खाना छोड्दैमा भुँडी घट्दैन

काठमाडौ, २०७२ असार ११,

आफ्नो पित्तले भुँडीबाट हैरान भएका व्यक्तिहरू त्यो सुहाउँदिला आकारमा आओस् भनेर अनेक उपाय अपनाउने गर्छन् । धेरैजसोको एउटै फर्मुला हुन्छ– भात नखाने वा अरू खाना पनि निकै कम खाने ।

नयाँ अनुसन्धानको दाबीअनुसार, स्लिम देखिने चक्करमा खाना छोड्दा उल्टो प्रतिफल आउन सक्छ । भुँडी घट्ने होइन, झन् बढ्न सक्छ । यो अनुसन्धान जर्नल अफ न्युट्रिसन बायोकेमिस्ट्रीको अनलाइन संस्करणमा प्रकाशित छ । एक छाक नखाएर अर्को छाकमा त्यसको भर्पाई गर्न खोज्नुभन्दा दिनभर अलिअलि खाने गर्दा चाहिँ भुँडी घटाउन मदत मिल्छ ।

अध्ययन अनुसार, क्यालोरी घटाउन भोजन छोड्ने कामले शरीरलाई ग्लुकोज र इन्सुलिनको ठूलो उतारचढावका लागि तयार गर्छ र यसले तौल कम हुनुको सट्टा बोसो झन् एकत्रित हुन सक्छ ।

तीक्ष्ण मस्तिष्क र झूट

हालै गरिएको एउटा अनुसन्धानअनुसार स्मरणशक्ति बलियो भएका बालबालिका झूट बोल्नमा माहिर हुन्छन् । यो अनुसन्धान ‘जर्नल अफ एक्सपेरिमेन्टल चाइल्ड साइकोलजी’ मा प्रकाशित भएको हो । अनुसन्धानअन्तर्गत ब्रिटेनका चार स्कुलका ६ र ७ उमेर समूहका एक सय १४ बालबालिकामा यो अध्ययन गरिएको हो । अध्ययन क्रममा बालबालिकालाई सरल खेलमा नक्कल गर्ने मौका दिइयो र उनीहरूलाई यसबारे झूट बोल्न भनियो । बालबालिकाहरू झूटो बोल्न के–कस्ता कथा बनाउँछन् भन्ने कुरामा ध्यान दिइयो । अनुसन्धानमा के देखियो भने, जोजो झूटो बोल्न खप्पिस थिए उनीहरूले मौखिक स्मरणशक्तिसम्बन्धी परीक्षामा राम्रो प्रदर्शन गरे । मौखिक स्मरणशक्तिको अर्थ तपाई कति शब्द याद राख्न सक्नुहुन्छ । धेरै शब्द याद राख्न सक्ने बच्चाहरू झूटो बोल्दाखेरी शब्दको जादुगरीमा खप्पिस थिए ।

स्रोत : कान्तिपुर

Related posts