ताजा खबर

फेडेरर विम्बल्डनका लागि तयार

लन्डन, २०७२ असार१३,

स्विस टेनिस स्टार रोजर फेडेरर आफू विम्बल्डन टेनिसको आठौँ उपाधि जित्दै नयाँ इतिहास कायम गर्न तयार रहेको बताएका छन् । उनले त्यसका लागि सही फर्ममा रहेकोसमेत दाबी गरे ।

फेडेररले यसपटक गत वर्षको फाइनलमा बेहोरेको पराजयको बदला लिँदै सर्वाधिक आठपटक उपाधि चुम्ने दाबी गरे । फेडेररले गत वर्षको फाइनल नोभाक जोकोभिकविरुद्ध प्रतिस्पर्धात्मक ५ सेटमा गुमाएका थिए । फेडेरर विम्बल्डनमा सर्वाधिक उपाधि जित्ने खेलाडी हुन् । उनले त्यसका लागि पिट सम्प्रास तथा विलियम रेनेसलाई पछि पारेका छन् । ‘यदि गत वर्ष फाइनलमा बेहोरेको दुखद फाइनललाई हेर्दा यसपटक निकै सहज अवस्थामा छु, यसपटक त्यो पराजयको बदला लिँदै उपाधि जित्नेछु,’ उनले भने ।

उनले यसपटक सहज रूपमा फाइनल यात्रा तय गर्ने बताए । ‘सही कुरा गर्नुपर्दा यसपटक फाइनलसम्म सहज पुग्नेछु, केही समय चोटले सतायो, तर सोचेभन्दा छिटो फिट भएको छु,’ उनले भने, ‘गत वर्ष फर्ममा नरहेको अवस्थामा समेत फाइनल पुगेको थिएँ, यसपटक अझ राम्रो फर्ममा छु ।’

उनले यसपटक आफ्नो खेलमा सुधार आएको बताए । ‘यसपटक मेरो खेलमा धेरै सुधार आएको छ, त्यसैले पनि उपाधिका लागि हौसिएको छु,’ उनले भने । फेडेररले बोज्नियाका डामिर जुम्हुरविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् । कुनै वेला अन्तर्राष्ट्रिय टेनिसमा एकछत्र राज गरेका फेडेररले पछिल्लो समय आफ्नो फर्म गुमाएका छन् । उनले पछिल्लो १८औँ प्रयासमा एक मात्र ग्रान्डस्लाम उपाधि जितेका छन् । उनले पछिल्लोपटक २०१२ मा विम्बल्डन जितेका थिए ।

स्रोत : नयापत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *