ताजा खबर

उद्योगीको नेतृत्वमा तीनको उम्मेदवारी 

२०७२ असार १३,

यसो भन्छन् अध्यक्षका उम्मेदवार पशुपति मुरारका भाष्करराज राजकर्णिकारलाई अध्यक्ष बनाउने र म वरिष्ठ उपाध्यक्षमै रहने वा भवानी राणालाई वरिष्ठ उपाध्यक्ष दिएर म अध्यक्ष भएमा सर्वसम्मत हुनसक्छ । तर, उपयुक्त विकल्पसहितको प्रस्ताव आए सोच्न सकिन्छ । भवानी राणा पशुपति मुरारका वा भाष्करराज राजकर्णिकारमध्ये एकजनाले उम्मेदवारी फिर्ता लिएर मलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्छ । यसो गरे सर्वसम्मत सम्भव हुन्छ । मैले सहमतिको ढोका खुलै राखेकी छु ।

भाष्करराज राजकर्णिकार भवानी राणालाई अर्को कार्यकालमा अध्यक्ष दिने सहमति गर्दै पशुपति मुरारकालाई वरिष्ठ उपाध्यक्षमै राखेर म अध्यक्ष हुने गरी सहमति हुनसक्छ । तर, अन्य विकल्पको पनि खोजी हुँदै छ । कृष्ण रिजाल/नयाँ पत्रिका काठमाडौं, १३ असार नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा तीनजनाले उम्मेदवारी दिएका छन् । वर्तमान कार्यबाहक अध्यक्ष पशुपति मुरारका, वर्तमान कार्यकारिणी सदस्य भवानी राणा र पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले शनिबार उम्मेदवारी दर्ता गराएका हुन् । मुरारकाले लाहान उद्योग वाणिज्य संघ, राजकर्णिकारले नेपाल विज्ञापन संघ र राणाले गुलरिया उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका हुन् । महासंघ अध्यक्ष छनोट गर्न १८ असारमा विशेष साधारणसभा हुँदै छ । उम्मेदवारको नामावली १५ असारमा सार्वजनिक गरिने महासंघका प्रमुख निर्वाचन अधिकृत गोविन्द पाण्डेले बताए ।

‘असार १६ गते दाबी–विरोध दर्ता गराउन पाइनेछ,’ पाण्डेले भने, ‘दाबी–विरोधउपर कारबाहीपछि १७ गते अन्तिम नामावली सार्वजनिक गर्नेछौँ ।’ तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचार मुद्दामा पक्राउ परेपछि महासंघको अध्यक्ष पद रिक्त छ । महासंघ विधानमा अध्यक्ष पद रिक्त भएको अवस्थामा कार्यबाहक अध्यक्षले विशेष साधारणसभा बोलाएर अध्यक्षको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार १८ असारमा विशेष साधारणसभा डाकिएको कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले बताए । यसअघि नौ पूर्वअध्यक्षले सर्वसम्मत रूपमा महासंघको नयाँ नेतृत्व चयनमा पहल गर्ने घोषणा गरेका थिए । तर, तीनजनाको उम्मेदवारी परेपछि अध्यक्षमा सर्वसम्मतको सम्भावना न्यून रहेको पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले बताए ।

‘तीनजनाको उम्मेदवारीले केही निराशा पैदा गरेको छ,’ श्रेष्ठले भने, ‘तर, अझै समय छ । उम्मेदवारले महासंघको हितलाई ध्यान दिँदै सर्वसम्मत अध्यक्ष चयनका लागि मार्गप्रसस्त गर्नुपर्छ ।’ पूर्वअध्यक्षहरूले सर्वसम्मत नेतृत्वका लागि अन्तिम समयसम्म पनि प्रयास गर्ने उनको भनाइ छ । मुरारका अर्गनाइजेसनका प्रबन्ध–निर्देशक मुरारका हाल महासंघको कार्यबाहक अध्यक्ष छन् । उनको पेन्ट्स, सिमेन्ट, जलविद्युत्, शिक्षा, स्वास्थ्य, व्यापारलगायत क्षेत्रमा लगानी छ । मुरारका यसअघि महासंघमा कार्यकारिणी सदस्य, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भएका छन् । नेपालगञ्जस्थित स्नेहा होटेल प्रालिकी सञ्चालक राणा हाल महासंघको कृषि उद्यम केन्द्रकी सभापति हुन् । राणाको कृषि, पर्यटन र होटेल व्यवसायमा लगानी छ । उनी महासंघको कार्यकारिणी सदस्य पनि हुन् । यसैगरी, एभिन्युज टेलिभिजनका सञ्चालक राजकर्णिकार नेपाल विज्ञापन संघ (आन)का पूर्वअध्यक्षसमेत हुन् । उनी थापाथलीस्थित रामभण्डार मिठाईका सञ्चालकसमेत हुन् । यसअघिको निर्वाचनमा उनी अध्यक्षमा पराजित भएका थिए ।

स्रोत  : नयापत्रिका

Related posts