ताजा खबर

साच्चै हामीले सोचे भन्दा धेरै सुरीक्षत रैछ पोखरा —भारतीय पत्रकार

दिननाथ बराल,
पोखरा, २०७२  असार १३,

“साच्चै हामीले सोचे भन्दा धेरै सुरक्षित रैछ पोखरा” यो भनाई भारतका पत्रकार डिके सिंहको हो । गत वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पले गर्दा मित्र राष्ट भारतका धेरै संचार माध्यमहरुले पोखरा सहित नेपालका धेरै ठाँउहरु ध्वस्त भएको समाचारमा प्रकाशन तथा प्रशारण भए पनि आफुहरु पोखरामै आउदा आफुहरुले भारतमा गरीएको प्रचार भन्दा ठिक उल्टो भएको आईतबार पोखरामा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दैै भारतका पत्रकार सिंहले बताएका हुन ।

भारतका अर्को पत्रकार गुड्डु जैयसवालले जानी नजानी भारतका धेरै संचार माध्यमहरुले नेपालको बारेमा नकरात्मक सन्देश प्रवाह भएको बताउदै आगामी दिनमा सत्य तथ्य समाचार दिने वचन दिए । पत्रकार सिंह र जैसवाल जस्ता भारतबाट आएका पत्रकार तथा नेताहरुले पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा आफुहरुले सघाउने वचन दिएका छन । गल्ती समाचार गएकोमा माफी माग्दै उनीहरुले विगत देखिको नेपाल र भारतको सम्बन्धलाई प्रगाढ पार्न पनि निरन्तर रुपमा नेपालसंग समन्वय गरी नेपालको विकासमा आफुहरुले पनि सहयोग गर्ने बताएका हुन ।

पत्रकार गुड्डु जैयसवालले बिगतमा भएको गल्ती सच्याउन शुरु भइसकेको बताउँदै नेपालको पर्यटन प्रबद्र्धनका लागि अब भारत गएर सक्दो प्रयास गर्ने जनाए । नेपाल भारत मैत्रि संघका तथा पर्यटन ब्यबसायी श्रीचन्द्र गुप्ताले नेपालको १४ जिल्लामा मात्रै भुकम्पले क्षेति पु¥याएको र अन्य स्थान सुरक्षित भएको दाबी गरे । उनले नेपाल र भारतबीच धेरै बर्ष पुरानो सम्बन्ध भएकोले भूकम्पको केहि गलत समाचार भारतीय केही मिडियामा छाया पनि दुइ देशबीचको सम्बन्धमा कुनै कमी नआउने दाबी गरे । उनले भने “पहिला जे भयो अब हामीले यथार्थ देख्यौं, अब पोखरा सहितका पर्यटकीय क्षेत्र सुरक्षित भएको हामीले भारतमा सकरात्मक प्रचार गर्ने छौं ।”

भारतीय समाजवादी पार्टीका नेता आरिफ हास्मीले नेपालीलाई भने “तपाईंहरु अहिले आत्तिनुभएको छ, तर धैर्य गर्नुस्, मलाई विश्वास छ तपाईंहरु ६ महिनादेखि १ वर्ष भित्रमा पहिल्यैकै अवस्थामा फर्कनुहुनेछ । ” पुराना संरचना भत्किएपनि नयाँ संरचना केही नभएको बताउँदै पोखरा लगायतका धेरै ठाँउहरु आफुहरुले सोचे भन्दा ठिक उल्टो रहेको बताए ।

पोखरा भ्रमणमा रहेका भारतीय संचारमाध्यमका पत्रकारसँगको एक टोली हाल पोखरामा रहेका छन । पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी)ले आयोजना गरेको छलफलमा बोल्दै भारतीय संचारकर्मीको भ्रमणलाई संयोजन गरेका पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष हरि शर्माले नेपालबारे सकारात्मक सन्देश दिलाएर प्रचारप्रसारमा सघाउन संचारकर्मी समक्ष आग्रह गरे ।

पिटिआरसीका संयोजक गणेशबहादुर भट्टराईले नेपाल र भारतबीचको सम्बन्ध सदियौं देखि भएकोले एकअर्कालाई समस्या पर्दा सघाउनेगरि सकारात्मक सन्देश दिलाउनुपर्ने बताए । नेपालका धेरै पर्यटकीय स्थलहरु सुरक्षित भएको दाबी गर्दै उनले भने, “नेपालको पर्यटकीय स्थलहरु मध्ये करिब १५ प्रतिशतमात्र प्रभाव परेको हो । ” पोखरा, चितवन, लृुम्बिनी, अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको उनले दाबी गरे । प्राकृतिक विपद्सँग कोहि पनि लड्न नसक्ने भएकोले यससँग डराउने भन्दा पनि सतर्क हुनुपर्ने उनले बताए । पिटिआरसी मिडिया संयोजक टिकाराम सापकोटाले पोखरामा भारतीय पर्यटकको संख्या सर्वाधिक रहेको बताउदै बार्षिक रुपमा २ लाख सम्म पर्यटक भित्रिने दाबी गरे ।

Related posts