क्रिकेट जगाउन पूर्वखेलाडीको पहल

विराटनगर, २०७२ असार १२,

एकताका क्रिकेट खेलाडी उत्पादनका लागि उर्वर भूमि मानिंदै आएको विराटनगरमा पछिल्लो समय यो खेल हराउँदै गएपछि त्यसलाई पुनर्जीवित गर्न यहाँका दुई पूर्वराष्ट्रिय खेलाडी युनिल श्रेष्ठ र अजय राजवंशीले शुक्रबार टी–२० प्रतियोगिता आयोजना गरेका छन् । नगरमा दुई वर्षयता क्रिकेटका कुनै पनि प्रतियोगिताको आयोजना गरिएको थिएन ।

प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा इनरुवा क्रिकेट क्लब गोल्छा स्पोटर्स क्लब विराटनगरलाई ८ विकेटले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिले ब्याटिङ गरेको गोल्छाले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २१ रनको चुनौती प्रस्तुत गर्दा इनरुवाले १५ ओभर १ बलमा २ विकेट गुमाएर विजयी रन जोड्यो । उसका लागि सोनु मण्डलले ३२ रन, भोला पण्डित र अजय राजवंशीले समान २८–२८ रन योगदान गरेका थिए ।

यसअघि गोल्छा स्पोटर्सका अजय सहनीले २८ र सिद्धार्थ कावराले २५ रन योगदान गरेका थिए । गोल्छालाई सस्तोमा समेट्न इनरुवाका दुर्गा खड्का र रणवीर साहले समान तीन–तीन विकेट झारेका थिए । यो खेलमा इनरुवाका दुर्गा खड्का म्यान अफ द म्याच भए ।

त्यसैगरी दोस्रो खेलमा भारत विहारको सुरार क्लब न्यु मधुमारा क्रिकेट क्लबलाई ६ विकेटले पन्छाउँदै अन्तिम आठमा पुग्यो । पहिले ब्याटिङ गरेको मधुमाराले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर प्रस्तुत गरेको ९१ रनको चुनौतीलाई विहारले ८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको थियो । उसका लागि जितेन्द्र, आलोक विराजले समान २२/२२ रन र अमितले २० रन योगदान गरेका थिए ।

मधुमारालाई सस्तैमा रोक्न विहारका टिपु सुल्तानले ४ र एमानले ३ विकेट झारे ।

स्रोत : कान्तिपुर

Related posts