ताजा खबर

बन्दा औषधिको भण्डार     

२०७२, असार ११,

सस्तो र सबैतिर सहजै उपलब्ध हुने तरकारी बन्दालाई औषधिको भण्डार भने पनि हुन्छ । स्वास्थ्य विशेषज्ञहरूद्वारा गरिएका विभिन्न अनुसन्धानको निष्कर्षअनुसार, क्यान्सर रोगीले बन्दा खानाले र यसको रस सेवन गर्नाले सन्चो अनुभव गर्न सक्छन् । बन्दामा पाइने कोलोन नामको तत्त्वले क्यान्सर रोक्न सघाउँछ ।

बन्दा जति हरियो हुन्छ, त्यति नै पोषक तत्त्वले युक्त हुन्छ । हरियो बन्दामा भिटामिन ई धेरै मात्रामा हुन्छ । यसको भित्रको पहेलो खण्डले भिटामिन ए को पूर्ति गर्छ । सानो बन्दामा ठूलोमा भन्दा बढी क्याल्सियम हुन्छ ।

बन्दामा ९० प्रतिशत पानी हुन्छ । यसमा खनिज पदार्थ ०.६ प्रतिशत, प्रोटिन १.६, क्याल्सियम ००.३, बोसो ०.००१, कार्बोहाइड्रेट ६.२, फलाम ००.५ प्रतिशत पाइन्छ । बन्दामा भिटामिन ए र डी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन ‘सी’ समेत थुप्रै मात्रामा हुन्छ ।

बन्दाको माथिल्लो पातमा भिटामिन हुन्छ । त्यही भएर पात फ्याँक्नु हुँदैन । पातलाई राम्ररी धोएर संक्रमणमुक्त पारी काँचै खानाले रक्तविकार, अजीर्ण, दाँत र पेटसम्बन्धी रोग, जन्डिस, आँखाको रोग, कफ, पित्त आदि विकारहरू हट्छ ।

बन्दा कुष्ठरोगमा समेत लाभदायक मानिन्छ ।

आयुर्वेदका अनुसार, कब्जियत हटाउन ताजा बन्दाको पात संक्रमण मुक्त पारेर बिहान खाने गर्नुपर्छ । यस्तै, अनिद्राको समस्या भएकाहरूले सुत्नुअघि बन्दाको रस सेवन गर्नु फइदाजनक हुन्छ ।

बन्दाको नियमित सेवनले कपाल झर्न बन्द हुन्छ । मूत्र रोगमा समेत यो प्रभावकारी छ । पिसाब रोकिने समस्या भए बन्दाको रस नियमित रूपमा सेवन गर्नुस् ।

बन्दाको उपयोग सुन्दरता निखार्नसमेत गरिन्छ । छाला रुखो भए वा चाउरी परे बन्दाको रस अनुहारमा लगाउनु्पर्छ । यसो गर्नाले अनुहारको दाग कम हुन्छ, गोरोपना बढ्दै जान्छ । तैलीय छालामा पनि बन्दा उपयोगी हुन्छ ।

बन्दाले स्तनपान गराउने महिलाको स्तनमा संक्रमण हुन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ । स्तन पीडा बढ्दै गयो भने मास्टाइटिस नामक संक्रमण हुन्छ । स्तनपान गराउँदा दुख्ने, स्तन सुन्निने र रातो हुने समस्या भए त्यसबाट मुक्ति पाउन चिकित्सकहरू बन्दा सेवनको सल्लाह दिने गर्छन् । मास्टाइटिस स्तन कोषिकाको संक्रमण हो, जुन स्तनपान गराउने समयमा उत्पन्न हुन्छ । यो संक्रमण ती महिलामा समेत हुन सक्छ जो अहिलेसम्म आमा बनेका छैनन् वा जसमा रजोनिवृत्ति हुनेवाला छ । यसको उपचार नगराउँदा स्तनबाट पिप निक्लिनसमेत सक्छ । यस्तो भयो भने अपरेसन गर्नुको विकल्प हुन्न ।

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय चिकित्सा विज्ञान प्रतिष्ठान (एम्स) का अनुसार, स्तनसम्बन्धी उपचारमा महिलाको स्तनको प्रभावित स्थानमा बन्दाको पात राखिन्छ । यो प्रक्रियालाई हरेक दुईदुई घन्टाको अन्तरालमा दोहोर्‍याउनाले र एक दिनमा बढीभन्दा बढी समयसम्म गर्नाले छिटो फाइदा हुन्छ । एम्सले यो उपचार विधिबाट थुप्रै महिलालाई फाइदा पुगेको समेत जनाएको छ । बन्दाको उपचार युरोपेली मुलुकमा पहिलेदेखि नै प्रचलनमा छ ।

स्रोत : कान्तिपुर

Related posts