२०७२ असार १२,
नेपाली धाविका मिरा राईले फ्रान्समा सम्पन्न मोन्ट ब्लान्स म्याराथन नामक ८० किलोमिटर अल्ट्रा दौडको उपाधि जितेकी छिन्। भोजपुरको सानो दुम्जाकी २४ बर्षे मिराले १२ घन्टा ३१ मिनेट १२ सेकेन्डमा दौड पुरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन्। नेपालको झन्डा फहराउँदै मिराले दौड पुरा गरेकी थिइन्। भोजपुरको सानो दुम्मा गाविसमा जन्मिएकी उनी पढ्दापढ्दै माओवादी छापामार बनेकी थिइन् । माओवादी बाल छापामार बनेपछि नै उनको जीवनले कोल्टो फेरेको थियो ।
मिराले अल्ट्रा दौड जितेको यो पहिलो पटक भने होइन। हङकङको ५० किलोमिटर एसियन स्काई रनिङ अल्ट्रा च्याम्पियनसिप र इटालीको अन्तर्राष्ट्रिय अल्ट्रा रनको उपाधि उनले जितेकी थिइन्। फ्रान्समा दोस्रो स्थानमा आएकी स्पेनकी अन्ना कोमेट पासकुवा ले १२ घन्टा ५४ मिनेटमा दौड पुरा गरेकी थिइन्। त्यसमा अमेरिकी हिलारी एलियन (१३ घन्टा ११ मिनेट ४० सेकेन्ड) तेस्रो भएकी थिइन्। उनले यसअघि इटालीमा भएको इन्टरनेशनल अल्ट्रा रनिङको पनि उपाधि जितेकी थिइन् ।
उनले नेपालमै पनि हिमालयन आउटडोर फेस्टिबलमा ५० किलोमिटरको ट्रेल रेस र एक सय ५७ किलोमिटरको मुस्ताङ ट्रेल रेस पनि जितिसकेकी छन् । गतवर्ष नेपालमा भएको ५० किलोमिटरको हिमालयन आउटडोर फेस्टिबलमा प्रथम भएकी उनको यात्रा त्यसपछि रोकिएको छैन । त्यसको केही महिनापछि उनले मुस्ताङ ट्रेल रेस जितिन् । त्यसपछि इटलीको ५७ किलोमिटरको सेलारेन्दा ट्रेल रेस र ८३ किलोमिटर लामो ट्रेल डेग्ली इरोयमा उनी नै च्याम्पियन बनिन् । उनी हङकङमा सम्पन्न ५० किलोमिटरको एमएसआइजीमा प्रथम भइन् । त्यसपछि किङ अफ हिल म्याराथन हङकङमा दोस्रो, एचके एमएलआइजी भर्टिकलमा प्रथम र एमएसआइजी लान्टाउ ५० एचके ५० सेरिजमा दोस्रो हुन सफल भएकी थिइन् ।