ताजा खबर

साउदी मन्त्रीले भने- नेपाली ठग्नेलाई कडा दण्ड 

काठमाडौं , २०७२ असार १३,

साउदी अरेबियाका श्रममन्त्रीले नेपाली कामदारबाट बढी रकम असुल्ने रोजगारदाता र एजेन्टमाथि कारबाही गर्ने निर्णय भएको जानकारी नेपाल सरकारलाई दिएका छन्। उनका अनुसार कामदार पठाउने मुलुकबाट शुल्क असुलेमा त्यस्ता एजेन्ट दण्डको भागीदार हुने र त्यस्तो दण्ड आर्थिक र कैद दुवै हुनेछ।

साउदी सरकारले कामदारका उजुरी सुन्न विभिन्न स्थानमा कल सेन्टर स्थापना गरेको र त्यसमार्फत आउने उजुरीको सुनुवाइ गरिने जानकारी पनि दिएको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका राजदूत दीपक धितालमार्फत मन्त्री मोफरिज अल हकवानीले यस्तो जानकारी पठाएका हुन्। राजदूत धितालले यसबारे एउटा विस्तृत रिपोर्ट नै परराष्ट्र मन्त्रालयमा पठाएका छन्।

साउदी अरेबियाका श्रममन्त्रीले नेपाली कम्पनीहरूले गरिब कामदारबाट धेरै रकम शुल्क भन्दै लिने गरेकोप्रति पनि चासो राखेका थिए। उनले कामदार भर्तीमा लाग्ने त्यस्तो सबै रकम साउदी सरकारले नै तिर्ने जानकारी पनि नेपाल सरकारलाई गराएका छन्।

‘त्यो सन्देश मैले पनि पाएको छु’, श्रम तथा रोजगार व्यवस्थामन्त्री टेकबहादुर गुरुङले अन्नपूर्णसँग भने, ‘असार २१ गतेबाट सबै खाडी मुलुक र मलेसिया जाने कामदारबाट कुनै शुल्क लिन नपाइने नीति लागू गरेपछि पनि रकम लिएको थाहा भए तत्काल नियन्त्रणमा लिइनेछ।’

उनले साउदीका एजेन्टबारे जानकारी दिने त छँदैछ, नेपाली कम्पनीले रकम असुले आइन्दा ती कम्पनीलाई कामदारको माग नदिन लिखित पत्रसमेत पठाइने नीति मन्त्रालयले बनाएको बताए।

नेपाली कम्पनीहरूले साउदी अरेबियाबाट कामदारको माग ल्याउन र त्यसअनुसार कामदार भर्ती गर्न त्यहाँका एजेन्ट र रोजगारदाता कम्पनीका अधिकारीहरूलाई रकम तिर्नुपर्ने भन्दै कामदारबाट रकम असुल्दै आएका छन्।

नेपालका व्यवसायीले कामदारको माग पठाएबापत साउदीका एजेन्टलाई प्रतिकामदार अधिकतम २० हजारसम्म तिर्ने गरेको वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष टंकबहादुर राउतले बताए।

राजदूत धितालकै हस्ताक्षरमा यही जुन १५ मा परराष्ट्र मन्त्रालय आइपुगेको रिपोर्टका अनुसार जेनेभामा भएको एक सय चारौं अन्तर्राष्ट्रिय कन्फरेन्स (जुन १-१३) का समयमा साउदी सरकारका तर्फबाट सहभागी भएका मन्त्री हकवानीले ‘नेपालले महसुस गरेको वास्तविक र साउदी सरकारले ध्यान दिनैपर्ने कुनै समस्या भए त्यसलाई तत्काल समाधान गर्न आफ्नो सरकार तयार रहेको’ बताएका थिए।

उनले दुईपक्षीय श्रम सम्झौता तयार भए पनि हस्ताक्षर नभएकाले नेपालतर्फबाट कुनै प्रावधान परिवर्तन गर्नुपर्ने अडान छ भने त्यसबारे तत्काल छलफलका लागि तयार भएको सन्देश पनि पठाएका छन्।

हाल साउदी अरेबियामा ६ लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। यो वर्ष जेठसम्ममा ९२ हजार चार सय कामदार त्यहाँ गएको सरकारी रेकर्डमा उल्लेख छ। अहिले साउदी अरेबिया जान ७० हजार रुपैयाँ तोकिए पनि व्यवसायीले मनपरि शुल्क (डेढ लाखसम्म) लिँदै आएका छन्।

अर्को रोजगारदाता मुलुक दक्षिणकोरियाका रोजगार तथा श्रममन्त्री ली की क्वेनले कोरियामा भएका अवैध नेपाली कामदार फर्काउन सके नेपालका लागि कामदारको थप कोटा दिनसक्ने जानकारी पठाएका छन्। उनले नेपाली कामदार अवैध ट्रेड युनियनमा आबद्ध हुन छाड्नुपर्ने बताएका थिए।

मलेसियाका श्रमउपमन्त्री दातो श्री हाजी इस्मेल विन हज अब्दुल मुत्तालिवले महिला कामदारबारे उल्लेख भएको श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्न आग्रह गरेको राजदूत धितालको रिपोर्टमा उल्लेख छ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts