पोखरा, २०७२ असार ११,
पाँचौ बिग आईकन कुन्साङ गुरुङको पहिलो एकल गीति एल्बम बजारमा आएको छ । जन्मभूमि नाम राखिएको सो एल्बममा तिब्बेतियन गीत लगायत आठ ओटा गीतहरु समेटिएका छन् ।
एल्बमको शुक्रबार एक कार्यक्रमका बीच पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (बान) का उपाध्यक्ष रमेश पौडेल, ¥याण्डम रिडर्स सोसाईटी अफ नेपालका अध्यक्ष गनेस पौडेल, बिग एफएमका अध्यक्ष महेश भण्डारी, किंग्स ईन्स्टिच्युटका प्रबन्ध निर्देशक सन्तोष शाही र गायक कुञ्साङले विमोचन गरे ।
एल्बममा जन्मथलोलाई सम्झिँदै रचिएको जन्मभुमि मुस्ताङ, डाँडापारी मुस्ताङ गाउँ छ बोलको गीत देखि यति धेरै माया, आँशुको शहर, यो नशा, पृथ्वीको आवाज र ए नानी बोलका गीत समावेश छन् । यति धेरै माया गीतको गत वैशाख ११ गते नै म्युजिक भिडियो समेत रिलिज भईसकेको छ । तिब्बेतियन गीतमा बाहेक सबै सात गीतको शब्द र कम्पोजिशन गायक कुन्साङकै हो ।
प्रमुख अतिथि ज्ञवालीले कुन्साङ जस्ता प्रतिभाहरु जन्माएको बिग आईकनको निरन्तरताको कामना गर्दै संगीत क्षेत्रमा लागिरहन शुभेच्छा पनि प्रकट गरे । ‘भुकम्पले मुलुक छियाछिया बनाएको छ । यसको असर सबै क्षेत्रमा पुगेको छ । तर छैटौं बिग आईकनको तयारी सुरु हुनु अत्यन्तै चुनौतिपूर्ण र खुशीको कुरा हो’– ज्ञवालीले भने– ‘यसको निरन्तरता रहनुपर्छ । एफएमलाई शुभेच्छा छ ।’
बानका उपाध्यक्ष पौडेलले सञ्चारमाध्यमको भिडमा बिग एफएमले छुट्टै पहिचान बनाएको भन्दै बिग आईकन जस्तो शो ले समग्र एफएमहरुको गरिमा उँचो पारेको बताए । उनले यसलाई निरन्तरता दिँदै अघि बढ्न पनि सुझाव दिए ।
एल्बमको समिक्षा गर्दै ¥याण्डम रिडर्स सोसाईटी अफ नेपालका अध्यक्ष गनेश पौडेलले विभिन्न दबाबका बाबजुत एल्बम राम्रो भएको बताए । ‘कम्पिटिशनबाट विजयी बनेकाहरुलाई आफ्नो कला, आयोजक संस्था, प्रशंसक र समर्थकहरुको चर्को दबाब हुन्छ । यसका बाबजुत उनले राम्रो गरेका छन्’ – पौडेलले भने । उनले कुन्साङ गायक भएर जन्मेको भन्दै उसले आफै शब्द लेख्ने र कम्पोज गर्दा गीतको न्याय नहुन सक्ने भएकाले यसतर्फ सचेत रहन पनि आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका बिग एफएमका अध्यक्ष महेश भण्डारीले आफ्ना सन्ततिको खुशीमा सबै बाबुआमालाई खुशी लाग्ने र त्यो क्षणको महसुस भईरहेको बताए । उनले छैटौं संस्करणको बिग आईकनमा जुटेको एफएमले मात्र नाम र लागि प्रतियोगिता आयोजना नगर्ने भन्दै अघिल्ला बिग आईकनहरुलाई सांगीतिक क्षेत्रमा चम्काउन सधैं सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
गायक कुन्साङले सबै प्रशंसका लागि मेहनत गरेर कोशेली ल्याएको भन्दै सुनेर माया गरिदिन आग्रह गरे । कार्यक्रमको सञ्चालन आयोजक बिग एफएमका कार्यक्रम संयोजक सन्जोक बस्यालले गरेका थिए ।