएको छ । महँगा खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा रियलले च्याम्पियन्स तथा स्पेनिस लिग गुमाएको धारणा क्लब व्यवस्थापकको छ । मुख्य स्ट्राइकर रोनाल्डो निर्णायक खेलमा चुकेको आरोप व्यवस्थापकले लगाएको छ । यसकारण नयाँ सिजनमा रियल रोनाल्डोप्रति सकारात्मक रहन नसक्ने स्पेनिस पत्रिका मार्काले दाबी गरेको छ । गत मार्चमा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा साल्केसँग पराजित हुँदा रोनाल्डोको ठूलो आलोचना भएको थियो । ‘केही समयम म चुप लागेँ, रियल र मेरो सम्बन्ध बिग्रेको छैन,’ उनले भने, ‘पत्रिकाले भनेजस्तो केही होइन ।’ रोनाल्डोले नयाँ सिजनमा क्लबको प्रदर्शनमा व्यापक सुधार आउने बताए । ‘नयाँ सिजनमा रियलले फरक योजना बनाएको छ, पछिल्लोपटकको जस्तो नतिजा आउनेछैन,’ रोनाल्डोले भने । नयाँ सिजनमा क्लबले प्रतिभावान् खेलाडी अनुबन्धन गर्ने योजना रहेको उनले बताए । ‘क्लबमा केही नयाँ खेलाडीको आगमनपछि प्रदर्शनमा पनि सुधार आउनेछ,’ उनले भने, ‘सन् २०१५–१६ को सिजनमा हामी युरोपकै उत्कृष्ट क्लब भएर देखाउँछौँ ।’
स्रोत : नया पत्रिका