एमालेमा ओलीविरुद्ध हस्ताक्षर अभियान

काठमाडौं, २०७२  असार १४,

एमालेभित्र मत्थर हुँदै गएको गुटबन्दी राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति प्रकरणले फेरि बल्झेको छ । अध्यक्ष केपी ओलीविरुद्ध नेता माधव नेपाल समूहले हस्ताक्षर अभियान चलाएको छ । पार्टीमा अध्यक्ष ओलीको स्वेच्छाचारिता बढेको भन्दै नेपाल समूहले नयाँ बानेश्वरको एक होटेलमा आइतबार केन्द्रीय सदस्यहरूको भेला गरेको छ । भेलामा सहभागी झन्डै ५० केन्द्रीय सदस्यले अध्यक्ष ओलीविरुद्ध हस्ताक्षर गरेका छन् । सोमबार सभासद्हरूको हस्ताक्षर जुटाउने उनीहरूको तयारी छ । राखेप सदस्यसचिवमा पार्टीनिकट खेलकुद महासंघका कार्यबाहक अध्यक्ष केशवकुमार विष्टलाई नियुक्त गरेपछि अध्यक्ष ओली असन्तुष्ट छन् । उनले खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई निर्णय सच्याउन निर्देशन दिएका छन् ।

निर्णय नसच्याए मन्त्रीबाट हटाउने चेतावनीसमेत दिएपछि नेपाल समूहले अध्यक्ष ओलीको कार्यशैली स्वेच्छाचारी भएको भन्दै हस्ताक्षर अभियान चलाएको हो । ‘अहिले हामीले आन्तरिक रूपमा हस्ताक्षर जुटाइरहेका छौँ,’ नेपालनिकट पोलिटब्युरो सदस्य बेदुराम भुसालले भने, ‘अध्यक्षले पार्टीमा छलफल नचलाई, विधि, विधानभन्दा बाहिर गएर मन्त्री हटाउनुभयो भने यो हस्ताक्षर सार्वजनिक गरेर उहाँको स्वेच्छाचारी कदमविरुद्ध पार्टीभित्र संघर्ष चलाउँछौँ ।’ नेपाल समूहले हस्ताक्षर संकलन गरेकै कारण मन्त्री पौडेललाई आइतबार नै बर्खास्त गर्ने तयारीमा रहेका अध्यक्ष ओली ‘ब्याक’ भएको स्रोतले बतायो ।

स्रोतका अनुसार अध्यक्ष ओली मन्त्री पौडेललाई आइतबार बर्खास्त गरेर दीपक कार्कीलाई खेलकुदमन्त्री बनाउने तयारीमा थिए । ओलीको तयारीबारे सूचना पाएपछि नेता नेपालले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरेर ‘ओलीले मन्त्री हटाउने कुनै पत्र पठाउनुभएको छ’ भन्दै जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीले ओलीबाट त्यस्तो कुनै पत्र नआएको जवाफ दिएको नेपालनिकट स्रोतले बतायो । त्यसपछि नेपालले अध्यक्ष ओलीबाट पत्र आए पनि त्यो पार्टीको संस्थागत निर्णय नभएकाले मन्त्री नहटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यक्ष ओलीलाई टेलिफोन गरेर मन्त्री पौडेललाई बर्खास्त नगर्न आग्रह गरेका थिए । खनालको आग्रह तथा नेपाल समूहको आफूविरुद्ध हस्ताक्षर अभियानपछि ओली पछाडि हटेको स्रोतले बतायो । राखेपमा सदस्यसचिव नियुक्तिको विषयमा खेलकुदमन्त्री पौडेललाई बर्खास्त गर्न लागेको विषयमा शनिबार राति अध्यक्ष ओली र नेता नेपालबीच फोनमा चर्काचर्कीसमेत भएको थियो । नेपालले ओलीलाई फोन गरेर मन्त्री पौडेललाई आफूखुसी हटाए आफूहरू संघर्षमा उत्रने चेतावनी दिएका थिए ।

जवाफमा ओलीले पनि ‘अध्यक्षलाई नटेर्ने मन्त्री राख्दिनँ, सडकमा उत्रे उत्रनुस्’ भनेको स्रोतले बतायो । ओलीको जवाफपछि नेपालले आइतबार बिहानै आफूनिकट केन्द्रीय सदस्यहरूको भेला गराएर हस्ताक्षर अभियान चलाएको उनीनिकट एक पोलिटब्युरो सदस्यले बताए । नेपालले चार दिनअघि एक सार्वजनिक कार्यक्रममा ओलीनिकट मानिने स्थायी समिति सदस्य शंकर पोखेरललाई सँगै राखेर अध्यक्ष स्वेच्छाचारी रूपमा अगाडि बढ्न खोजेको भन्दै आलोचना गरेका थिए । ‘पार्टी व्यक्तिको स्वेच्छाचारितामा होइन, विधि र प्रक्रियाअनुसार चलोस्,’ पार्टीका स्वयंसेवकले बनाएका अस्थायी घर हस्तान्तरण गर्न सिन्धुपाल्चोक पुगेका नेपालले भने, ‘मनलागी चलाउने हो भने दलमा पनि भुइँचालो आउँछ, म चाहन्छु, त्यो स्थिति नआओस् ।’ यसैगरी शनिबार भैरहवा पुगेका नेपालले अध्यक्ष ओलीको कार्यशैलीको विरोध गरेका थिए । ‘कांग्रेस नेतृत्वले भन्दा एमाले नेतृत्वको सरकार भयो भने राम्रो काम गर्छ भनेर सरकार परिवर्तन गर्न खोजिएको हो,’ पछिल्लो समयमा अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन सक्रिय रहेका नेपालले भनेका थिए, ‘तर, एमाले पनि व्यक्तिगत सोचमै चल्ने हो भने त्यसको कुनै अर्थ छैन ।’ यता, शनिबार बिहान आफ्नै निवास कोटेश्वरमा भेटघाटमा आएका पार्टीका नेता तथा कार्यकर्तासँग पनि नेता नेपालले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । ‘म अहिले केपी ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भनेर लागेको छु । मैले उहाँलाई प्रधानमन्त्री बनाउन खोजेको यस्तै स्वेच्छाचारिता बढोस् भनेर होइन,’ भेटमा सहभागी एक नेताले नेपालको भनाइ उद्धृत गर्दै भने, ‘पार्टीभित्रै अन्याय गर्नेले राष्ट्र कसरी चलाउँछ ?’ मन्त्री पौडेललाई हटाए आफूले विरोधमा पत्रकार सम्मेलन गर्ने पनि उनले कार्यकर्तालाई बताएका थिए । ओली–नेपाल गुटको उतारचढाव माधवकुमार नेपालले १५ वर्षसम्म महासचिव रहेर पार्टी हाँक्दा केपी ओली सधैँ विरोधी थिए । ०६३ को संविधानसभा निर्वाचनमा पार्टी अनपेक्षित रूपमा पराजित भएपछि राजीनामा दिएका नेपालले स्थायी समिति बैठकमा झलनाथ खनाललाई कार्यबाहक महासचिवमा प्रस्ताव गरे । तर, ओली नेपालसँग असन्तुष्ट भए । आठौँ महाधिवेशनसम्म आइपुग्दा नेपाल खनालसँग टाढिँदै गए ।

नेपाल नेतृत्वको सरकार गठनदेखि खनाल नेतृत्वको सरकार ढाल्दासम्म ओली र नेपाल एउटै गुटमा थिए । पछिल्लो समयमा संसदीय दलको नेता चयन गर्ने वेलाबाट दुई नेताबीच दूरी बढेको थियो । दलको नेतामा ओलीले उम्मेदवारी दिएका थिए भने नेपालले खनाललाई साथ दिएका थिए । ओली दलको नेता निर्वाचित भएपछि गुटबन्दी बढेको थियो । नवौँ महाधिवेशनमा ओली र नेपाल अध्यक्षका प्रत्याशी भए । ओली अध्यक्ष निर्वाचित भए । त्यसपछिको लामो समय एमालेमा महाधिवेशनको गुटगत ह्याङओभर थियो । बैठक बहिष्कार संसदीय दलको नेता निर्वाचित भएपछि ओली बिरामी भएर ग्रान्डी अस्पतालमा भर्ना भए । कांग्रेससँगको गठबन्धन सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा छलफल गर्न भन्दै ओलीकै दबाबमा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालले अस्पतालमै स्थायी समिति बैठक राखे । नेपालले अस्पतालमा बोलाइएको बैठकमा नजाने भन्दै बहिष्कार गरे । नेपालको बहिष्कारपछि खनाल र ओलीले सल्लाह गरेर सरकारमा १० जना मन्त्री पठाए । जसमा नेपाल समूहका लालबाबु पण्डित मात्र परे । यसले पनि ओली र नेपालबीचको सम्बन्धको दूरी बढाएको एमाले नेताहरू बताउँछन् । मन्त्रीको बर्खास्तीले थप समस्या एमाले अध्यक्ष केपी ओलीले यसअघि उद्योगमन्त्री कर्णबहादुर थापालाई हटाएर महेश बस्नेत र पर्यटनमन्त्री भीमप्रसाद आचार्यलाई हटाएर दीपकचन्द्र अमात्यलाई मन्त्री नियुक्ति गरेका थिए । सो निर्णय गर्दा पनि अध्यक्षले आफूखुसी गरेको भन्दै नेपाल समूहले लिखित असहमति पार्टीमा दर्ता गराएको थियो । यसैगरी, सुकुम्बासी आयोग गठन, मन्त्रिपरिषद्ले गर्ने २६ सभासद् मनोनयन र संसदीय समितिका सभापतिहरूको चयन गर्दा पनि पार्टीमा कुनै छलफल नगरी एकलौटी निर्णय गरिएको भन्दै नेपाल समूहले लिखित असहमति राखेको थियो ।

अध्यक्षले चित्तबुझ्दो कारण नदिएसम्म अघि बढ्न नदिने नेपाल समूहको अडानका कारण स्थायी कमिटी, पोलिटब्युरो गठनसमेत लामो समयसम्म प्रभावित बनेको थियो । अध्यक्ष ओलीले पार्टीलाई विधि–विधानअनुसार चलाउने प्रतिबद्धता गरेपछि पटक–पटक अवरुद्ध एमाले स्थायी कमिटी बैठक सुचारु भएको थियो । तर, ओलीले ८ जेठमा पार्टीमा कुनै छलफल नगरी पर्यटनमन्त्री दीपकचन्द्र अमात्यलाई हटाएका थिए । ओलीले अमात्यको ठाउँमा कृपासुर शेर्पालाई नियुक्ति गरेका थिए । के भन्छन् मन्त्री पुरुषोत्तम पौडेल ? राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पद धेरैको प्राथमिकतामा थियो । परिषद्मा नियुक्त गर्ने वेला भएपछि मैले सबैसँग सल्लाह गरेँ । पार्टीले मलाई फलानोलाई गर भनेर कसैको नाम दिएको पनि थिएन । मैले सबैसँग सल्लाह गरेर आफ्नो निर्णय गरेँ । पार्टीको खेलकुद महासंघको कार्यबाहक अध्यक्षलाई सदस्यसचिव बनाएको हो । खेलकुद क्षेत्रमै भएको र पार्टीको संगठनको कार्यबाहक अध्यक्षको तहको व्यक्ति पनि भएकाले उहाँलाई बनाउँदा पार्टीलाई हानि हुने काम गरेँ भन्ने लाग्दैन । यही विषयलाई लिएर आइतबार मलाई मन्त्रीबाट हटाइँदै छ भन्ने खुबै हल्ला भयो । त्यो हल्ला कसले किन चलाए मलाई थाहा छैन । आइतबार दिउँसो पनि अध्यक्षले मलाई उहाँको निवास बालकोटमा बोलाउनुभयो । म गएँ । दुईजनाबीच राम्रो कुराकानी भयो । मत्थर भएको गुटबन्दी किन बल्झियो ? स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न गत माघको दोस्रो साता डाकिएको स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले विधि–विधानअनुसार पार्टी चलाउने प्रतिबद्धता गरेपछि एमालेमा गुटबन्दी मत्थर हुँदै गएको थियो ।

पछिल्लोपटक भूकम्पको महाविपत्तिपछि सञ्चालित स्वयंसेवा अभियान समापनपछिको प्रतिवेदनमा अभियानले पार्टीभित्रको गुटबन्दी समाप्त पारेको उल्लेख छ । स्वयंसेवा अभियान समापनकै दिन १० असारमा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा केशवकुमार विष्टलाई नियुक्ति गरेपछि एमालेमा फेरि विवाद भएको छ । विष्टको नियुक्तिको विषयलाई लिएर एमाले अध्यक्ष ओलीले मन्त्री पौडेललाई बर्खास्त गर्ने चेतावनी दिएपछि दुई गुटबीच विवाद देखिएको छ । एमाले उपमहासचिव घनश्याम भुसालले भने पार्टीभित्र गुटबन्दी नै अन्त्य नभएको बताए । ‘अध्यक्षले गुटबन्दी गरिरहनुभएको थियो, भूकम्प, संविधान आदिका कारण हामी चुप लागिदिएकाले मात्र नदेखिएजस्तो लागेको हो,’ पुनर्निर्माण अभियानको समापनमा दिएको वक्तव्य नै गलत भएको उल्लेख गर्दै भुसालले भने, ‘अध्यक्षले पार्टीलाई आफ्नै खल्तीबाट चलाउन खोजेको हो भने पनि यतिन्जेल त खल्ती भरिसक्नुपर्ने हो । कसको खल्तीबाट चलाउन खोज्दै हुनुहुन्छ भन्ने पनि बुझिएन ।’ एमाले सचिव प्रदीप ज्ञवाली यो प्रकरणले गुटबन्दी सिर्जना नगर्ने बताउँछन् । मन्त्रीले आफ्नै अध्यक्षतामा बसेर अयोग्य ठहर गरेको विवादास्पद व्यक्तिलाई सदस्यसचिवमा नियुक्त नगर्नुस् भनेर अध्यक्षले भन्दाभन्दै पनि नेतृत्वको निर्देशनको अवज्ञा गरेको ज्ञवालीले बताए । ज्ञवालीले भने, ‘मन्त्रीले गलत निर्णय गर्दा त्यसलाई संरक्षण गर्नु स्वेच्छाचारिता हो कि विवादास्पद व्यक्तिलाई नियुक्त नगर्नुस्, परामर्श गरेर गरौँला भनेर अध्यक्षले भन्नु स्वेच्छाचारिता ?

स्रोत : नयापत्रिका

Related posts