दिननाथ बराल
पोखरा, २०७२ असार १२,
थमन–महेश स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१ बाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्रप्रसाद भट्ट पुरस्कृत भएका छन । क्रान्तिकारी पत्रकार संघ, नेपाल कास्की शाखाद्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कारबाट भट्ट शनिबार पोखरामा पुरस्कृत भएका हुन । एक समारोहका विच एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्मान पत्रको साथमा दोसला ओढायर भट्टलाई सम्मान गरेका हुन। पुरस्कारको राशी २५ हजार एक रुपैयाँ रहेको छ ।
उक्त पुरस्कारको राशी २५ हजारको चेक भट्टले क्रान्तिकारी पत्रकार संघ, नेपाल कास्कीको पत्रकार अक्षयकोषको लागि सहयोग गरेका छन । २०५२ सालमा जनादेश साप्ताहिकबाट पत्रकारिता शुरु गरेका भट्टले राष्ट्रिय स्वाभिमान, जनमत दैनिक, गगन दैनिक, काठमाडौंबाट प्रकाशित हुने राजधानी दैनिक, नयाँ पत्रिका, कारोबार दैनिकमा समेत काम गरिसकेका छन् । उनी हाल पोखराबाट प्रकाशित हुने आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक र साझा पोष्ट दैनिकमा आबद्ध छन् । कोमलनाथ बराल संयोजकत्वको छनौट समितिको बैठकले भट्टलाई पुरस्कार दिन सिफारिस गरेको थियो ।
जनयुद्धका क्रममा जनपक्षिय पत्रकारिता गर्दा गर्दै आफ्नो जीवन उत्सर्ग गरेका थमन परियार र महेश पहारीको स्मृतिमा क्रान्तिकारी पत्रकार संघ कास्कीले आफ्नै पहलमा पुरस्कारको स्थापना गरेको हो । उक्त पुरस्कारबाट यसअघी बरिष्ठ पत्रकार कोमलनाथ बराल र महेश दहाल पुरस्कृत भइसकेका छन् ।
क्रान्तिकारी पत्रकार संघ कास्कीका संयोजक त्रिभूवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेस काउन्सीलका सदस्य माधव शर्मा, नेपाल उद्योग बणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा पयर्टन पुनर्रजागरण समितिका संयोजक गणेश बहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्रेस चौचारी कास्कीका कार्यवाहक अध्यक्ष रामजी लम्साल, प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, क्रन्तीकारी पत्रकार संगठन कास्कीका अध्यक्ष माधव पनेरु, छनौट समितिमा सदस्य विश्वप्रकाश लामिछाने, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य गोमा घिमिरे ‘रुची’ संघका सदस्य विभु भुषाल लगायतले बोलेका थिए ।