ताजा खबर

आर्थिक संकटबारे ग्रिसमा जनमतसंग्रह हुने 

२०७२ असार १३,

अबका विकल्प

ग्रिसका विषयमा कुनै सम्झौता हुनेछैन । आइएमएफ र युरोपेली देशले थप कडाइ गर्नेछन् । ग्रिसका बैंकहरूमाथि उनीहरूको सोझो निगरानी हुनेछ ।

ग्रिसले अन्तिम समयमा ऋणदाताका प्रस्ताव स्वीकार गर्छ र अहिलेका लागि युरोजोनमै रहन्छ । र, युरोसँग ग्रिस मुद्राको कारोबार रहिरहन्छ ।

कुनै सम्झौतामा पुगिनेछैन । तर, पनि युरोपेली मुलुक, आइएमएफ र ग्रिस एक–अर्काप्रति लचक हुनेछन् । अहिलेका लागि ग्रिसलाई युरोपेली मुलुकले सहयोग गर्नेछन् ।

जुन प्रस्ताव ग्रिसले मानेन

युरोपेली मुलुक र ऋणदाताले ग्रिसलाई प्रस्ताव गरे– दिइरहेको पेन्सन घटाउनू ।

फ्याक्ट : ग्रिसको पेन्सन अत्यन्तै कठिन किसिमको छ । जागिरबाट छिटो रिटायर लिनेले पनि पेन्सन पाउँछन् । बेलायतको भन्दा ग्रिसले पेन्सनमै ३० प्रतिशतभन्दा धेरै खर्च गर्छ ।

तर, ग्रिसले ऋणदाताको यो प्रस्तावलाई अस्वीकार गर्‍यो । सामाजिक मान्यता नै भंग हुने भएकाले यो प्रस्ताव नमान्ने ग्रिस सरकारको तर्क छ ।

ग्रिसमाथि तत्कालका लागि दोस्रो प्रस्ताव थियो– करमा कडाइ गर्नु र एकरूपता बनाउनु

फ्याक्ट : ग्रिसको कर प्रणाली पनि समस्याग्रस्त भएको विश्लेषण छ । कम्तीमा २३ प्रतिशत कर लिने गरेको ग्रिसले खाना तथा इन्धनमा कम कर लिन्छ । तर, ६ वटा विभिन्न कर दर छन् ।

तर, ग्रिसले यो प्रस्तावलाई पनि अस्वीकार गरेको छ । आफ्ना सम्पूर्ण प्रणालीलाई सुधार गर्ने सहमति जनाउँदाजनाउँदै पनि ऋणदाताले ग्रिक जनताको अपमान गरेको ग्रिस सरकारको आरोप छ ।

एथेन्स:

आर्थिक संकटको चपेटामा परेको ग्रिसका प्रधानमनत्री एलेक्सिस त्सिप्रासले युरोपेली देशको प्रस्तावित राहत प्याकेज सम्झौताबारे जनमतसंग्रहमा जाने घोषणा गरेका छन् । यो जनमतसंग्रह ५ जुलाइमा हुनेछ ।

ग्रिक टिभीमा सम्बोधन गर्दै एलेक्सिसले यो घोषणा गरेका हुन् । उनले भने, ‘हामीले आममानिसको चाहना पनि बुझ्न चाह्यौँ । अब यस विषयमा तपाईंहरूले नै निर्णय गर्नुहोस् ।’ सँगसँगै एलेक्सिसले स्वतन्त्र भएर यस विषयमा फैसला गर्न पनि आममानिससँग अनुरोध गरेका छन् ।

उनले ऋणदाताहरूको प्रस्तावित सम्झौतामा युरोपेली मूल्य, मान्यता तथा नियमको उल्लंघन भएको र ग्रिसका जनताले अपमान झेल्नुपरेको पनि सम्बोधनमा बताएका थिए । त्यसैले, जनमतसंग्रहमा युरोपेली मुलुकको प्रस्तावको विरोधमा व्यापक मत आउने अनुमान गरिएको छ ।

शनिबार युरोजोनका वित्तमन्त्रीहरूको भेलाभन्दा पहिले एलेक्सिसले यो घोषणा गरेका हुन् । उनको यो घोषणापछि भएको वित्तमन्त्रीहरुसँगको ग्रिस सरकारको बैठक अपेक्षित सफल हुन सकेन ।

यसभन्दा पहिले ब्रसेल्समा भएका वार्तामा ऋणदाताले ग्रिसको राहत प्याकेज कार्यक्रम पाँच महिनाका लागि बढाउने प्रस्ताव गरेका थिए । यो प्रस्तावअनुसार ग्रिसलाई तत्कालै १५.५ अर्ब युरो दिने सम्झौता भएको थियो । १.८ अर्ब युरो तुरुन्तै दिने प्रस्ताव गरिएको थियो । यसको एउटा सर्त थियो– ग्रिसले आर्थिक सुधार लागू गरे मात्र यो ऋण दिइनेछ ।

३० जुनसम्म अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफको) ऋण चुकाउन ग्रिसले १.५ अर्ब युरो दिनुपर्नेछ । यसका लागि अन्तर्राष्ट्रिय ऋणदाताले ग्रिसमा पेन्सनमा कटौती हुनुपर्ने, कर दर बढाउनुपर्ने प्रस्ताव राखेका छन् । शनिबारको बैठकमा यही विषयमा छलफल भयो । तर, ग्रिस यी प्रस्ताव मान्न तयार छैन ।

उता, जर्मनकी चान्सलर एन्जेला मर्केलले यी प्रस्तावलाई ‘असाधारण रूपमा उदार’ बताउँदै ग्रिसलाई यी प्रस्ताव स्वीकार गर्न अनुरोध गरेकी छिन् । तर, ग्रिस सरकारले यो प्रस्तावलाई यसअघि नै अस्वीकार गरिसकेको थियो ।

ग्रिसले ३० जुनसम्ममा आइएमएफलाई ऋण चुक्ता गर्न नसके ऊ युरोजोनबाट बाहिर हुनुपर्नेछ । यस्तो भएमा युरोप र बाँकी विश्वको अर्थ व्यवस्थामा पनि असर देखिनेछ ।

ग्रिसले ६ वर्षयता आर्थिक मन्दीको समस्या बेहोरिरहेको छ । यही वर्षको सुरुवाती जनवरीमा भएको निर्वाचनमा जितेलगत्तै एलेक्सिसको दल सिरिजा पार्टीले खर्चमा व्यापक कटौती गर्ने वाचा गरेको थियो । सिरिजा पार्टीले राहत प्याकेजका लागि कठोर सर्त राखेकाले ग्रिस थप गरिब भएको र बेरोजगारी बढेको निष्कर्ष निकालेको थियो ।

स्रोत  : नया पत्रिका

Related posts