ताजा खबर

रोपाई महोत्सवको तयारी पुरा ;विभिन्न देशका एक सय पर्यटक सहभागि हुने

दिननाथ बराल,
पोखरा, २०७२, असार १३,

भूकम्पले गर्दा विदेशी पर्यटकको खडेरी लागेको अबस्थामा पोखरामा आयोजना हुने असारे रोपाई महोत्सवमा भने एक सय पर्यटकहरु सहभागि गराउने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको विरौटमा आयोजना हुने रोपाई महोत्सवमा विदेशी पर्यटकको सहभागिता बढाउन दुतावास, कुटनीतिक नियोग र विभिन्न गैर सहकारी संस्थासँग समन्वय गरि एक सय बढी विदेशी पर्यटकहरु सहभागि गराउने तयारी भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले हालसम्म ६० बढी पर्यटकहरु सहभागि हुने भएको दाबी गरी असार १५ गतेसम्म विभिन्न देशका गरी एक सय बढी पर्यटकहरु सहभागि हुने भएको बताए । पोखरामा आन्तरिक तथा बाह््य पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरीने उक्त महोत्सवको तयारी पुरा भएको महोत्सव संयोजक महेन्द्र श्रेष्ठले बताए । रोपाई महोत्सवको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड र पोखरा उद्योग बाणिज्य संघ र महोत्सवको स्थानीय आयोजकमा विरौटा क्लव रहेको छ । ‘हिलोमा एक पटक टेक्नुपर्छ है’ र ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित आयोजना हुने महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाउने संयोजक श्रेष्ठले विश्वास लिएका छन ।

पोखरा १७, रामेश्वर मार्ग रामन्दिर अगाडि समशेरबहादुर पौडेलको ११ रोपनी खेतमा आयोजना हुने महोत्सवमा विदेशी पर्यटकसहित विभिन्न महिला तथा आमा समुहले प्रतिष्पर्धात्मक रुपमा हिलो खेल्दै धान रोप्नुका साथै विभिन्न प्रतियोगिता समेत आयोजना गरिएको स्थानीय आयोजक विरौटा क्लवका अध्यक्ष सुर्य बरालले बताए । उहाँका अनुसार महोत्सवमा साउने प्रतियोगिता, असारे गितसँगै रोपाई, विदेशी र नेपाली सहित विभिन्न समुहको रस्साकस्सी, माछा समाउने, विद्यार्थी, पत्रकार र पर्यटकको हिलो दौड पनि गराईनेछ । प्रतियोगितमा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगदसहित आकर्षक पुरष्कार प्रदान गरिनेछ ।

स्वदेशी तथा विदेशी गरि करिव १५ हजारको सहभागिता रहने महोत्सवको खर्च ९ लाख ७५ हजार अनुमान गरिएको छ । विगतका वर्षमा झै यसवर्ष पनि रोपाई महोत्सवमा तीन जनालाई कृषकलाई सम्मान गरिने भएको छ । संयोजक श्रेष्ठका अनुसार जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा नगद पाँच हजारसहित सम्मान गरिनेछ । फलफुल तथा तरकारी, खाद्यन्न र पशुपालन तथा कुखुरापालन विधाका तीन जना कृषकलाई सम्मान गरिने थापाले बताए ।

पोखरा र आसपासका क्षेत्रमा हरेक वर्ष फरक फरक ठाउँमा गरिदै आईएको महोत्सवले खेतियोग्य जमिनलाई संरक्षण, धानको महत्व स्थापति गर्न, कृषि पर्यटनको प्रवद्र्धनका साथै युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न पनि महोत्वस सहयोग बन्ने परिषद्का महासचिव रामु गौतमले बताए । महोत्सवको अवसरमा पार्किङको लागि जिल्ला ट्राफिक कार्यालयसंग समन्वय गरी व्यावस्थापन मिलाएको क्लवका अध्यक्ष बरालले बताए ।

Related posts