ताजा खबर

ग्रिसलाई अस्थायी राहत, इसिबीले आपत्कालीन सहयोग जारी राख्ने   

एजेन्सी ब्रसेल्स, २०७२  असार १४,

युरोपियन सेन्ट्रल बैंक (इसिबी) ले ग्रिक बैंकहरूलाई आपत्कालीन सहयोग जारी राख्ने जनाएको छ । तर, यो कोषका लागि सहयोग शुक्रबार गरिएको सम्झौताअनुसार हुने उसको सर्त छ । यसको अर्थ अब इसिबीले पनि ग्रिक बैंकहरूलाई नयाँ ऋण प्रदान गर्नेछैन । इसिबीले आपत्कालीन तरलता सहयोग (इएलए) बारे आफ्नो निर्णय पुन: अध्ययन गर्ने, यसबारे सरोकारवालासँग छलफल गर्ने र बैंक अफ ग्रिससँग सहकार्य गर्ने पनि जनाएको छ । इसिबीको यो निर्णयसँगै ग्रिसको आर्थिक संकट थप गहिरिने निश्चित छ । ग्रिसका बैंकहरू अहिले इएलएमा निर्भर छन् । इएलएमा पनि नयाँ मुद्रा आउन छाडेपछि ग्रिसमा आर्थिक मुद्दामा थप समस्या देखिनेछ । उता, इसिबीले भने ग्रिसले अहिले पनि युरोमा कारोबार जारी राख्न सक्ने बताएको छ । तर, नयाँ सम्झौता नभएमा यो अवधि त्यति लामो हुनेछैन । केही दिनमै ग्रिसमा पैसाको अभाव देखिनेछ । उता, ग्रिसका जनता पैसा निकाल्न नपाइने डरले बैंकमा मौज्दात आफ्नो रकम झिकिरहेका छन् । ग्रिसमा भएका एटिएमअगाडि लामा लाइन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार युरोपेली अर्थमन्त्रीहरूले ग्रिसले कर्जा तिर्ने समय बढाउन गरेको प्रस्ताव अस्वीकार गरेका छन् । ग्रिसले मंगलबार अन्तर्राष्ट्रिय मुद्रा कोषलाई १.५ बिलियन युरो तिर्नुपर्ने हुन्छ । तर, नयाँ सम्झौता नभएसम्म यो असम्भव छ । नयाँ सम्झौताका लागि यसअघि भएका सबै वार्ता असफल भएका छन् । ऋणदाताहरूसँग वार्ता असफल भएपछि इसिबीले पनि ग्रिसलाई सहयोग रोक्ने अनुमान थियो ।

इसिबीले सहयोग रोकेको भए सोमबारबाटै ग्रिसका सबै बैंक बन्द हुन बाध्य हुनुपथ्र्यो । उता, ग्रिसका प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले आइतबार पनि ऋणदातासँग मंगलबारको समयसीमा केही दिनका लागि बढाउन अनुरोध गरेका छन् । उनले शनिबारै युरोपेली देशले राखेका प्रस्तावलाई स्वीकार गर्ने/नगर्ने विषयमा ५ जुलाईमा जनमतसंग्रह गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीलाई संसद्को साथ ग्रिसको आर्थिक संकटबारे ऋणदाता देशले गरेको प्रस्ताव स्वीकार गर्ने/नगर्ने विषयमा प्रधानमन्त्री एलेक्सिसले घोषणा गरेको जनमतसंग्रहलाई ग्रिसको संसद्ले बहुमतका साथ पारित गरेको छ । आइतबार यस विषयमा संसद्मा भएको मतदानमा तीन सय विधायकमध्ये एक सय ७९ ले एलेक्सिसको समर्थनमा मतदान गरे । ग्रिसको कर प्रणाली सुधार गर्नुपर्ने र पेन्सनलगायतका सुविधा कटौती गरे ग्रिसलाई थप ऋण दिन ऋणदाता तयार भएको प्रस्ताव आएको थियो । तर, प्रधानमन्त्री एलेक्सिसले यो प्रस्तावको विरोध गरेका छन् । ‘हामीलाई अहिले कमजोर मानेर हाम्रो प्रतिष्ठामाथि प्रहार गरिएको छ,’ जनमतसंग्रह घोषणा गर्दै एलेक्सिसले भनेका थिए, ‘अब आफ्नो प्रतिष्ठाको निर्णय सम्पूर्ण नागरिकले लिनुपर्नेछ ’ जनमतसंग्रहमा ऋणदाताको प्रस्ताव अस्वीकार भएमा ग्रिसले थप आर्थिक समस्याको सामना गर्नुपर्ने हुन्छ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *