ताजा खबर

प्राविधिक एसएलसीको उच्चशिक्षा अन्योलमा, नतिजा आज

काठमाडौं , २०७२ असार १३,

प्राविधिक धारतर्फबाट प्रवेशिका (एसएलसी) उत्तीर्ण विद्यार्थीले अब कहाँ पढ्ने भन्ने अन्योल अझै हटेको छैन। पहिलोपटक प्राविधिक धारतर्फबाट एसएलसी परीक्षा दिएका विद्यार्थीको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुग्दासम्म पनि शिक्षा मन्त्रालयले उनीहरूले उच्चशिक्षा कहाँ र कसरी पढ्ने भन्ने विषयमा निर्णय गरेको छैन।

प्राविधिक धारतर्फ ९९ वटा विद्यालयबाट तीन हजार ५० भन्दा बढी विद्यार्थी एसएलसी परीक्षा २०७१ मा सहभागी भएका छन्। सामान्य धारका विद्यार्थीको एसएलसी नतिजा सार्वजनिक भइसके पनि प्राविधिक धारतर्फका परीक्षार्थीको नतिजा सार्वजनिक हुन बाँकी छ।

शिक्षालाई सीपमूलक र व्यावसायिक बनाउन विद्यालय तहमा पनि प्राविधिक विषयको पढाइ गर्ने सरकारी योजनाअनुसार पाइलट प्रोजेक्टका रूपमा पहिलो वर्ष ९९ विद्यालयबाट यो कार्यक्रम सुरु गरिएको हो।

सबै सामुदायिक विद्यालयमा बिस्तारै सामान्य धार र प्राविधिक धारका विषयको पढाइ गर्ने कार्यक्रम भएकाले प्राविधिकका विद्यार्थीलाई एसएलसी दिएको विद्यालयमा नै उच्च तहको शिक्षाको पनि व्यवस्था गरिनुपर्ने हो।

तर शिक्षा मन्त्रालय र विभागको कमजोरीका कारण ९९ मध्ये कुनै पनि विद्यालयमा एसएलसीपछि पनि प्राविधिक धारको पढाइ हुने व्यवस्था अहिलेसम्म गरिएको छैन।

संसद्को महिला, बालबालिका, समाज क ल्याण समितिअन्तर्गतको शिक्षा उपसमितिले यसअघि नै यस्ता विद्यार्थीको उच्चशिक्षाका विषयमा निर्णय गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो।

उक्त निर्देशनअनुसार मन्त्रालयले प्राविधिक एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्राविधिक शिक्षालयमा पढाउने निर्णय गरेको थियो।

तर सामान्य विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई सीटीईभीटी अन्तर्गतका शिक्षालयमा पढाउँदा महँगो शुल्क तिर्नुपर्ने भन्दै अभिभावकले विरोध गरेका थिए।

अभिभावकको विरोधपछि मन्त्रालयले फेरि काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. टंकनाथ आचार्यको संयोजकत्वमा समिति बनाएर अध्ययन गरेको थियो। उक्त समितिले शुक्रबार शिक्षामन्त्री चित्रलेखा यादवलाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनमा तत्कालका लागि सीटीईभीटी अन्तर्गतका शिक्षालय वा उच्च माध्यमिक शिक्षा परिषद्लाई अधिकार दिएर विद्यार्थीको पढाइबारेमा निर्णय लिन सुझाव दिइएको छ।

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले मन्त्रालयको निर्देशन आएपछि मात्र के गर्ने भन्ने निर्णय गरिने बताए। ‘सामुदायिक विद्यालयबाट पास भएका सबैलाई सीटीईभीटीमा पढ्न जाऊँ भन्दा शुल्क तिर्न नसक्लान् भन्ने हामीलाइ पनि लागिरहेको छ। अर्को वर्षदेखि भने अन्य व्यवस्था गर्छौं’, नेपालले भने।

सीटीईभीटीका सदस्यसचिव डा. रामहरि लामिछानेले प्राविधिकबाट एसएलसी उत्तीर्ण विद्याार्थीलाई आफूहरूले पढाउन पाउनुपर्ने बताए। ‘प्राविधिक शिक्षाको पढाइ गर्ने संस्था सीटीईभीटी हुँदाहुँदै अर्को निकायले पनि यही विषयको पढाइ सञ्चालन गर्नु व्यावहारिक देखिँदैन’, उनले भने।

विद्यालय तहमा प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीको एक हजार पूर्णांकको पढाइ हुन्छ। त्यसमा ६ वटा विषय ऐच्छिक तथा नेपाली, अंग्रेजी, गणित र विज्ञान भने सामान्य धारका विषयको जस्तै अनिवार्य हुन्छ। प्राविधिक धारबाट एसएलसी उत्तीर्ण विद्यार्थी दस जोड दुईको सामान्य धारका विषयमा पनि भर्ना हुन सक्छन्।

उच्च माध्यामिक शिक्षा परिषद्ले भने ती विद्यार्थीलाई आफूअन्तर्गतका उच्च माविमा प्राविधिक विषय नै पढाउन सक्षम भएको बताएको छ। तर परिषद्सँग प्राविधिक विषय पढाउने पाठ्यक्रम अहिलेसम्म छैन।

प्राविधिक विषय पढाउने शिक्षक पनि छैनन्। परिषद्का सदस्यसचिव नारायण कोइरालाले भने, ‘हामीलाई जिम्मा दिइयो भने पाठ्यक्रम र शिक्षक तुरुन्त तयार गर्छौं।’

नतिजा आज

काठमाडौं : प्राविधिक धारका विद्यार्थीको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा आइतबार सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले नतिजा प्रकाशनका लागि यसअघि सम्पूर्ण तयारी पूरा भइसकेको भए पनि प्राविधिक समस्याका कारण रोकिएको बताए। ‘आइतबार प्रकाशन गर्ने तयारी गरेका छौं’, उनले भने।

परीक्षा नियन्त्रण कार्यालयले पहिलोपटक (२०७१) प्राविधिक धारका परीक्षार्थीको एसएलसी परीक्षा सञ्चालन गरेको हो। नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक हुने छ।

अंकको आधारमा ‘ए’ देखि ‘ई’ ग्रेडसम्म दिइने छ। ९० नम्बरभन्दा माथि ल्याउने परीक्षार्थीलाई ए प्लस, ८० देखि ८९ सम्म अंक ल्याउनेलाई ए, ६० देखि ७९ नम्बरसम्म ल्याउनेलाई बी, ४० देखि ५९ नम्बरसम्म ल्याउनेलाई सी, २५ देखि ३९ नम्बरसम्म ल्याउनेलाई डी र २५ भन्दा तल नम्बर ल्याउनेलाई ई संकेत दिने निर्णय कार्यालयले यसअघि नै गरिसकेको छ।

प्राविधिक तहका परीक्षार्थीलाइ पनि मौका परीक्षाको अवसर दिइने छ। परीक्षा नियन्त्रक द्वारेले सी, डी र ई संकेत पाउनेलाई मौका परीक्षाको अवसर दिन लागिएको बताए। सामान्य धारका परीक्षार्थीको नतिजा असार ४ गते सार्वजनिक भइसकेको छ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *