ताजा खबर

नक्कली श्रम स्वीकृति दिने ३३ जनाविरुद्ध मुद्दा 

नक्कली कागजात बनाई श्रम स्वीकृति प्रदान गरेको आरोपमा वैदेशिक रोजगार विभागमा कार्यरत तत्कालीन उपसचिव रामजीप्रसाद बराल, शाखा अधिकृतहरू सिद्धराज चटौत, गम्भीरसिंह विष्ट, पृथुराज तिवारी, तीर्थराज पौडेल, लक्ष्मणप्रसाद श्रेष्ठ, दामोदर दाहाल, जयराम नेपाल, नायब सुब्बाहरू कविराज उपाध्याय, पदमबहादुर शाही र भाषा अनुवादक सर्दर आलमविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

सागर पण्डित,

काठमाडौं, २०७२ असार १२,

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली कागजातका आधारमा श्रम स्वीकृति प्रदान गर्ने वैदेशिक रोजगार विभागका १२ कर्मचारीसहित ३३ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा हुने ठगी र भ्रष्टाचारका कारण नेपाली कामदारले कष्टकर जीवन बेहोर्नुपरेको भन्दै अख्तियारले कर्मचारी र विभिन्न म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको हो ।

नक्कली कागजात बनाई श्रम स्वीकृति प्रदान गरेको आरोपमा वैदेशिक रोजगार विभागमा कार्यरत तत्कालीन उपसचिव रामजीप्रसाद बराल, शाखा अधिकृतहरू सिद्धराज चटौत, गम्भीर सिंह विष्ट, पृथुराज तिवारी, तिर्थराज पौडेल, लक्ष्मणप्रसाद श्रेष्ठ, दामोदर दाहाल, जयराम नेपालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले नायब सुब्बाहरू कविराज उपाध्याय, पदमबहादुर शाही र भाषा अनुवादक सर्दर आलमविरुद्ध पनि मुद्दा दायर गरेको छ । मुद्दा दायर भएलगत्तै सबै कर्मचारी कानुनत: निलम्बनमा परेका छन् ।

अख्तियारले घुस दिने–लिने कर्मचारी र म्यानपावर कम्पनी सञ्चालकविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । अख्तियारले उनीहरू सबैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(३) बमोजिम हदैसम्मको जरिवाना र सजाय माग दाबी गरेको छ । उसले मुद्दा दायर गरिएका विरुद्ध ३३ लाख ७३ हजार पाँच सय बिगो माग गरेको छ ।

अख्तियारले अनुसन्धानको सिलसिलामा विभिन्न ४७ वटा म्यानपावर कम्पनीले कामदारलाई रोजगारमा पठाउन वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिँदा नक्कली कागज तयार गरेको भेटिएको जनाएको छ । म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीबाट प्राप्त कागजातमा विवरण तलब, वर्किङ आवर, कामदार संख्या, कामको प्रकृतिजस्ता महत्त्वपूर्ण विवरण सच्याइ आफूअनुकूल विवरण राख्ने गरेको पाइएको अख्तियारको भनाइ छ ।

त्यस्ता म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४७ अनुसार कारबाही गर्नसमेत वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

अख्तियारका अनुसार वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने कामदारसमेत मलेसिया, कतार, साउदी अरब, दुबईलगायतका मुलुकमा कष्टकर जीवन बिताइरहेका छन् । उनीहरूले सर्त सम्झौताअनुसारको तलब सुविधा र काम नपाएर बिचल्ली भएको भन्दै अख्तियारले छानबिन थालेको छ ।

स्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *