ताजा खबर

९९ प्रतिशत पाठ्यपुस्तक छापिए पनि अभाव कायमै

काठमाडौं, २०७२ असार १४,

जनक शिक्षा सामग्री केन्द्रले ९९ प्रतिशत पाठ्यपुस्तक छापेर पुर्‍याएको दाबी गरे पनि पुस्तक व्यवसायीले पुस्तक नपाएको गुनासो गरेका छन् । शिक्षा मन्त्रालयका अधिकारीले भने विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याउन ढिलाइ गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो आइरहेका वेला शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले पाठ्यपुस्तक वितरणमा गल्ती गर्नेलाई कारबाही गर्ने बताएका छन् । सरकारी निकायका रूपमा रहेको जनक शिक्षा सामग्री केन्द्र र निजी प्रेसहरूले आवश्यक संख्यामा पाठ्यपुस्तक छपाइ गरी जिल्लामा पठाइसकेको दाबी गरेका हुन् । तर, विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक नपुग्नुले छापिएका ती पाठ्यपुस्तक कहाँ छन् र किन विद्यार्थीहरू पाठ्यपुस्तक किन्न विक्रेतासमक्ष पुग्न चाहिरहेका छैनन् भन्ने खोजीको विषय बनेको छ ।

यस वर्षका लागि जनक शिक्षाले एक करोड ४५ लाख थान र निजी प्रेसले एक करोड ८५ लाख थान पाठ्यपुस्तक छपाइ बिक्री–वितरण गर्नुपर्ने जिम्मा पाएको थियो । जनक शिक्षाले भने ९९ प्रतिशत पाठ्युपस्तक पुर्‍याएको दाबी गरे पनि पाठ्यपुस्तक नपुगेको गुनासो आएपछि शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयहरूबाट वास्तविक रिपोर्ट लिने प्रवक्ता लम्सालले बताए । जनक शिक्षालाई कक्षा ६ देखि १० सम्मका र निजीलाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइ तथा बिक्री–वितरणको जिम्मा लगाइएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आइतबार आयोजना गरेको अन्तरक्रियामा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आफूहरूलाई जिम्मा दिइएकोमध्ये ९९ प्रतिशत पाठ्यपुस्तक छपाइ गरी वितरणका लागि जिल्ला पठाइसकेको दाबी गरे । उनले शिक्षा विभागले उपलब्ध गराएको विवरणका आधारमा त्यसभन्दा पनि बढी पुस्तक छपाइ गरेको बताए । ‘पुस्तकको माग नै छैन, बाहिर पुस्तक पुगेन भनेर सुनिन्छ,’ उनले भने, ‘ऐच्छिक विषयका चार/पाँच थान पुस्तकका कुरा गरेर जनक शिक्षालाई नै बदनाम गर्न खोजिएको छ । धमिलो पानीमा माछा मार्न खोज्ने सक्रिय छन् ।’

स्रोत : नयाँ पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *