ताजा खबर

भारतले जिम्बावेमा सिनियर खेलाडी नपठाउने

एजेन्सी नयाँदिल्ली, २०७२ असार १४,

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले जिम्बावेविरुद्धको सिरिजमा सिनियर खेलाडीलाई प्रतिस्पर्धा नगराउने भएको छ । बिसिसिआईले सोमबार जिम्बावविरुद्धको सिरिजका लागि छनोट गर्ने खेलाडीमा कप्तान महेन्द्रसिंह धोनी, टेस्ट कप्तान विराट कोहली तथा रविचन्द्रन आश्विनलाई आराम दिनेछ । बंगलदेशसँग २–१ ले सिरिज गुमाएको भारतले १० जुलाईमा जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सो सिरिजमा रोहित शर्मा र सुरेश रैनामध्ये एकले कप्तान गर्नेछन् । मुम्बई इन्डियन्सलाई दोस्रोपटक इन्डियन प्रिमियर लिग उपाधि दिलाएका रोहितलाई एकदिवसीय टोलीका कप्तान बनाउने तयारी छ । रोहितले कप्तानी पाए रैना उपकप्तान बन्नेछन् ।

बोर्डले जिम्बावेविरुद्ध अजिन्का रहानेलाई मध्यक्रमको जिम्मेवारी दिनेछ । बिसिसिआईले सिनियर खेलाडीलाई आरामको आवश्यकता भएको जनाएको छ । ‘कोहली र आश्विनले टेस्ट तथा एकदिवसीय खेलमा निरन्तरता दिइरहेका छन्, अस्ट्रेलिया भ्रमणपछि धोनी पनि सक्रिय नै छन्,’ बिसिसिआईको विज्ञप्तिमा भनिएको छ, ‘हामी सिनियर खेलाडीलाई यसपटक रेस्ट दिन गइरहेका छौँ ।’ कोहली र आश्विनले आराम पाउँदा श्रीलंकाविरुद्धको सिरिज फलदायी हुने बिसिसिआईको भनाइ छ । ‘श्रीलंकाविरुद्धको सिरिजमा खेलाडी फिट हुन जरुरी छ, अझ यसमा पनि सिनियर खेलाडी नै फिट हुनुपर्छ,’ बिसिसिआईले भन्यो, ‘हामी श्रीलंकाविरुद्धको उत्कृष्ट नतिजा निकाल्ने प्रयासमा छौँ ।’ आश्विनले आराम पाउँदा पभेज रसुल र हरभजन सिंहमध्ये एकले अवसर पाउनेछन् । युवा खेलाडीलाई प्राथमिकतामा राख्दा हरभजन र रोबिन उथप्पा बाहिरिन सक्छन् । स्टुवार्ट बिन्नी, अम्बाती रायडु तथा मोहित शर्माको स्थान पक्का रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिमर उमेश यादव चोटका कारण ६ महिना बाहिर रहनेछन् ।

भारतले जिम्बावेविरुद्ध तीन एकदिवसीय र दुई टी–२० क्रिकेट खेल्नेछ । जिम्बावे क्रिकेट बोर्डले भारतविरुद्धको प्रतिस्पर्धा फलदायी हुने जनाएको छ । ‘भारतसँगको सिरिज हाम्रा लागि महत्त्वपूर्ण हुनेछ, क्रिकेट विकासका लागि ठूलो टोलीविरुद्ध खेल्न आवश्यक छ,’ बोर्डले भन्यो । ह्यामिल्टन मासाकाड्जाले टोलीको नेतृत्व गर्नेछन् । मासाकाड्जाकै नेतृत्वमा जिम्बावेले पाकिस्तानलाई कडा टक्कर दिएको थियो ।

स्रोत : नया पत्रिका

Related posts