भारतविरुद्धको टेस्टपछि सांगाकाराले सन्न्यास लिने

 २०७२ , असार १३,

श्रीलंकाली क्रिकेटर कुमार सांगाकाराले भारतविरुद्धको दोस्रो टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । हाल पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा सहभागी भइरहेका सांगाकाराले शनिबार पत्रकार सम्मेलन गरी आफ्नो सन्न्यासबारे स्पष्ट पारेका हुन् । उनले पाकिस्तानविरुद्धको सिरिजअन्तर्गत तेस्रो टेस्टमा समेत सहभागी नहुने जनाएका छन् । पत्रकार सम्मेलनमा सांगाकाराले सन् २०१५ को विश्वकपपछि सबै फम्र्याटको क्रिकेटबाट सन्न्यास लिने योजना बनाए पनि राष्ट्रिय टोली छनोट समितिको आग्रहमा केही टेस्ट खेलेर बिदा लिने निर्णय लिएको बताए । ‘मैले श्रीलंकाका लागि खेलेँ, त्यो मेरा लागि ठूलो सम्मानका रूपमा रह्यो,’ ३७ वर्षीय बायाँहाते ब्याट्सम्यानले भने । उनले श्रीलंकन टोलीबाट खेल्दा सधैँ फरक अनुभव गरेको बताए । उनले आफ्नो १५ वर्षे खेल जीवनमा धेरै उतारचढाव आए पनि खुसीको क्षणले त्यसलाई भुलाइदिएको बताए ।

‘अरभिन्द डी सिल्भाजस्ता खेलाडीले खेलेको हेरेर हुर्किएँ, पछि उनीहरूसँगै खेल्ने अवसर पाएँ, श्रीलंकन टोलीबाट खेल्दा सधैँ फरक अनुभव रह्यो,’ उनले भने, ‘जीवनमा धेरै उतारचढाव आए, तर राम्रा क्षणले ती सबै दु:ख भुलाइदिए ।’ उनले राष्ट्रिय टोलीबाट बिदा लिन मुस्किल भए पनि यो सही समय भएको बताए । सांगाकाराले सन् २००० मा गालेमा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका थिए । त्यसयता उनी आफ्नो नाममा धेरै रेकर्ड कायम गर्न सफल भएका छन् । हालसम्म टेस्टमा ५८.४३ को औसतमा १२२७१ रन जोडेका सांगाकारा श्रीलंकन टोलीबाट हालसम्म सर्वाधिक रन जोड्ने पहिलो खेलाडी हुन् । समग्रमा भने उनीभन्दा भारतका सचिन तेन्दुलकर, अस्ट्ेरलियन रिकी पोन्टिङ र दक्षिण अफ्रिकाका ज्याक कालिस तथा भारतकै राहुल द्रविड अगाडि छन् । उनले टेस्टमा हालसम्म ३८ शतक प्रहार गरेका छन् । उनी यस वर्ष अन्तर्राष्ट्रिय क्रिकेटर अफ दी इयर घोषित भएका थिए ।

यसै महिनाको सुरुवातसम्म उनी आइसिसी टेस्ट ब्याट्सम्यानको शीर्ष स्थानमा थिए । उनलाई हालै अस्ट्ेरलियन ब्याट्सम्यान स्टेभन स्मिथले पछि पारेका हुन् । सांगाकाराले आफूले व्यक्तिगत रेकर्डलाई महत्त्वपूर्ण नमानेको बताए । उनले व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको प्रगति महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए । ‘यदि व्यक्तिगत रेकर्ड हेरेको भए मसँग अझै समय थियो,’ सांगाकाराले भने, ‘तर, मैले सहकर्मीको आँखामा हेर्न सक्नुपर्छ, त्यसैले व्यक्तिगत प्रदर्शनभन्दा पनि देश र राष्ट्रिय टोलीलाई हेर्नुपर्छ ।’ उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिए पनि घरेलु प्रतियोगितामा भने सहभागी भइरहने बताए । श्रीलंकन टोलीका पूर्वकप्तान सांगाकाराले सन् २०१४ मा श्रीलंकालाई विश्वकप उपाधि दिलाएपछि टी–२० क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । हालै अस्ट्ेरलिया र न्युजिल्यान्डमा सम्पन्न विश्वकपमा समेत उनले लगातार चार शतक प्रहार गरेका थिए । सो प्रदर्शनपछि उनले एकदिवसीय क्रिकेटबाट समेत सन्न्यास लिएका छन् । उनले त्यहीवेला टेस्टबाट समेत सन्न्यास लिने योजना बनाए पनि क्रिकेट बोर्डले राष्ट्रिय टोलीको स्तर खस्कने भन्दै टेस्टबाट सन्न्यास नलिन आग्रह गरेको थियो ।

स्रोत  : नया पत्रिका

Related posts