ताजा खबर

ऋचा अब निर्मात्री

२०७२, असार १२,

नायिका ऋचासिंह ठकुरी पनि फिल्म निर्माणमा लागेकी छिन् । गत वर्षको असारमा बिहे बन्धनमा बाँधिएपछि केही समय फिल्म अभिनयमा नदेखिएकी उनले पति गजेन्द्र थापाको निर्देशनमा सुपर गोर्खे नामक फिल्म निर्माण गरिरहेकी छिन् । नाइँ नभन्नु ल, म तिम्रो भइसकेँ, मनमनै मन पराएँ, मन पराएँ माया लाएँ, खुड्कीलोलगायतका फिल्मकी नायिका ऋचाले निर्माण गरेको फिल्मको नाम छ– सुपर गोर्खे । पछिल्लो पुस्ताका हिरोइनमध्ये चर्चित सफल मानिने ऋचाले आफ्ना पति गजेन्द्र थापाको निर्देशनमा फिल्म निर्माण गरेकी हुन् । अभिनयसँगै फिल्म निर्माणमा लाग्ने हिरोइनको संंख्या थुप्रै छ । यसअघि करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, ऋचा घिमिरे, ऋचा शर्मा, नम्रता श्रेष्ठ, पूजना प्रधान, शुभेच्छा थापालगायतले आफूलाई निर्मात्रीका रूपमा प्रस्तुत गरिसकेका छन् ।

ऋचाले अहिले आएर आफूलाई निर्मात्री बनाएकी छिन् । यो फिल्मले आफूलाई निर्मात्रीका रूपमा समेत स्थापित गराउने विश्वास ऋचाको छ । एक्सनलभ सुपर गोर्खेको सुटिङ धरान र विराटनगरका विभिन्न स्थानमा गरिएको र एउटा गीत खिच्न बाँकी रहेको सो फिल्मका निर्माण व्यवस्थापक शंकर पाण्डेले जानकारी दिएका छन् । फिल्ममा ऋचा स्वयं प्रमुख भूमिकामा छिन् । उनीसँगै नीराजन लुइँटेल, कामना भुजेल, सुरजसिंह ठकुरीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेको फिल्म सौरभ लामाले खिचेका हुन् ।

स्रोत : नया पत्रिका

Related posts