ताजा खबर

किन चुपचाप छन् मोदी ?

२०७२ असार १२,

तीन कारण

नैतिकताको विषय भएकाले मोदी यस विषयमा चुपचाप रहेका हुन सक्छन् । निर्वाचनअघि उनले नैतिकताका विषयमा अन्य दलसामु धेरै प्रश्न खडा गरेका थिए, अब तिनै प्रश्न आफूलाई सोधिएका छन् । ती प्रश्नको उत्तर के दिने ?

मोदी आफू त बोलेका छैनन्, तर आफूनिकट सबै नेतालाई बोलाएका छन् । भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायत सबै नेतालाई बोलाएर आफू चुप लाग्ने मोदीको अर्को डिप्लोमेसी पनि हुन सक्छ ।

बसुन्धरा राजेमाथि लागेको आरोप सप्रमाण उनको हस्ताक्षरसहित बाहिर आएको छ, सुषमा स्वराजले आफूमाथि लागेको आरोप स्विकारेकी छिन्, स्मृति इरानीले निर्वाचन आयोगमा दिएकै प्रमाणपत्र फरक–फरक छन् । यी सबै कुरा पुष्टि भइसकेकाले पनि होला, मोदीसँग चुपचाप लाग्नुको विकल्प छैन ।

भारतीय राजनीतिमा पछिल्लो समय नैतिकताका प्रश्न गम्भीर रूपमा उठ्न थालेका छन् । सरकार बनाएको एक वर्ष बित्दानबित्दै सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) अचानक विपक्षीको निशानामा घेरिएको छ । विवादको केन्द्रमा भाजपा र सरकारका महत्त्वपूर्ण तीन नेता तानिएका छन् । तर, प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । जुन आशाका साथ १३ महिनाअघि मोदी सरकार बनेको थियो, त्यसका लागि यो समय सबैभन्दा कठिन साबित भएको छ । तर, आश्चर्यजनक लाग्न सक्छ, प्रधानमन्त्री नरेन्द्र मोदी यस विषयमा चुपचाप छन् ।

अब के होला ?

मुद्दामा जोडिएकी विदेशमन्त्री सुषमा स्वराज मोदीनिकट हुन् । उनलाई भाजपाका अध्यक्ष अमित साहले मात्र होइन, गृहमन्त्री राजनाथ सिंहले पनि बचाउ गरिसकेका छन् । उनी आफैँले ललित मुद्दामा मानवीयताका आधारमा सहयोग गरेको स्विकारेकी छिन् । यस्तो समयमा उनीमाथि थप नैतिक दबाब पर्न सक्छ । कंग्रेसले उनीविरुद्ध प्रदर्शन गर्ने चेतावनीसमेत दिएको छ । यो मुद्दा चर्किंदै गयो र भाजपा तथा स्वराजले चित्तबुझ्दो जवाफ दिन नसके उनले राजीनामा दिनुको विकल्प नहुन सक्छ ।

राजस्थानकी मुख्यमन्त्री वसुन्धरा राजे भाजपा नेता तथा केन्द्र सरकारसँग भेटघाटका लागि शुक्रबार दिल्ली पुगिन् । तर, विरोधीले उनले ललितलाई सहयोग गरेको यथेष्ट प्रमाण जुटाइसकेका छन् । उनको हस्ताक्षरसहित दस्ताबेजहरू बाहिर आएका छन् । यसले गर्दा उनलाई बचाउन भाजपा असक्षम हुन पनि सक्छ । यही प्रकरणकै कारण भाजपालाई बिहार निर्वाचनमा असर पनि पर्न सक्छ । उनले पनि राजीनामा दिनुको विकल्प नरहन सक्छ ।

दिल्लीको आम आदमी पार्टीको सरकारका कानुनमन्त्री जितेन्द्र तोमरविरुद्ध नक्कली प्रमाणपत्र राखेको आरोप लागेको लामो समय भएको थियो । त्यसमाथि अदालतमा मुद्दा सुनुवाइ चलिरहेको थियो । गत महिना उनी प्रहरी गिरफ्तारीमा परे । यस्तै खाले मुद्दामा स्मृति इरानी पनि मुछिएकी छिन् । उनैले दिएका जानकारीमा उनका तीनथरी सर्टिफिकेट भएको खुलिसकेको छ । यस्तो अवस्थामा उनले पनि राजीनामा दिनुको विकल्प हुनेछैन । यही मुद्दाका कारण पनि भाजपा सरकारमाथि नैतिक प्रश्न जन्मिनेछ ।

यी सबै मुद्दामा भाजपाको चर्को आलोचना हुनु एउटा पाटो हो भने अर्कोतिर भाजपामै यी मुद्दाका विषयमा मतभेद सुरु भएका छन् । कीर्ति आजाद, शत्रुघ्न सिन्हा, आरके सिंहलगायतले पार्टी नेतृत्वको विरोधमै बोलिरहेका छन् । यसले भाजपालाई थप समस्यामा पारेको छ । पार्टी आवाजको विरोधमा बोल्ने नेतालाई भाजपाले निष्कासन गर्ने सम्भावना पनि उत्तिकै छ ।

एकातिर भाजपामाथि नैतिक दबाब बढिरहेको छ भने अर्कोतिर कंग्रेसले एक वर्षमा बनाएको विपक्षी एकता टुटेको छ । बिस्तारै भाजपाको समर्थनमा अन्य दल पनि देखिन थाले भने भाजपा थप बलियो बन्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

अबका चुनौती

तीन साता पहिलेसम्म मोदी सरकारले दाबी गरेको थियो– हामीमाथि कुनै दाग लागेको छैन । अब नैतिक विषयमै प्रश्न उठाइएको यी मुद्दाका कारण मोदी सरकारलाई ठूलो चुनौती थपिनेछ । आरोपको शृंखला बढिरहेको छ, यसले मोदी सरकारले गर्ने निर्णयमा पनि ठूलो प्रभाव पार्नेछ ।

भारतीय संसद्को मनसुन सत्र सुरु हुने समय भएको छ । विपक्षीको आलोचना चर्किरहेको समयमा मोदीका लागि यो सत्र सबैभन्दा ठूलो राजनीतिक चुनौती हुनेछ । चुनौती मात्र होइन, मोदी नेतृत्वको परीक्षा पनि यसले गर्नेछ ।

निर्वाचनमा मोदीको एकछत्र प्रचार गरेर बहुमत पाएको थियो, भाजपाले । त्यो साख जोगाइराख्न मोदीले ठूलो राजनीतिक चुनौती बेहर्नुपर्ने निश्चित छ ।

बिहारलगायतका राज्यमा विधानसभा निर्वाचन नजिकिँदै छ । केन्द्रमा कंग्रेसको विरोधलाई क्षेत्रीय दलहरूले साथ दिइरहेका छन् । आम आदमी पार्टीले नयाँदिल्लीमा मोदीको चर्को आलोचना गरेको छ, यसले अब हुने विधानसभा निर्वाचन भाजपालाई महँगो साबित हुनसक्नेछ ।

स्रोत : नया पत्रिका

Related posts