ताजा खबर

कुकुरले नटोकोस् भन्न  

२०७२, असार ११,

कुकुरको टोकाइका कारण धेरै पीडित हुन्छन् । यो जनसरोकारको गम्भीर विषय पनि हो । कुकुरको टोकाइबाट प्रभावित हुनेहरूमध्ये आधाभन्दा बढी बालबालिका छन् । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार वर्षेनी करिब ४७ लाख अमेरिकी कुकुरको टोकाइबाट प्रभावित हुने गरेका छन् । अमेरिकन सोसाइटी अफ रिकन्स्ट्रक्सन माइक्रो सर्जरीको अध्ययनमा यो तथ्य उल्लेख गरिएको छ ।

‘अति मित्रवत् व्यवहार गर्ने कुकुरसमेत टोक्न सक्छ जब ऊ झस्किन्छ वा चकित पर्छ,’ अमेरिकन सोसाइटी अफ रिकन्स्ट्रक्सन माइक्रो सर्जरीका अध्यक्ष डा.ग्रेगोरी इभान्स भन्छन्, ‘यसैले सावधान रहनुस् ।’

‘अधिकांश बालबालिका कुकुरलाई माया गर्छन् उनीहरू आफ्नो अनुहार कुकुरको मुख नजिक ल्याउँछन्,’ डा. इभान्स भन्छन्, ‘अभिभावकले यसो गर्न अनुमति दिनु हुँदैन, अनुहार र हातमा लागेको चोट, घाउले कुरुपता उत्पन्न गर्नुका साथै यस्तो स्थितिमा तुरन्त चिकित्सकीय सहयोग चाहिन्छ ।’

अध्ययनअनुसार बालबालिकामा देखिएको दुई तिहाइ कुकुरको टोकाइ टाउको घाँटीमा देखिने गरिएको छ । यस्तो स्थितिमा प्लास्टिक सर्जरीसमेत आवश्यक हुन्छ ।

कुकृुरको टोकाइबाट भएको शारीरिक क्षतिलाई निको पार्न गत वर्ष २८ हजार ५ सय पुनर्निर्माण शल्यक्रिया गरिएको सोसाइटीले उल्लेख गरेको छ । बालबालिका र युवालाई कुकुरलाई कसरी व्यवस्थापन गर्नेबारे शिक्षित पार्नुपर्छ भने कुकुरलाई समेत तालिम दिनुपर्छ ।

कुकुर टोकाइबाट बँच्न विज्ञहरूले पशु चिकित्सकसँग परामर्श गरेर आफ्नो लागि उपयुक्त जातको कुकुर मात्र पाल्न सुझाव दिएका छन् । कुकुरलाई समाजमा घुलमिल हुन अभ्यस्त पार्नुपर्छ र यसलाई तालिमसमेत दिनुपर्ने विज्ञहरूको राय छ । यसका साथै कुकुरलाई रेबिजसँगै अन्य रोगविरुद्घ नियमित खोपसमेत लगाउनुपर्छ । यति मात्र नभई कुकुरको बन्ध्याकरण गरेर पनि टोक्ने प्रकृतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

विज्ञहरूका अनुसार कुकुर नजिक ससाना नानी वा नवजात शिशुलाई एक्लै छोड्नु हुँदैन । बालबालिकाहरूलाई कुकुरले खाइरहेको, सुतिरहेको वा आफ्नो छाउरोलाई स्याहार गरिरहेको अवस्थामा नछुन, दु:ख नदिन सिकाउनुपर्छ । बालबालिकालाई कुकुरभन्दा अगाडि नभाग्न सिकाउनुपर्छ ।

यदि कुकुर रिसाएर आक्रामक देखिएको छ भने शान्त रहेर आँखा जुधाउँदै मायाभाव देखाउँदा पनि टोकाइबाट बँच्न सकिन्छ ।

स्रोत  : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *